नेतन्याहुद्वारा आइजेनकोटसँग गठबन्धनको ढोका खुला, अरब दलहरूको समर्थनका लागि कडा सर्त
Benjamin Netanyahu Photographer: Samuel Corum/Sipa/Bloomberg
काठमाडौं । इजरायलको १२० सिटयुक्त संसद नेसेटमा कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत (६१ सिट) हासिल गर्न नसकेपछि नयाँ सरकार गठनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बनेको छ। बहुमतका लागि आवश्यक जादुई आँकडाभन्दा टाढा रहेका प्रधानमन्त्री बेन्जामिन नेतनयाहुले ‘यसार’ पार्टीका प्रमुख गादी आइजेनकोटसँग सम्भावित गठबन्धनको विकल्पलाई अझै खुला राखेका छन्।
सार्वजनिक रूपमा राष्ट्रिय एकता सरकारको अवधारणालाई अस्वीकार गरे तापनि, नेतनयाहुको पार्टी लिकुड सम्बद्ध स्रोतहरूका अनुसार उनले आइजेनकोटसँग मिलेर सरकार बनाउने सम्भावित सबै विकल्पहरूमाथि विचार गरिरहेका छन्। स्रोतहरूका अनुसार, यदि आफूले पहल नगरे आइजेनकोटले आफूलाई सत्ताबाट बाहिर राख्नका लागि अरब दलहरू र कट्टर-रूढिवादी पार्टीहरूसँग हात मिलाउन सक्ने डर नेतनयाहुमा रहेको छ।
इजरायली संसद नेसेटमा सरकार गठनका लागि ६१ सिटको स्पष्ट बहुमत चाहिन्छ। भर्खरै सम्पन्न निर्वाचनमा नेतनयाहुको गठबन्धन ५३ सिटमा सीमित भएको छ। उनको आफ्नै दल लिकुडले २७ सिट जितेको छ, जुन सन् २०२२ को ३२ सिटको तुलनामा ५ सिट कम हो।
गादी आइजेनकोटको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले ४८ सिट हासिल गरेको छ। निर्वाचनमा अरब नेतृत्वका दुई मुख्य दलहरूले उल्लेख्य सफलता हासिल गर्दै कुल १९ सिट जितेका छन्। यसमा जोइन्ट लिस्ट ले ११ सिट र रआम ले ८ सिट जितेका छन्। सन् २०२२ मा केवल १० सिटमा सीमित रहेका अरब दलहरूका लागि यो एक ऐतिहासिक सफलता हो।
यदि यहुदी-अरब गठबन्धनअन्तर्गत आइजेनकोटको गुट र दुवै अरब दलहरू एक ठाउँमा उभिएमा उनीहरूसँग ६७ सिटको स्पष्ट बहुमत पुग्छ। यद्यपि, प्रधानमन्त्री नेतनयाहुले अरब दलहरूसँग कुनै पनि प्रकारको सहकार्य गर्न स्पष्ट अस्वीकार गरिसकेका छन्।
अर्कातर्फ, आइजेनकोटले अरब दलहरूसँगको सहकार्यलाई पूर्ण रूपमा अस्वीकार नगरे पनि उनको पार्टीले केही कडा सर्तहरू अघि सारेको छ। शर्तअनुसार अरब दलहरूले हमासलाई स्पष्ट रूपमा आतंकवादी सङ्गठन स्वीकार गर्नुपर्नेछ र हमासको निःशस्त्रीकरणको पूर्ण समर्थन गर्नुपर्नेछ।
यदि यी सर्तहरू पूरा भएमा वा सहमति जुटेमा अरब सांसदहरूले आइजेनकोटको सरकारलाई बाहिरबाट समर्थन दिन सक्ने सम्भावना पनि छ। यस प्रक्रियाका लागि कम्तीमा छ जना अरब सांसदहरूले सरकारको पक्षमा मतदान गर्नु वा समर्थन जनाउनु आवश्यक हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment