शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोगभन्दा सञ्चार र समन्वयमा जोड दिन गृहमन्त्री गुरुङको निर्देशन

डिसी नेपाल
१९ कार्तिक २०८३ २०:२७

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन्।

संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित ‘शान्तिपूर्ण प्रदर्शन र मानवअधिकारको संरक्षण’सम्बन्धी तीनदिने कार्यशालाको समापन गर्दै गृहमन्त्री गुरुङले सुरक्षा निकायहरूलाई बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्तलाई कडाइका साथ पालना गर्न निर्देशन दिए।

शान्ति सुव्यवस्था कायम राख्ने क्रममा बल प्रयोग गर्नुभन्दा उचित संवाद, समन्वय र संस्थागत सुधारलाई प्राथमिकता दिनुपर्नेमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूलाई जोड दिए। शान्तिपूर्ण प्रदर्शन व्यवस्थापन गर्दा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्दै व्यावसायिक भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए।

कार्यालयका अनुसार यस कार्यशालाले सुरक्षा अधिकृतहरूलाई आफ्नो अधिकार, जिम्मेवारी र कार्यविधिको पुनरावलोकन तथा अद्यावधिक गर्ने अवसर प्रदान गरेको छ। बल प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, संवाद, परिचालन योजना र नेतृत्वको जवाफदेहिताबारे प्राप्त ज्ञानले नेपालमा अझ संयमित र व्यावसायिक प्रहरी अभ्यासको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *