घोडा चढेर हिमालको टुप्पोमा पुगे उत्तर कोरियाली नेता किम

डिसी नेपाल
२९ असोज २०७६ २१:१९

प्योङयाङ (एजेन्सी) । उत्तर कोरियाली नेता किम जङ–अनले घोडा चढेर देशको सबैभन्दा अग्लो हिमालमा पुगेको त्यहाँको समाचार संस्थाले बताएको छ।

राज्य नियन्त्रित केसीएनएले जारी गरेका तस्बिरहरूमा किमले पेक्टु हिमाल क्षेत्रमा सेतो घोडा चढेको देखिन्छ।

किमले दुई हजार ७५० मिटर अग्लो सो हिमाल चढेको यो पहिलो पटक होइन र विज्ञहरूका अनुसार यसअघि ठूलो घोषणा गर्नु अगाडि उनले सो हिमाल चढेका छन्।

उत्तर कोरियाको परिचयमा पेक्टु हिमालको विशेष स्थान छ र यसलाई किमको बुवाको जन्मस्थल मानिन्छ।

केसीएनएले बुधवार जारी गरेको समाचारमा भनिएको छ, ‘पेक्टुको शिखरमा घोडामा बसेर उनले सो हिमाल जत्तिकै बलियो विश्वास र इच्छाले सबैभन्दा शक्तिशाली देश निर्माण गर्ने महान् कार्यका लागि गरेको कठिन सङ्घर्षलाई गहिरो भावले मनन गरेका छन्।’

सन् २०१७ मा उनले नयाँ वर्षको उपलक्ष्यमा दक्षिण कोरियासँगको कूटनीतिक सम्बन्ध सुधार हुनसक्ने सङ्केत गर्नु केही हप्ताअगाडि पेक्टु भ्रमण गरेका थिए। किमले तीन पटक सो हिमाल चढेर र एक पटक सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपतिसँगै त्यहाँ भ्रमण गरेको बताइन्छ।

केसीएनएले सन् २०१७ मा जारी गरेको तस्बिरमा किम कालो छालाको जुत्ता लगाएर शिखरमा उभिएको देखिएको थियो।

एउटा सक्रिय ज्वालामुखी पेक्टुमा चार हजार वर्षभन्दा अगाडि पहिलो कोरिया अधिराज्यका संस्थापक ड्याङ्गुनको जन्म भएको मानिन्छ।

चीन र उत्तर कोरियाको सीमामा रहेको यो हिमाल उत्तर कोरियाली राजधानीबाट सयौँ किलोमिटर टाढा पर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *