ब्रेक्जिट विलम्ब टार्न विधेयक पेस गर्ने बेलायती प्रधानमन्त्रीको तयारी

डिसी नेपाल
२ कार्तिक २०७६ २१:०२

लण्डन (बीबीसी) । ब्रिटेनका प्रधानमन्त्रीले युरोपेली सङ्घ (इयू) छाड्ने ब्रेक्जिटबारेको सहमति सम्बन्धी विधेयक आउँदो साता सांसदहरू समक्ष प्रस्तुत गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री बोरिस जोनसनले ब्रिक्जिट थप विलम्ब हुन नदिन त्यसो गर्ने बताएका हुन्।

संसद्‍मा शनिवार भएको महत्त्वपूर्ण मतदानमा समर्थन प्राप्त गर्न नसकेपछि पनि आफ्नो ब्रेक्जिट–नीतिमा ‘अविचलित’ रहने दृढता व्यक्त गरे। उनले आफ्नो सहमति कार्यान्वयन गराउन आवश्यक पर्ने विधेयक संसद‍्‍मा प्रस्तुत गर्ने प्रण सुनाए।

प्रधानमन्त्री जोनसन सहमति विनाको अर्थात् नो डिल ब्रेक्जिटको सम्भावनालाई अघि बढाउन चाहन्छन्।

तर त्यो सम्भावना टार्ने प्रस्तावको पक्षमा बहुमत सांसदहरूले मतदान गरे। सभामुखले मतदानमा लगेको स्वतन्त्र सांसद सर ओलीभर लेटविनको त्यससम्बन्धी प्रस्तावको पक्षमा ३२२ मत पर्‍यो। मतदानमा ३०६ जना सांसदको साथ पाएको सरकार १६ भोटले पछि परेको थियो।

मतदानपछि प्रधानमन्त्री ब्रेक्जिटको निम्ति तोकिएको ३१ अक्टोबरको अन्तिम समयसीमा थप पछाडि धकेल्न इयूलाई आग्रह गर्न बाध्य हुनेछन्।

यो हार प्रधानमन्त्रीको निम्ति ठूलो धक्का ठानिएको छ। जसले ब्रिटेनले यो महिनाको अन्त्यमा जे सुकै भए पनि इयू छाड्ने कुरा बारम्बार दोहर्‍याउँदै आएका थिए। तर प्रधानमन्त्री जोनसनले भने, मैले इयूसँग थप विलम्बबारे कुनै सहमति गर्ने छैन। मलाई त्यसो गर्न कानुनले पनि बाध्य बनाउँदैन।

यसअघि प्रधानमन्त्री जोनसनले आफूले इयूसँग गरेको सहमतिमा समर्थन जनाउन सांसदहरूलाई आग्रह गरेका थिए।

उक्त सहमतिले मुलुकको उपचार हुने प्रधानमन्त्रीको भनाइ थियो। मतदानकै लागि ब्रिटेनमा शनिवार पनि संसद्को बैठक बसेको हो।

ब्रिटेनमा शनिवारका दिन पनि संसद्‌को बैठक भएको ३७ वर्षपछि पहिलो पटक थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *