ओमनस्थित नेपाली दूतावासको ‘परदेशमा घरदेश’ कार्यक्रम

डिसी नेपाल
५ कार्तिक २०७६ १०:३३

मस्कट। ओमनस्थित नेपाली राजदूतावासले ‘परदेशमा घरदेश’ कार्यक्रम गरेको छ। ओमनमा काम गर्ने नेपाली कामदारहरूलाई लक्षित गरेर दूतावासले यो कार्यक्रमको आयोजना गरेको हो।

नेपालको इमल इभेन्टससँगको सहकार्यमा राजधानी मस्कटस्थित लुलु कम्पनीमा गत शुक्रबार  श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम ‘परदेशमा घरदेश’ गरिएको हो ।  विदेशी भूमिमा रहेका श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउने कार्यक्रमको उद्देश्य थियो।

कार्यक्रममा नेपाली राजदूतावासका द्वितीय सचिव सोमेश थापाले उपस्थित सबैलाई स्वागत गर्दै आउँदो दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४० को अवसरमा सबैलाई शुभकामना दिएका थिए । त्यस्तै दूतावासकी श्रम सहचारी कृष्णा कुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवा सम्बन्धी विविध जानकारीहरूको सम्बन्धमा आफ्नो प्रस्तुति दिएकी थिइन्।

कार्यक्रममा बोल्दै विष्णु दाहालले श्रमिकहरूलाई परदेशमा रहेर पनि आफूलाई कसरी बिरानो महसुस हुन नदिने तथा अन्य मनोवैज्ञानिक समस्या तथा निवारणका उपाय सम्बन्धी जानकारी गराएका थिए।

सोही कार्यक्रममा नेपालबाट आएका गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले  साँगीतिक प्रस्तुती मार्फत श्रमिकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *