फेसबुकमा फेक न्यूज फैलाउनकै लागि नेता बन्दै यी व्यक्ति

डिसी नेपाल
२२ कार्तिक २०७६ २२:२७

वाशिङ्टन (बीबीसी) । सामाजिक सञ्जालमा फेक न्यूज फैलाउन वा झुटो विज्ञापन दिन चाहनुहुन्छ? त्यस्तो चाहना छ भने राजनीतिक नेता बन्न यी अमेरिकी अभियानकर्ता सुझाव दिन्छन्।

सान फ्रान्सिस्कोका एड्रिएल ह्याम्प्टन फेसबुकको राजनीतिक विज्ञापन नीतिलाई चुनौती दिन खोज्दैछन्।

अन्य विज्ञापन दिँदा तिनमा भएको विवरण तथ्यपरक भए वा नभएको जाँच गरिने भए पनि राजनीतिक अभियानका विज्ञापनमा फेसबुकले त्यसो गर्दैन।

त्यसैले उनी नक्कली अभियान चलाएर त्यही नीतिलाई चुनौती दिने योजनामा छन्। उनी त्यसका लागि निर्वाचनमा सहभागी हुँदैछन्।

सन् २०२२ मा गभर्नर पदका लागि हुने निर्वाचनमा उनले क्यालिफोर्निया राज्यबाट उम्मेदवारी दर्ता गराएका छन्।

‘यो अभियानको उत्पत्ति सामाजिक सञ्जाल नियमावलीका कारण भएको हो,’ उनले सीएनएन बिज्नसलाई भने, ‘यसको उद्देश्य तथ्यको जाँचबाट कसैले पनि छुटकारा नपाऊन् भन्ने हो। विशेषतः डोनल्ड ट्रम्पजस्ता नेताले जो ढाँट्न रुचाउँछन्।’

तर फेसबुक यी अभियानकर्तालाई मिथ्या सूचना फैलाएर उम्किन दिन तयार छैन।

ह्याम्प्टन द रीअली अन्लाइन लेफ्टी लीगका सदस्य हुन्। उक्त समूहले आफूलाई ९९ प्रतिशत सर्वसाधारणका लागि ‘डिजिटल फर्स्ट राजनीतिक समिति’ का रूपमा चिनाएको छ।

उसले आफ्नो उद्देश्य पैसाको आडमा अन्लाइन गतिविधिद्वारा परम्परावादी राजनीतिक दलहरूले आर्जन गरेको शक्तिलाई चुनौती दिनु रहेको बताएको छ।

‘रुसको इन्टरनेट रिसर्च एजेन्सीदेखि ट्रम्पसम्मले डिजिटल ज्ञान भएकाहरू व्यक्तिमाथि गर्ने विश्वासले के देखाउँछ भने अन्लाइन सञ्चारमाध्यममा रूढीवादीहरू र अराजकता चाहनेहरूले प्रभुत्व जमाउँछन्। हामी त्यसविरुद्ध लडिरहेका छौँ,’ उनको वेबसाइटमा उल्लेख छ।

यो महत्त्वपूर्ण सङ्घर्ष हुने उनको आकलन छ। ‘मेरो विचारमा सामाजिक सञ्जाल निकै शक्तिशाली छ। फेसबुकसँग निर्वाचन सार्न सक्नेसम्मको शक्ति छ भन्ने मलाई लाग्छ,’ उनले सीएनएनलाई भने।

न्यूयोर्क टाइम्सले जनाएअनुसार फेसबुकको राजनीतिक अभियानसम्बन्धी विज्ञापनका विषयमा चासो व्यक्त गर्दै २०० भन्दा बढी कर्मचारीले प्रमुख कार्यकारी अधिकृत मार्क जकर्बर्गलाई हस्ताक्षर बुझाएको केही समयपछि ह्याम्पटनले आफ्नो योजना सार्वजनिक गरेका हुन्।

‘स्वतन्त्र अभिव्यक्ति र पैसा तिरेर प्रचार गरिएको अभिव्यक्ति एकै हुन सक्दैनन्,’ उक्त पत्रमा उल्लेख छ।

त्यसको केही घण्टापछि डेमोक्र्याट दलका सदस्य तथा सिनेट इन्टेलिजन्स कमिटीका वरिष्ठतम सदस्य मार्क वार्नरले जकर्बर्गलाई सम्बोधन गरिएको एउटा पत्र सार्वजनिक गरे।

पत्रमा उनले फेसबुकको नीतिले अमेरिकी राजनीतिमा ूपारदर्शिता, सार्वजनिक विचार विमर्श र बहस, खुलापन, विविधता र जबाफदेहूलाई कमजोर पार्ने खतरा रहेको उल्लेख गरेका छन्।

गत अक्टोबर २३ मा भएको संसदीय सुनुवाइका क्रममा जकर्बर्गले कुनै नेतालाई नराम्रो रूपमा प्रस्तुत गर्ने गलत विज्ञापनलाई फेसबुकमा ‘सम्भवतः अनुमति दिइएको’ हुन सक्ने स्वीकारेका थिए।

तर फेसबुकले लगत्तै द रीअली अन्लाइन लेफ्टी लीगले एक रिपब्लिकन सांसदबारे राखेको गलत विज्ञापन हटाइदिएको थियो।

कुनै राजनीतिक समूहबाट आएकाले त्यो विज्ञापनमा भएको विवरणको परीक्षण आवश्यक भएको फेसबुकको तर्क थियो।

उनी निर्वाचनमा होमिने भएपछि फेसबुकले ह्याम्पटनका विज्ञापनको परीक्षण गर्ने र सम्भवतः राजनीतिक विज्ञापनलाई प्रतिबन्ध लगाउने बताएको छ।

यो विषय अदालतसम्म पुग्न सक्ने देखिन्छ। ‘यी व्यक्तिले प्रस्ट रूपमा हाम्रो नीतिसँग जुध्न उम्मेदवारी दिएको बताएका छन्। तसर्थ उनको सामग्री र विज्ञापन तेस्रो पक्षबाट हुने तथ्यगत जाँचका लागि योग्य मानिनेछ, फेसबुकका प्रवक्ताले सीएनएनलाई भने।

फेसबुकले आफ्ना लागि छुट्टै नीति बनाएको भन्दै ह्याम्पटनले अदालतमा मुद्दा हाल्नेबारे आफूले सोचिरहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *