काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

डिसी नेपाल
२० कार्तिक २०७५ ४:३०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।

बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसको महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको शर्माले बताए ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ । काङ्ग्रेसले संविधानको सङ्घीय संरचनाअनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । बैठकमा भातृसंस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको मितिको बारेमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए। नेविसङ्घको दुईवर्षे कार्यकाल समाप्त भएर थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि त्यसबारेमा पार्टीमा छलफल हुन लागेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *