सुर्खेतमा प्यान लिनेको घुइँचो
सुर्खेत । आन्तरिक राजश्व कार्यालय सुर्खेतमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ।
सरकारले यही जेठ १५ गतेदेखि व्यवसाय, रोजगारी वा अन्य कुनै आयआर्जनमा जोडिएका प्रत्येक व्यक्ति, फर्म वा संस्थालाई प्यान अनिवार्य गरेपछि राजश्व कार्यालयमा सेवाग्राहीको भीड बढेको हो। आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लुमा पन्थीले सुर्खेत प्रदेश राजधानीसमेत भएकाले प्यान लिनेको सङ्ख्या अत्यधिक रहेको बताए।
उनका अनुसार दुई महीनाको अवधिमा कार्यालयबाट नौ हजार ५०० जनाले प्यान लिएका छन्। दैनिक ५०० बढी सेवाग्राही व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन कार्यालय आउने उनको भनाइ थियो।
प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी सङ्केत नम्बर हो। कार्यालयले प्यानका साथै भ्याट प्रमाणपत्र लिन आउनेको सङ्ख्या पनि वृद्धि भएको जनाएको छ। कर अधिकृत पन्थीले कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप रहे पनि कर्मचारीको सङ्ख्या भने निकै कम रहेको बताए।
कूल २२ कर्मचारीको दरबन्दी भएको कार्यालयमा हाल सात जना कार्यरत छन्। सरकारले यस वर्षदेखि व्यवसाय वा आयआर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले प्यान लिनुपर्ने कानूनी प्रावधानलाई कडाइ गरेको छ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment