मध्यपूर्वमा रहेका नेपालीको समस्या सम्बोधन र अधिकारका लागि संघ प्रतिबद्ध छः उपाध्यक्ष कुमार पन्त

डिसी नेपाल
१४ भदौ २०७६ १०:२९

दोहा। गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले गैरआवासीय नेपाली संघ मध्यपूर्वको श्रमबजारमा रहेका नेपालीको समस्या सम्बोधन र अधिकारका लागि प्रतिबद्ध रहेको बताएका छन्।

कतारको दोहामा आयोजित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै पन्तले मध्यपूर्वको श्रम बजारमा रहेका नेपालीको समस्या समाधान, हकहित र अधिकारको सवाल संघको पहिलो प्राथमिकतामा रहेको बताएका हुन्।

नेपालको अर्थतन्त्रको ३५ प्रतिशत भन्दा बढी हिस्सा नेपाली श्रमिकले पठाएको रेमिट्यान्सले ओगटेको छ, उनले भने, मुलुकको अर्थतन्त्रमा यतिको योगदान गर्ने श्रमिकको आधार क्षेत्र यो, यो क्षेत्रका श्रामिकका बारेमा अब सोच्ने कि नसोच्ने ?”

मध्यपूर्वमा दिनरात नभनि खटेका श्रमिकले नेपालमा पठाएको पूँजी अनुत्पादक क्षेत्रमा खर्च भइरहेकोप्रति सचेत गराउँदै पन्तले सो पूँजीलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए।

मध्यपूर्वमा रहेका नेपालीले सिकेका ज्ञान, सीप र प्रविधिलाई समेत नेपालको श्रम बजारमा प्रयोग गर्न सकिने आधार निर्माणका लागि संघ प्रतिबद्ध रहेको उनको भनाई थियो। त्यसका लागि एकद्धार नीति अर्थात सामुहिक लगानीका लागि उनले सबैको ध्यानाकर्षण गराए। “कोषमा अर्बको कुरा भयो भन्नुहुन्छ, पन्तले भने, “कोषमा यदि करोडौँ साथीहरु जम्मा भए अर्बको मात्रै होइन खरबौँको पूँजी पनि निर्माण गर्न सकिन्छ ।” छरिएको लगानीलाई एकैद्धारबाट नेपालको समृद्धि र आर्थिक विकासका लागि उपभोग गर्नुपर्नेमा उनले जोड दिए।

सामुहिक लगानीका लागि नेपाल सरकारसँग सहमति भइसकेको स्मरण गराउँदै उनले प्रक्रियागत रुपमा यथाशक्य लगानीको वातावरण बनाउने र त्यसमा ठूलो पूँजी मात्रै नभई सानो लगानीको लागि मार्ग प्रशस्त गर्ने बताए।

फरक प्रसंगमा उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी पन्तले गैरआवासीय नेपालीको लागि सदस्यता निशुल्क गर्नुपर्नेमा जोड दिए। नेपालीले जसरी बिना शुल्क नागरिकता प्राप्त गर्छ, “उनले भने, त्यसरी नै गैरआवासीय नेपालीले पनि बिना शुल्क सदस्यतापत्र प्राप्त गर्न सक्ने वातावरण तयार गर्नुपर्छ ।”

अधिवेशनमा संघका महासचिव डा बद्री केसीले संघलाई आर्थिक रुपमा समृद्ध बनाए मात्रै मुलुकप्रतिको प्रतिबद्धता पूरा गर्न सकिनेमा जोाड दिए। निष्पक्ष रुपमा प्रक्रियागत रुपमा संघको सदस्य बन्न आह्वान गर्दै केसीले विश्वव्यापी सञ्जालमा जोडिएको संस्थालाई मिलेर उत्कृष्ट साबित गर्नुपर्ने उनको भनाई थियो। संस्थालाई दिगो र बलियो बनाएमात्रै मुलुकको समृद्धिको बराबरी हिस्सेदार बन्न सकिने उनको भनाई थियो।

अधिवेशनमा भाग लिन गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव जानकी गुरुङ, कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ लगायत कतारको दोहा पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *