इजरायलमा नेपाली महिला श्रमिक दुई सन्तानसहित पक्राउ

डिसी नेपाल
१७ भदौ २०७६ १२:३७

काठमाडौं । अवैध रुपमा इजरायलमा बसेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् । प्रहरीले उनलाई दुई सन्तानसहित पक्राउ गरेको हो । अध्यागमनबाट खटिएका प्रहरीले इजरायलको हर्जलियास्थित निवासबाट बिहीबार बिहान बच्चासहित ती महिलालाई नियन्त्रणमा लिएको हो । इजरायल सरकारले उनको ९ वर्षदेखि भिसा नवीकरण नगरेको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार महिलाको नाम ईश्वरा उप्रेती हो । उनको नेपालको ठेगाना भने खुलेको छैन । उनीसँगै उनका नौ वर्षीय छोरा मिसेल र ५ वर्षीया छोरी सिरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हार्रेजको रिपोर्टमा उल्लेख छ । प्रहरी नियन्त्रणमा रहेकी ईश्वरा ज्येष्ठ नागरिकको सुसारेका रूपमा इजरायल पुगेकी थिइन् ।

इजरायलमा रहेका कामदारले आफ्नो अनुमतिपत्र नवीकरण गर्नुपर्ने प्रावधान भए पनि उनले त्यसो नगरिएपछि नियन्त्रणमा लिइएको जनाइएको छ । यद्यपि, उनी कति समयदेखि अवैध रूपमा त्यहाँ रहँदै आएकी थिइन् भन्ने खुलाइएको छैन । जन्म दिएका एक छोरा र छोरीका बावुबारे पनि अस्पष्ट छ ।

प्रहरी नियन्त्रणमा रहेका आमासहित दुवै बच्चालाई अहिले गिभन कारागारमा राखेर न्यायिक प्रक्रिया थालिएको छ । सोमबार मात्रै त्यहाँको अभिरक्षा अदालतले प्रक्रिया पूरा नभएसम्म तीनैजना हिरासतमा रहने फैसला सुनाएको छ ।

पक्राउ परेकी नेपाली महिलाबाट जन्मिएका मिसेल त्यहाँको विद्यालयमा अध्ययनरत छात्र हुन् । समाचारमा जनाइएअनुसार उनी आइतबारबाट कक्षा ४ को पढाइ सुरु गर्ने तयारीमा थिए ।

आफ्ना साथीहरूबाट छुटाएर हिरासतमा राखिनुको कारणबारे उनले केही बुझेका छैनन् । हिरासतमा पु¥याइएदेखि नै उनी निरन्तर रोइरहेको समाचारमा उल्लेख छ ।

महिलाको पक्षमा कुनै आवाज नउठे पनि बालकलाई नियमविपरीत नियन्त्रणमा लिइएकाले रिहाइ गर्न माग उठेको छ । इजरायलको आप्रवासीसम्बन्धी कानूनमा कक्षा चलिरहेका बेला आप्रवासी कामदारका सन्ततिलाई डिपोर्ट गर्न नपाइने नियममा टेकेर सरोकारवालाहरूले बालक पक्राउको विरोध गरेका हुन् ।

मानवियताका आधारमा उनीहरूलाई इजरायलमै रहन दिनुपर्ने माग राख्दै ती बालकका तर्फबाट ओर्टल सामी नाम गरेका एक व्यक्तिले प्रक्रिया थालेका छन् । उनले बालकको न्यायका लागि त्यहाँको आन्तरिक मामिला मन्त्रालयमा निवेदन दर्ता गराएको हारेज डटकमलाई बताएका छन् ।

इजरायलले पछिल्लो समय गैरआप्रवासी कामदार फर्काउने अभियान चलाएको छ । यसअन्तर्गत विनाअनुमति कार्यरतहरुलाई स्वदेश फर्काउन थालिएको छ । अभियान सञ्चालनपछि नेपाली फर्काइएको भने यो पहिलो घटना हो ।

लामो समयदेखि नेपालीहरू इजरायलमा श्रमका लागि जाने गरे पनि कतिको संख्यामा छन् भन्ने यकिन तथ्यांक छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *