भ्रमण वर्षअघि नै पर्यटकीयस्थलका पूर्वाधार निर्माण सक्न निर्देशन

डिसी नेपाल
२० भदौ २०७६ १९:२०

काठमाडौं। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल भ्रमण वर्ष शुरु हुनुअघि नै महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका पूर्वाधार निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

भ्रमण वर्ष आउन चार महीनामात्र बाँकी हुँदासमेत पर्यटकीयस्थलमा जाने सडक निर्माण सम्पन्न हुन नसकेको भन्दै सांसदहरुले छिटो काम सक्न माग गरेका थिए। बैठकपछि सभापति कल्याणीकुमारी खड्काले भ्रमण वर्षको गुरुयोजनाको पनि योजना बनाएर बसेजस्तो गरी पूर्वाधार निर्माणका काम हुन नसकेकाले समयमै ध्यान दिन सरोकार भएका निकायलाई निर्देशन दिइन्।

“महत्वपूर्ण पर्यटकीयस्थलका पूर्वाधार तत्काल निर्माण आरम्भ गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइएको छ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कुनकुन पर्यटकीय स्थलको महत्व के हो रु त्यहाँ जाने सडकको अवस्था कस्तो छ ? भन्ने अवस्था पत्ता लगाई दुवै मन्त्रालयबीच समन्वय र सहकार्यमा काम गर्न निर्देशन दिइएको छ”, उनले भनिन्।

पूर्वाधार निर्माणमा ध्यान नदिई कागजमा मात्र नेपाल भ्रमण वर्षलाई सीमित नपार्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ । सांसद रामबहादुर विष्टले पूरै चक्रपथ घुम्दा पनि सार्वजनिक शौचालय पाउन नसकिने अवस्था रहेकाले पर्यटकलाई आकर्षितभन्दा पनि निरुत्साहित बनाउने बताए।

सांसद कमला रोक्काले हिमाली क्षेत्र छोएको रुकुम पूर्वका पर्यटकीयस्थल जाने सडक बन्न नसक्दा भ्रमण वर्ष खल्लो हुन लागेको गुनासो गरिन्। सांसद मीनाक्षी झाले भ्रमण वर्षमा खाल्डाखुल्डी भएको सडक र भत्किएका पुरातात्विक मन्दिर मात्र देखाउने हो कि अरु पनि केही छ भनी प्रश्न गरिन्। धार्मिक पर्यटकीयस्थल जनकपुरबाट भारतीय सीमासम्म पुग्ने सडक खराब भएकाले प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ थियो ।

सांसद दामोदर भण्डारीले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार नै महत्वपूर्ण हुने बताए। धेरै विमानस्थलको अवस्था नाजुक भएकाले भ्रमण वर्षअघि नै सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद राजेन्द्रकुमार राईले भ्रमण वर्ष आउन बाँकी रहेका चार महीनामा के के गर्ने भन्ने कार्यतालिका बनाएर पर्यटन मन्त्रालय अघि बढ्नुपर्ने बताए। पर्यटकीयस्थल धनकुटाको भेडेटार क्षेत्रमा सडकको दूरावस्था भएकैले पर्यटक पुग्न नसक्ने समस्या रहेको उनले जानकारी गराए।

सांसद इन्दु शर्माले विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धबाट सिंहदरबार आउन दुई घण्टा लाग्ने अवस्थाको सडकले कसरी पर्यटकलाई टिकाउँछ भनी प्रश्न राखिन्। जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकको अवस्था पनि उस्तै रहेकाले सुधार गर्नुपर्नेमा जोड दिइन्। ्

सांसद बहादुरसिंह लामा तामाङले पर्यटन प्रवद्र्धनका लागि सडक पूर्वाधार र यातायातको महत्वपूर्ण भूमिका हुने विचार राखे। २० लाख पर्यटकलाई धान्ने होटल नभए पनि नयाँ बनाउनसमेत अवरोध गरिएको उनको गुनासो थियो ।

सांसद विनाकुमारी श्रेष्ठले काठमाडौँ वरपरकै नागढुङ्गा, नगरकोट, साँखु, सुन्दरीजल जस्ता पर्यटकीयस्थलका सडक पूर्वाधार बिग्रिएकाले पर्यटकमा नराम्रो सन्देश जान नदिन छिटो काम गर्ने व्यवस्था मिलाउन माग गरिन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सङ्घीय सरकारमातहत रहेका राजमार्ग एवं राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका सडकका कारण भ्रमण वर्षलाई प्रभाव नपार्ने गरी मर्मतसम्भार गर्न लागिएको जानकारी दिए। राजधानी वरपरका साँखु, नगरकोट, नागढुङ्गा जाने सडक सम्पन्न गर्ने कामलाई प्राथमिकतामा राखिएको पनि उनले बताए।

“दशैँअघि राजधानी एवं बाहिर जाने मुख्य सडकमा मर्मत सम्भारका काम शुरु गरिएको छ, पर्यटकीय ट्याक्सी व्यवस्थापनका लागि पर्यटन मन्त्रालयसँगको सहकार्यमा काम गर्छौं”, सचिव कार्कीले भने।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडकका कारण सवारी दुर्घटना नभएकाले पर्यटकले यातायातमा सहजै हिँड्नसक्ने अवस्था रहेको बताए। केही दुर्घटना चालक निदाएर एवं अन्य कारणले हुने गरेको उनको भनाइ थियो । पर्यटकीय सवारी सुरक्षित रहेकाले सडकका कारण दुर्घटना नभएको महानिर्देशक शर्माका भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विमानस्थलको क्षमता बढाउनुपर्ने, काठमाडौँ र लुम्बिनी विमानस्थलको काम पनि छिटो सक्न माग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *