सेप्टेम्बर ११ को अनौठो संयोगमा जन्मिएकी बालिका

डिसी नेपाल
२८ भदौ २०७६ १७:२५

वाशिङ्टन (बीबीसी) । एक अमेरिकी आमाले आफ्नो नवजात छोरी सेप्टेम्बर ११ को दिन ९ बजेर ११ मिनेटमा ९ पाउण्ड ११ अउन्स तौलमा जन्मेपछि उनलाई ‘सानु आश्चर्य’ भएको बताएकी छन्।

सेप्टेम्बर ११ लाई सन् २००१ मा अमेरिकामा भएको हमलापछि छोटकरीमा ९–११ भन्ने गरिन्छ र बालिका जन्मेको दिन अमेरिका भरी सो आक्रमणको १८ वर्षको पुगेको सम्झनामा कार्यक्रम गरिएको थियो।

क्रिष्टिना ब्राउन नाम दिइएकी बालिका टेनेसीको जर्मनटाउनको एक अस्पतालमा जन्मेकी थिइन्। ‘उनी विध्वंस र विनाशबीच एउटा नवजीवन हुन्’, आमा क्यामेट्रोअन मूर–ब्राउनले बताइन्।

क्रिष्टिनालाई शत्यक्रिया गरेर निकालिएको थियो र जतिबेला उनको जन्म समय र तौल लेखियो, अस्पतालका कर्मचारी छक्क परेका थिए। ‘हामीले चिकित्सकले क्रिष्टिना ९ ः ११ मा जन्मेको बताएको सुनेका थियौँ र जतिबेला उनको तौल ९.११ निस्कियो, सबैजना अचम्भित भयौँ,’ बुवा जस्टिन ब्राउनले भने।

अस्पतालको महिला सेवाकी प्रमुख राचेल ल्याङ्लिनले यस्तो संयोग बिरलै हुने बताइन्। ‘मैले यहाँ काम गरेको ३५ वर्ष भयो र मैले कहिल्यै शिशुको जन्ममिति, समय र तौल एउटै सङ्ख्या भएको देखेको थिइन,’ उनले भनिन्।

क्रिष्टिनाका बावुआमाले उनी ठूलो भएपछि उनलाई उनको जन्मको संयोग बताउने बताएका छन्। सेप्टेम्बर ११ को आतङ्ककारी हमलाको १८ वर्ष पुगेको दिन न्यूयोर्कको आक्रमण स्थलसहित अन्य स्थानमा कार्यक्रम भएको थियो।

सन् २००१ मा भएको आक्रमणमा झन्डै तीन हजार जनाको मृत्यु र हजारौँ घाइते भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *