भारतको ‘चन्द्रयान २’ को ल्याण्डर ‘बिक्रम’सँग सम्पर्क हुने आशा समाप्त

डिसी नेपाल
३० भदौ २०७६ १७:४५

एजेन्सी। भारतीइ अन्तरिक्ष एजेन्सी (इसरो)का वैज्ञानिकहरु अहिले पनि आफ्नो दोस्रो चन्द्रमा अभियान ‘चन्द्रयान २’को बिक्रम ल्याण्डरसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन् । इसरोको सहयोगको लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासा पनि आफ्नो डीप स्पेस नेटवर्कका तीन सेन्टरबाट लगातार चन्द्रयान २ को अर्बिटर र ल्याण्डरसँग सम्पर्क गरिरहेको छ ।

नासाले स्पेनको मड्रिड, अमेरिकाको क्यालिफोर्नियाको गोल्डस्टोन र अस्ट्रेलियाको क्यानबेरामा रहेका तीन शक्तिशाली स्पेस स्टेशनबाट गरिएको प्रयासमा चन्द्रयान २ को अर्बिटरसँग त सम्पर्क भएको छ तर बिक्रम ल्याण्डरलाई पठाइएका सन्देशको भने कुनै जवाफ आइरहेको छैन । ७ सेप्टेम्बर बिहान करिब १ः५० बजे बिक्रम ल्याण्डर चन्द्रमाको दक्षिणी ध्रुवमा खसेको थियो । जतिबेला चन्द्रयानको बिक्रम ल्याण्डर चन्द्रमामा खस्यो त्यतिबेला त्यहाँ बिहान भएको थियो । चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ ।

अब २० वा २१ सेप्टेम्बरमा चन्द्रमामा रात पर्नेछ । १४ दिन काम गर्ने मिशन लिएर चन्द्रमामा गएको बिक्रम ल्याण्डर र प्रज्ञान रोभरको मिशनको समय त्यतिबेला समाप्त हुनेछ । आज १६ सेप्टेम्बर हो । यतिबेला चन्द्रमामा अपरान्ह भइसकेको छ । नासाका लुनर रिकन्सेन्स अर्बिटरका वैज्ञानिक नोआ इ पेत्रोका अनुसार चन्द्रमामा साँझ पर्न लागिसकेको छ । नासाको एलआरओले बिक्रम ल्याण्डरको तस्वीर त खिच्नेछ तर ती तस्वीर स्पष्ट आउँछन् भन्ने ग्यारेन्टी छैन ।

यदि २०–२१ सेप्टेम्बरसम्म इसरो वा संसारभरका अन्य अन्तरिक्ष एजेन्सी बिक्रम ल्याण्डरसँग सम्पर्क गर्न असफल भएमा फेरि बिक्रम ल्याण्डरसँग सम्पर्क हुनु भनेको कुनै चमत्कारभन्दा कम होइन । यहाँ रात परेपछि फेरि बिहान हुन पृथ्वीको समयअनुसार १४ दिन लाग्छ । रातमा त्यहाँको तापक्रम घटेर माइनस १८३ डिग्री सेल्सियससम्म झर्छ । यो तापक्रममा बिक्रम ल्याण्डरका विद्युतीय पार्ट सुरक्षित रहन निकै कठिन छ । त्यसैले बिक्रम ल्याण्डरसँग सम्पर्क हुन सक्ने देखिँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *