मुस्लिम दाजुभाइले ब्राह्मण वृद्धको हिन्दू संस्कारअनुसार जनै लगाएर अन्तिम संस्कार गरे

डिसी नेपाल
३१ भदौ २०७६ १०:१५

काठमाडौं। पछिल्लो समय देशमा जातीय द्वेष बढिरहेको छ । जाति र धर्मको नाममा मानिसहरु विभाजित भएका छन् । धार्मिक दंगा छिमेकी देश भारतमा अत्याधिक छ । यहाँ अयोध्यामा मुस्लिम र हिन्दूबीचको विवाद सर्वोच्च अदालतले समेत मिलाउन सकेको छैन । तर, त्यही देशमा मुस्लिम दाजुभाइले एक ब्राह्मण वृद्धको हिन्दू संस्कारअनुसार जनै लगाएर अन्तिम संस्कार गर्दै मानवताको अनुपम उदाहरण पेश गरेका छन् ।

गुजरात राज्यको अमरेली जिल्लाको सवरकुंडला शहरमा तीन जना मुस्लिम दाजुभाइले आफ्ना पिताका साथी, जो ब्राह्मण थिए, उनको हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गरेका हुन् । उनीहरुका ‘अंकल’को नाम भानुशंकर पाण्डे थियो । भानुशंकरको परिवारमा अरु कोही थिएनन् । उनी केही वर्षदेखि मुस्लिम परिवारसँग बस्दै आएका थिए । उनको दाहसंस्कार गर्ने तीन मुस्लिम दाजुभाइ अबु, नसीर र जुबैर कुरैशी हुन् ।

मुस्लिम परिवार निकै रुढीवादी छ र उनीहरु मजदूरी गर्छन् । उनीहरु दिनमा पाँच पटक नमाज पढ्छन् र आजसम्म कहिल्यै पनि रमजानको उपवास छोडेका छैनन् । पाण्डेको मृत्युपछि उनको दाहसंस्कार गर्न घाटमा गएका यी दाजुभाइलाई हिन्दू संस्कारबारे थाहा थिएन । जुबैरले भने ‘भानुशंकर अंकलको अन्तिम संस्कारको क्रममा हामीले हिन्दू परिवारसँग गंगाजल माग्यौं । हामीले छिमेकीसँग भनेका थियौं कि हामी हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गर्न चाहन्छौं । हामीलाई अर्थी उठाउनको लागि धोती र जनै धारण गर्नु जरुरी हुने बताइयो । हामीले त्यसै गर्यौं ।

नसीरका छोरा अरमानले चितालाई अग्नी दिएका थिए । नसीरले भने ‘हामी १२ औं दिन अरमानको केश मुण्डन गर्नेछौं किनकि हिन्दू यो संस्कार मान्छन् । यी दाजुभाइका पिताको नाम भिखु कुरैशी थियो । भिखु र भानुशंकरको भेट ४० वर्ष पहिले भएको थियो । भिखुको ३ वर्षअघि मृत्यु भइसकेको छ । नसीरका अनुसार उनीहरुका सन्तान भानुशंकरलाई हजुरबुवा भनेर बोलाउँथे र उनीहरु भानुशंकरको पाउ छोएर आशीर्वाद लिन्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *