इजरायलमा कसैले पाएनन् बहुमत

डिसी नेपाल
३ असोज २०७६ १७:१६

वेस्ट ब्याङ्क (एजेन्सी) । इजरायलको आमनिर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि आगामी प्रधानमन्त्रीबारे अनिश्चितता बढेको छ । वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दल लिकुड पार्टी नेतृत्वको गठबन्धनले ५५ सिटमा जित हात पारेको छ ।

प्रतिस्पर्धी अर्को गठबन्धनले ५७ सिटमा जित हात पारेको छ । इजरालयमा सरकार बनाउन कम्तिमा ६१ सिट आवश्यक हुन्छ । कुनै पनि दलले बहुमत नल्याएपछि एक वर्षमा तेस्रो पटक आम निर्वाचन हुने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यहाँ गएको अप्रिलमा पनि चुनाव भएको थियो । सो चुनावमा पनि कसैले बहुमत नल्याएपछि फेरि चुनाव भएको हो । तर, यो पटक पनि कसैले बहुमत ल्याउन नसक्दा आगामी सरकार कसरी बन्छ भन्ने कुनै दिशा देखिएको छैन । यद्यपी राष्ट्रिय एकताको सरकार बनाउनु पर्ने पहल भने भइरहेको बताइन्छ ।

नेतान्याहु इजरायलमा अहिलेसम्मकै उच्च पाँचौ कार्यकाल पदमा रहनका लागि प्रतिस्पर्धामा छन् ।

इजरायलमा अहिलेसम्म सबैभन्दा बढि समय प्रधानमन्त्री बनेका ६९ वर्षिय नेतान्याहुले १० वर्षदेखि सत्ताको नेतृत्व गरिरहेका छन् । सत्तामा पुनः फर्किन पाए उनले यहुदी बस्तीहरू र अधीनस्थ वेस्ट ब्याङ्कका अन्य भूभागलाई एकिकृत पार्ने बताएका छन् । प्यालेस्टिनिहरू भने वेस्ट ब्याङ्क र गाजा क्षेत्रमा आफ्नो स्वामित्व चाहन्छन् र अधीनस्थ पूर्वी जेरुसेलमलाई आफ्नो राजधानी मान्छन् । र नेतान्याहुले बाँडेको आश्वासनले शान्तिको हरेक आशा समाप्त पारिदिने चेतावनी प्यालेस्टिनीहरूले दिँदै आएका छन् ।

विपक्षी नेता ग्यान्टस्ले भने नेतान्याहुले भनेजस्तो कुनैखाले एकिकरण प्रयासको वकालत गरेका छैनन्। तर प्यालेस्टेनी राज्यबारे उनको अडान भने स्पष्ट छैन । तर नेतान्याहुले जुनसुकै मूल्यमा जेरुसेलमलाई टुक्रयाउने कुरालाई अस्विकार गर्दै आएका छन् ।

चुनावी परिणामले कुनैबेला नेतन्याहुका निकट नजिक रहेका अविडगोर लिबरमन ‘किंगमेकर’ बनेका छन् । उनको दलले ८ सिटमा जित हासिल गरेको छ । उनले जसलाई समर्थन गर्छन् सोही दलले सरकार बनाउन सक्ने देखिएको छ । तर, उनले हालसम्म कसैलाई पनि समर्थन नगर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

उनले राष्ट्रिय एकताको सरकारमा जोड दिएका छन् । तर, नेतन्याहुको नेतृत्व आफुलाई अस्वीकार भएको विपक्षी नेता ग्यान्टस्ले बताइरहेका छन् । त्यसैले नेतन्याहु फेरि प्रधानमन्त्री बन्ने सम्भावना निकै कम छ । गएको अप्रिलमा नेतन्याहु बहुमत पु¥याउन एक सिटलेमात्र चुकेका थिए । त्यतिबेला पनि लिबरमनले नेतन्याहुलाई समर्थन गरेका थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *