दक्षिण अफ्रिकामा गैंडा चोरीशिकारी घट्यो

डिसी नेपाल
६ असोज २०७६ १३:४७

केप टाउन। दक्षिण अफ्रिकाले गैंडाको चोरीशिकारीमा कठोर कदम लिएसँगै गैंडा मारिनेक्रम घटेको दक्षिण अफ्रिकी मन्त्री बारबरा क्रिसीले बताएका छन्।

वातावरण, वन तथा मत्स्यपालन मन्त्री बारबराले यस वर्ष जनवरीदेखि जुनसम्मका छ महिनाको अवधिमा देशभर करिब ३१८ वटा गैंडाको चोरीशिकारी गरेको जानकारी दिए। अघिल्लो वर्षको यही अवधिमा ३८६ गैंडाको चोरीशिकारी भएको थियो।

विश्व गैंडा दिवसको सन्दर्भमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बारबराले उक्त जानकारी दिए। अफ्रिकाको उत्तरमा रहेको क्रुगर राष्ट्रिय निकुञ्जमा चोरीशिकारी बढेको तथ्याँक छ। मन्त्री बारबराका अनुसार यसै वर्षको छ महिनामा यस निकुञ्ज क्षेत्रमा १९० वटा मारिएका छन्।

अफ्रिकाकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा रहेको यस निकुञ्जमा यस वर्षको छ महिनामा एक हजार २०२ वटा चोरीशिकारसँग सम्बन्धित घटना भएको पाइएको छ।

उनले गैंडा जोगाउन दक्षिण अफ्रिकाले एकीकृत रणनीतिक कार्यविधि कार्यान्वयन गरिरहेको र यसको नतिजा निकै सकारात्मक रहेको जानकारी दिए। गैंडाको सिङको माग निकै बढेका कारण अफ्रिकाका सरकारी र निजी निकुञ्जबाट गैंडाको चोरीशिकारी बढेको हो।

निकुञ्ज आसपासका जनताको जीवनस्तर उकास्ने तथा निकुञ्जको आम्दानीमा उनीहरुको हिस्सेदारी बढाउने उपाय अवलम्बन गरेका कारण पनि गैंडा समेतका जीवजन्तुको चोरीशिकारी रोक्न सफलता मिलेको मन्त्री बारबराले बताए। उनले यो अभियानलाई अझ व्यापक बनाउने अफ्रिकी सरकारको योजना रहेको पनि जानकारी दिए।

दक्षिण अफ्रिकामा विश्वका कूल गैंडामध्ये झण्डै ८५ प्रतिशत रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *