दक्षिण अफ्रिकामा गैँडा चोरी शिकारी घट्यो

डिसी नेपाल
६ असोज २०७६ २२:२६

केप टाउन (रासस/सिन्ह्वा) । दक्षिण अफ्रिकाले गैँडाको चोरी शिकारीमा कठोर कदम लिएसँगै गैँडा मारिनेक्रम घटेको दक्षिण अफ्रिकी मन्त्री बारबरा क्रिसीले बताएकी छन् ।

वातावरण, वन तथा मत्स्यपालनमन्त्री बारबराले यस वर्ष जनवरीदेखि जुनसम्मका छ महिनाको अवधिमा देशभर करीब ३१८ वटा गैँडाको चोरी शिकारी गरेको जानकारी दिइन् । अघिल्लो वर्षको यही अवधिमा ३८६ गैँडाको चोरी शिकारी भएको थियो ।

विश्व गैँडा दिवसको सन्दर्भमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बारबराले उक्त जानकारी दिएकी हुन् । अफ्रिकाको उत्तरमा रहेको क्रुगर राष्ट्रिय निकुञ्जमा चोरी शिकारी बढेको तथ्यांक छ । मन्त्री बारबराका अनुसार यसै वर्षको छ महिनामा यस निकुञ्ज क्षेत्रमा १९० वटा मारिएका छन् ।

अफ्रिकाकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा रहेको यस निकुञ्जमा यस वर्षको छ महिनामा एक हजार २०२ वटा चोरी शिकारसँग सम्बन्धित घटना भएको पाइएको छ ।

उनले गैँडा जोगाउन दक्षिण अफ्रिकाले एकीकृत रणनीतिक कार्यविधि कार्यान्वयन गरिरहेको र यसको नतिजा निकै सकारात्मक रहेको जानकारी दिइन् । गैँडाको सिङको माग निकै बढेका कारण अफ्रिकाका सरकारी र निजी निकुञ्जबाट गैँडाको चोरी शिकारी बढेको हो ।

निकुञ्ज आसपासका जनताको जीवनस्तर उकास्ने तथा निकुञ्जको आम्दानीमा उनीहरुको हिस्सेदारी बढाउने उपाय अवलम्बन गरेका कारण पनि गैँडासमेतका जीवजन्तुको चोरी शिकारी रोक्न सफलता मिलेको मन्त्री बारबराले बताइन् ।

उनले यो अभियानलाई अझ व्यापक बनाउने अफ्रिकी सरकारको योजना रहेको पनि जानकारी दिइन् । दक्षिण अफ्रिकामा विश्वका कूल गैँडामध्ये झण्डै ८५ प्रतिशत रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *