राष्ट्रसंघको जलवायु सम्मेलनमा विश्वनेताहरु अनुपस्थित

डिसी नेपाल
६ असोज २०७६ २२:४५

न्यूयोर्क (बीबीसी) । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले न्यूयोर्कमा आयोजना गरेको एउटा महत्त्वपूर्ण जलवायु सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सहितका कतिपय प्रमुख विश्वनेताले सहभागिता जनाएका छैनन्।

गुटेरसले चाहिँ नेताहरूबाट कार्बन डाइअक्साइड उत्सर्जन घटाउने नयाँ र महत्त्वाकाङ्क्षी योजनाहरू आशा गरेको बताएका छन्। स्विडिस वातावरण अभियानकर्मी ग्रेट टुनबेर्ग सहित थुप्रै युवा अभियानकर्मीहरूले सम्मेलनमा सम्बोधन गर्नेछन्।

सम्मेलनको एक दिनअघि वैज्ञानिकहरूले विश्वव्यापी तापमानको सङ्केत र प्रभावहरू बढिरहेको भन्दै चेतावनी दिएका थिए। राष्ट्रसंघीय जलवायु निकायका अनुसार सन् २०१५ देखि २०१९ बीचमा वायुमण्डलमा उत्सर्जन भएको कार्बन डाइअक्साइडको मात्रा पछिल्लो पाँच वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ।

ब्रिटेनको युनिभर्सिटी अफ रिडिङ्‍का जलवायु सम्बन्धी प्राध्यापक ब्रिअन होस्किङ्स भन्छन्, ‘स्कुले बालबालिकाबाट आइरहेको यो चर्को आवाजलाई हामीले सुन्नुपर्छ। यो आपतकालीन अवस्था हो।’

गुटेरसले आउँदो दशकमा नाटकीय ढङ्गबाट उत्सर्जन कम गर्ने र सन् २०५० सम्ममा कार्बनको उत्सर्जन दरलाई सुरक्षित तहमा राख्ने योजनाहरू आशा गरेको र ती सोमवारको सम्मेलनमा सार्वजनिक हुने बताए। उनले सन् २०२० पछि विश्व फोसिल इन्धन छाड्दै जाने र कोइलाले इन्धन दिने उर्जा केन्द्रहरू बन्द होउन् भन्ने आफूले चाहेको बताए।

अर्को वर्ष जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता हुने परिप्रेक्ष्यमा यो विशेष बैठकको आयोजना हुन लागेको हो। ब्रिटिश प्रधानमन्त्री बोरिस जनसन, फ्रेन्च राष्ट्रपति एम्यानुअल माँक्रोसहित ६० नेताहरूले मञ्चमा उभिएर आफ्ना प्रतिबद्धताहरू व्यक्त गर्नेछन्।

तर कोइलाबारेको संवेदनशील विषयमा अर्थ राख्ने जापान र अस्ट्रेलियाका नेताहरू भने सम्मेलनमा सहभागी हुने छैनन्।अमेरिका, ब्राजिल र साउदी अरेबिया समेत सम्मेलनमा बोल्ने छैन।

तर चीन र भारत कोइला क्षमताको नेतृत्व गर्ने नयाँ शक्तिराष्ट्र भए पनि उनीहरूलाई मञ्च दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *