पाकिस्तानी प्रधानमन्त्रीद्वारा अमेरिकी सांसदलाई काश्मिरबारे ‘व्रिफिङ’

डिसी नेपाल
७ असोज २०७६ ५:४२

न्युयोर्क । न्युयोर्कमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी सांसदहरूलाई काश्मिर घटनाबारे जानकारी गराएका छन् ।

भारतले काश्मिर बिषयमा लिएको पछिल्लो कदमपछि भारतसँग व्यापारिक कारोबार बन्द गरेका खानले काश्मिरमाथि भारतले अन्याय र अत्याचार गरेको टिप्पणी गरे।

कार्यक्रममा अमेरिकी सिनेटको विपक्षी दलका नेता चक स्कुमर र सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्डसी ग्राहम पनि सहभागी भएका थिए ।

न्युयोर्क पुगेको दोस्रो दिन उनले सांसद र संसदका नेताहरुलाई काश्मिर मामिलामा आफ्नो धारणा राखेका हुन् ।

पछिल्लो समय आर्थिक सङ्कटबाट ग्रस्त रहेको देशका प्रधानमन्त्री खानले भारत प्रशासित जम्मु काश्मिरलाई केन्द्रीय सरकारको मातहतमा लगिएकोमा शुरुदेखि नै आपत्ति जनाउदै आएका छन् ।

भारतले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै जम्मु र काश्मिरलाई केन्द्रीय सरकारको मातहतमा ल्याएको घोषणा गरेको थियो ।

भारतको सो घोषणाका विरुद्धमा पाकिस्तानमा देशव्यापी प्रदर्शनको आयोजना गरी पाकिस्तानी प्रधानमन्त्री खानले काश्मिर मामिलालाई राष्ट्रसंघको महासभामा उठाएर विश्वको ध्यानाकर्षण गराउने बताएका थिए।

उनले महासभा भन्दा बाहिर भेटवार्ता गरेका अधिकांश नेतासँग काश्मिर मामिलाका बारेमा ध्यानाकर्षण गरेको बताइएको छ ।

अर्को तर्फ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि महासभाका लागि न्युयोर्कमा नै आइपुगेका छन् । उनले भारत र अमेरिकाको सम्बन्धलाई थप बलियो बनाउने प्रयासलाई जारी राखेका छन् ।

प्रधानमन्त्री मोदीले न्युयोर्क आइपुगेको पहिलो दिन नै उर्जा क्षेत्रका अगुवाहरूसँग लगानी र सहकार्यका बारेमा छलफल गरेका थिए ।

विश्वको छाता संस्थाको रूपमा रहेको राष्ट्रसंघको महासभामा सहभागी हुन अधिकांश देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु अहिले न्युयोर्कमा भेला भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *