जापानमा आँधीका कारण ५० घाइते

डिसी नेपाल
७ असोज २०७६ ७:११

टोकियो । जापानमा सोमबार आएको तपाह नाम दिइएको आँधीका कारण कम्तीमा ५० जना घाइते भएको अधिकारीहरुले सोमबार जनाएका छन् ।

जापानको मौसम विभागले दिएको जानकारी अनुसार देशको दक्षिणी तथा दक्षिणपश्चिमी क्षेत्रमा आँधी आएको थियो । सामुद्रिक क्षेत्रबाट आएको अहिलेको आँधी यो सिजनको १७औँ आँधी भएको अग्नि तथा प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

देशको ओकिनावा, सागा, नागासाकी र मियाजाकीलगायतका क्षेत्रमा शक्तिशाली हावासहितको आँधी आएको अधिकारीहरुले बताएका छन् । क्युशु विद्युत कर्पोरेसनले धेरै ठाउँमा विद्युत सेवा कटौती गरेको थियो । प्रभावित सात मध्ये छ प्रान्तमा विद्युत कटौती भएको हो ।

अधिकारीहरुले झण्डै तीस हजार घरहरूमा विद्युत कटौती भएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार बेलुका ५ बजेसम्म पनि आठ हजार ५०० घर विद्युत सेवाविहिन भएका थिए ।

आँधीका कारण उक्त क्षेत्रमा सडक यातायातका साथै हवाई तथा रेल सेवा पनि अवरूद्ध बनेको बताइएको छ । मौसम विभागले उत्तरी जापानमा सोमबार राति र मंगलबार विहानको बीचमा कडा हावासँगै भारी बर्षा हुनसक्ने सूचना जारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *