ट्रम्पविरुद्ध महाभियोग लगाउने पक्षमा विपक्षी दलको अग्रसरता, कारण यस्ता छन्

डिसी नेपाल
७ असोज २०७६ ९:१४

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग आफूले गरेको फोनवार्तामा भूतपूर्व उपराष्ट्रपति जो बाइडन र उनका छोराबारे कुरा उठाएको विषयको प्रतिरक्षा गरेका छन्।

फोनवार्ताबारे संवाददाताहरूसँग सोमवार कुरा गर्दै ट्रम्पले भ्रष्टाचारबारे कुरा गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको बताए। अमेरिकामा हुने आगामी निर्वाचनमा आफूलाई चुनौती दिन सक्ने व्यक्तिविरुद्ध अनुसन्धान गर्न आफूले युक्रेनी राष्ट्रपतिलाई दबाव दिएको भन्ने समाचारको ट्रम्पले खण्डन गरे।

डेमक्र्याटिक पार्टीका एक वरिष्ठ नेताले अहिले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग नै एक मात्र उपचार हुन सक्ने बताएका छन्। बाराक ओबामाका उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन्।

हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए। त्यतिबेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए। अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिने डेमक्र्याटिक उम्मेदवारको प्रबल दाबेदार हुन्।

गत साता अमेरिकी सञ्चारमाध्यमले एक गुप्त सुराकीले विदेशी नेतासँगको टेलिफोन कुराकानीको विषयवस्तु र उद्देश्यप्रति गम्भीर प्रश्न गर्दै राष्ट्रपति ट्रम्पविरुद्ध उजुरी हालेको जनाएका थिए। अमेरिकी राष्ट्रपतिले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाव दिएको समाचारहरूमा उल्लेख थियो।

ट्रम्प प्रशासनले सुराकीको उजुरी कंग्रेसलाई हस्तान्तरण गर्न रोकिरहेको विवरण गत साता बाहिर आएको थियो। इन्टेलिजन्स इन्स्पेक्टर जेनरलले भने त्यसलाई अत्यावश्यक ठहर्‍याएका थिए।

अमेरिकी कानुनअनुसार उजुरीलाई अत्यावश्यक सरोकार ठम्याइएमा तथा इन्स्पेक्टर जेनरलले विश्वसनीय मानेमा इन्टेलिजन्स विभागका प्रमुखले सात दिनभित्र कंग्रेसलाई सूचना दिने अपेक्षा गरिन्छ।

ह्वाइट हाउसले युक्रेनलाई दिने २५ करोड डलरसम्मको सैन्य सहायतामा अस्थायी रोक लगाउने निर्णय गरेकै समयमा दुई राष्ट्रपतिबीच उक्त विवादित फोनवार्ता भएको संयोग देखिएको छ।

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार सहायता निलम्बन गर्ने निर्णय जुलाई २५ मा भएको फोनवार्ताअघि भएको थियो र दुई नेताहरूको संवादमा त्यसबारे कुरा भएको कुनै सङ्केत छैन।

सहायता ढिलाइको द्विपक्षीय आलोचनाबीच यो महिना युक्रेनका निम्ति २५ करोड डलर अनुमोदन गरिएको थियो। ट्रम्पका वकिल रुडी जुलियानीले फक्स बिज्नसलाई सोमवार राष्ट्रपतिले युक्रेनलाई सैन्य सहायता रोक्ने चेतावनी नदिएको कुरा शत प्रतिशत भन्न नसक्ने बताए।

ट्रम्पले आफूलाई महाभियोग लगाउने चेतावनीलाई गम्भीरतापूर्वक नलिएको बताएका छन्। विपक्षीहरूले आफूलाई हतोत्सहित बनाउने प्रयास गरेको उनको तर्क थियो। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन सोमवार न्यूयोर्क ओर्लिँदा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको फोनवार्तामा कुनै गलत कुरा नभएको दाबी गरे।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले भने, ‘बाइडनले जे गरे त्यो गलत थियो।’ युक्रेनलाई सैन्य सहायता दिन तपाईँको प्रशासनले किन ढिलो गर्‍यो भन्ने प्रश्नमा उनको प्रतिप्रश्न थियोस् तपाईँले जुन देश भ्रष्ट छ भन्ने ठान्नुहुन्छ त्यस देशलाई किन पैसा दिने?

ट्रम्पले युक्रेनमा सम्पन्न निर्वाचनपछि बधाई दिन युक्रेनी राष्ट्रपतिलाई फोन गरेको संवाददाताहरूलाई आइतवार बताएका थिए। तर ट्रम्पले कुराकानीका क्रममा युक्रेनमा पहिल्यै भ्रष्टाचार सिर्जना गरेका उपराष्ट्रपति बाइडन र उनका छोराले जस्तो आफ्ना नागरिकबाट नहोस् भन्ने कुरा र भ्रष्टाचारको प्रसङ्ग राखेको बताए।

ट्रम्पले यसअघि अहिलेसम्म नाम नखुलाइएका सूचनादाता पक्षपाती भएको र विदेशी नेताहरूसँगका आफ्ना सबै फोनवार्ता अमेरिकी निकायले सुनेकोबारे आफू जानकार रहेको बताएका थिए।

ट्रम्पले कुराकानीको प्रतिलिपि सार्वजनिक गर्न सकिने बताएका बेला उनको प्रशासनका उच्च अधिकारीहरूले विश्वका दुई नेताबीचको निजी संवाद सार्वजनिक गरिनु अनुचित हुने बताएका छन्।

द वाल स्ट्रीट जर्नलले स्रोतलाई उद्धृत गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई हन्टर बाइडनमाथि छानबिनबारे आफ्ना वकिल जुलियानीसँग काम गर्न युक्रेनी राष्ट्रपतिलाई आठ पटक भनेको तर त्यसबापत केही दिने प्रस्ताव नगरेको उल्लेख गरेको छ।

डेमक्र्याटहरूले यदि ट्रम्पले जेलेन्स्कीलाई बाइडनमाथि छानबिन गर्न आग्रह गरेको हो भने त्यो सन् २०२० को निर्वाचनमा विदेशी हस्तक्षेपको निम्ति प्रोत्साहनसरह भएको बताएका छन्।

ट्रम्पले राष्ट्रसङ्घीय महासभामा अन्य कैयौँ विदेशी नेताहरूका साथै युक्रेनी समकक्षीसँग पनि बुधवार भेट्दैछन्। सन् २०१४ मा हन्टर बाइडनले युक्रेनमा काम गरिरहेको कम्पनीमा काम थाल्दा अमेरिकी उपराष्ट्रपति रहेका उनका बुवाका निम्ति सम्भावित स्वार्थ बाझ्ने विषयमा प्रश्नहरू उठाइएको थियो।

रुसको समर्थन प्राप्त राष्ट्रपति हटाइएपछि युक्रेन राजनीतिक सङ्क्रमणमा थियो र बाइडनले पटकपटक त्यहाँको भ्रमण गरेका थिए। सन् २०१६ मा जो बाइडनले युक्रेनी सरकारलाई त्यहाँका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न दबाव दिएका थिए। ती अभियोजनकार्ताको कार्यालयले बाइडनका छोरा संलग्न कम्पनीमाथि छानबिन गरिरहेको थियो।

गत वर्ष एउटा थिङ्क ट्याङ्कमा दिएको भाषणमा बाइडनले अभियोजनकर्तालाई निकाल्न अर्बौँ डलरको जमानत रोक्का गर्ने चेतावनी दिएको बताएका थिए। उनले भनेका थिए, ‘मैले उनीहरूलाई हेरेँ र भनेँ – छ घण्टामा म फर्किँदैछु। यदि अभियोजनकर्तालाई बर्खास्त गरिएन भने तपाईँहरूले पैसा पाउनु हुने छैन।’

भ्रष्टाचारविरोधी प्रयासमा बाधकको बनेको ठानेर कैयौँ पश्चिमा सरकारहरू र ठूलो लगानीकर्ता युक्रेन सरकार पनि ती अभियोजनकर्तालाई हटाउन चाहन्थे। तर ट्रम्प र उनका सहयोगीहरू बाइडनले छोरालाई जोगाउन त्यस्तो कदम चालेको आरोप लगाउँछन्।

यो वर्षको मे महिनामा युक्रेनका तत्कालीन प्रमुख अभियोजनकर्ताले जो र हन्टर बाइडनले अनुचित काम गरेको प्रमाण नभएको बताएका थिए। जो बाइडनले आफूले कहिल्यै पनि छोरासँग उनको व्यापारबारे कुरा नगरेको बताएका छन्।

ट्रम्पमाथि गलत काम गरेको आरोपमा महाभियोग लगाउने प्रयास गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा डेमक्र्याटहरूमा एकमत छैन। तर यो प्रकरणका कारण केही वरिष्ठ डेमक्र्याट नेताहरूलाई त्यसो गर्न बाध्य बनाउने देखिएको छ।

तल्लो सदनको एउटा समितिका अध्यक्ष एडम शिफले महाभियोग एक मात्र उपचार हुन सक्ने बताएका छन्। यसअघि उनले राष्ट्रपतिलाई हटाउने प्रयास गरेका डेमक्र्याटिक पार्टीका विभिन्न तहका नेताहरूको दबावको खेपेका थिए।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यदि सुराकीको उजुरी कंग्रेसलाई नदिइएमा ट्रम्प प्रशासन कानुनविहीनताको गम्भीर नयाँ अध्यायमा प्रवेश गर्ने र त्यसले आफूहरूलाई अनुसन्धानको पूरा नयाँ चरणमा लग्ने बताएकी छन्।

शिफजस्तै उनले पनि महाभियोगको माग थेग्दै आएकी थिइन्। पत्रकारहरूले सोमवार ट्रम्पलाई महाभियोगको चेतावनीलाई उनले कतिको गम्भीरतापूर्वक लिइरहेका छन् भनेर सोधेका थिए। राष्ट्रपति ट्रम्पको जवाफ थियो, ‘बिल्कुल लिएको छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *