जलवायु परिवर्तनः पृथ्वी गम्भीर खतरामा

डिसी नेपाल
९ असोज २०७६ १२:२४

बीबीसी । विश्वभरका एक सयभन्दा धेरै वैज्ञानिकहरूले गरेको अनुसन्धानले पहिले ठानिएभन्दा तीव्र गतिले समुद्रको सतह बढिरहेको देखाएको छ।

ग्रिनल्यान्ड तथा अन्टार्टिकाका बरफ अभूतपूर्व गतिले पग्लिरहेकोले यस्तो भएको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको अनुसन्धान प्रतिवेदनले बाढी तथा आँधीबेहरीका घटनाहरूको सङ्ख्या अझै बढ्ने देखाएको छ।

उक्त अनुसन्धानले यो शताब्दीको अन्तसम्ममा दशौँ करोड मानिस आफ्ना थातथलोबाट विस्थापित हुनसक्ने चेतावनी दिएको छ। वैज्ञानिकहरूले राजनीतिज्ञहरूलाई जलवायु परिवर्तनका अत्यन्त खराब असरहरूबाट जोगिन कार्बन उत्सर्जनको परिमाण एकदम छिटो घटाउनेतर्फ लाग्न आग्रह गरेका छन्।

त्यो प्रयास गर्न समेत समय घर्कँदै गएको उनीहरूले बताएका छन्। राष्ट्रसङ्घका वैज्ञानिकहरूका अनुसार समुद्री सतह बढ्दो छ भने बरफ समेत पग्लिरहेको छ।

विभिन्न प्रजातीका जीवजन्तु मानवीय क्रियाकलापका कारण वासस्थान परिवर्तन गर्न बाध्य भइरहेको समेत उनीहरूले बताएका छन्। सधैँ जमेर रहने चिसो भूभागको क्षयीकरण भइरहेको र त्यसले कार्बन उत्सर्जनको वेगलाई अझ तीव्र पार्ने प्रतिवेदनमा उल्लेख छ।

तर निकै ठोस परिणाम देखिनेगरी तत्काल कार्बन उत्सर्जन घटाउने हो भने अझै पनि जलवायु परिवर्तनका अत्यन्त खराब असरहरूबाट जोगिन सक्ने झिनो आशा रहेको वैज्ञानिकहरू ठान्छन्।

उक्त प्यानलले बितेको १२ महिनामा प्रकाशित गरेको यो तेस्रो प्रतिवेदन हो। उसले शृङ्खलावद्ध रूपमा विशेष प्रतिवेदन प्रकाशन गरिरहेको छ। वैज्ञानिकहरूले यसअघि यो शताब्दीको अन्त्यसम्ममा औसत तापमान डेढ डिग्री सेल्सियसले बढेमा त्योसँग संसारले कसरी जुझ्न सक्छ भन्नेबारे अध्ययन गरेका थिए।

उनीहरूले जलवायु परिवर्तनले पृथ्वीका भूभागमा पर्ने असरको पनि अध्ययन गरेका थिए। तर यो नयाँ अध्ययनले चाहिँ बढ्दो तापमानको समुद्र तथा सधै पानी जमेर रहने भूभागमा पर्ने असरको अध्ययन गरेको छ।

पृथ्वीमा रहेको जलको औसत तापक्रम बढिरहेको सबैभन्दा चिन्ताजनक तस्बिर पनि यही अध्ययनले प्रस्तुत गरेको छ। एकजना अनुसन्धानकर्ताका अनुसार यो प्रतिवेदनमा विभिन्न क्षेत्रबाट प्रहार सहिरहेको पृथ्वी ग्रह गम्भीर खतरामा परेको देखाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *