पुस्तक अंश : इतिहासमा नलेखिएका केही कुरा – Dcnepal

पुस्तक अंश : इतिहासमा नलेखिएका केही कुरा

सुन्दा धेरैलाई अचम्म लाग्ला जङ्गबहादुर नेपालको शक्तिशाली प्रधानमन्त्री हुनुमा उनको अदम्य साहसले भन्दा बढी उनका बाजे रामकृष्ण कुँवरले पशुपतिनाथबाट पाएको आशीर्वादले मुख्य काम गरेको छ।

पृथ्वीनारायण शाहका विश्वासिला भारदारहरू मध्ये एक थिए, सरदार रामकृष्ण। पूर्व विजय गर्ने क्रममा किरातीहरूसँग लडाइँ गर्दा उनीहरूले हानेको बाण लागेर यिनको एउटा आँखो फुटेको थियो। त्यसअघिका लडाइँमा पनि उनको संलग्नता देखिन्छ। काठमाडौँ रहँदाका बखत उनी नित्य पशुपतिनाथको दर्शन गर्दा रहेछन्।

जीवनको उत्तरार्धकालमा पृथ्वीनारायण शाहले आफ्ना विश्वासिला सबै भारदारहरुलाई उनीहरुको मागअनुसारको बिर्ता या घर दिएका रहेछन्। त्यसक्रममा एक दिन उनले आफ्नो अङ्गरक्षक समेत रहेका रामकृष्ण कुँवरसँग भनेछन्, “सबैले आफूलाई इच्छा लागेको कुरा मागे। तर तिमीले मसँग कहिल्यै केही माग गरेनौ। म जीवित छँदै केही मागिहाल।”

“महाराज, मलाई धन सम्पत्ति, जग्गा बिर्ता केही माग्ने इच्छा छैन।” उनले विनम्रताका साथ भनेछन्, “तर पशुपतिनाथ मन्दिरदेखि गुह्येश्वरी माताको मन्दिरसम्मको बाटोमा ढुङ्गा छाप्न मन लागेको छ। त्यो जिम्मेवारी पाए धन्य हुने थिएँ महाराज।”

आफूले पटकपटक सोचेको तर कहिल्यै पूरा गर्न नपाएको काम पूरा गर्ने अधिकार मागेको देखेर पृथ्वीनारायण शाह आफैँ पनि छक्क परेछन्। आवश्यक खर्चवर्चसहित रामकृष्णलाई त्यो जिम्मेवारी दिएर नुवाकोटबाट पठाएछन्।

पृथ्वीनारायण शाहको देहान्तपछि रामकृष्ण कुँवर ढुक्कै काठमाडौँ बस्न थाले। त्यस व्रmममा उनी नित्य पशुपतिनाथको दर्शन गर्न जाँदा रहेछन्। त्यस क्रममा उनी हरेक दिन एउटै गुनासो गर्दा रहेछन्, “लडाईँमा मेरो आँखा गुम्यो तर पृथ्वीनारायण शाहका सन्तान राजा भए, आखिर मैले के पाएँ त?”

एक दिन पशुपतिनाथले सपनामा आएर भनेछन्, “तिमी यो ठाउँमा जानू, त्यहाँ अधिकारी थर भएका यो नामका ब्राह्मण भेटिन्छन्। उनको आसन एक हात माथि उठेको हुन्छ। तिमीले उनैसँग दीक्षा लिनू र उनले लाए अह्राएको काम गर्नू।”

तर रामकृष्णले सपनाको कुरामा वास्तै गरेनछन्। सायद सपना देखेको एकदुई दिनमा बिर्सिए पनि होलान्। तर पशुपतिनाथमा नित्य दर्शन गर्न जाँदा गुनासो गर्न चाहीँ छाडेनछन्।

पहिलो सपना देखेको ठीक छ महिनापछि फेरि त्यही सपना दोहोरिएछ। त्यसपछि पनि मामुली सपना ठानेर विश्वास गरेनछन्। त्यसको तीन महिनापछि फेरि त्यही सपना देखेछन्। त्यसपटक पनि एउटै सपना पटकपटक किन दोहोरिइराख्या छ भन्ने सोच्दै फेरि सुतेछन्।

तर निदाउनुअघि तन्द्रामा पुगेका बेला शिवजीले आएर भनेछन्, “उठ् पाजी, सुरूमा तँलाई दिन खोजेको थिएँ, लिइनस्। त्यसपछि तेरा छोरालाई दिन खोजेँ त्यो पनि लिइनस्। अब तेरो इच्छा नातिका पालामा गएर मात्रै पूरा हुन्छ। खुरुक्क गएर मैले अघि सपनामा भनेका मान्छेलाई गएर भेट।”

त्यसपछि उनी शौचादि नित्यकर्म सकेर हतारहतार पशुपतिनाथ हुँदै गुह्येश्वरीतिर गएछन्। जाँदै गर्दा माथि डाँडामा पुग्ने बेलामा एक जना अधिकारी ब्राह्मण जमिनभन्दा एक हात माथिको उचो आसनमा बसेर साधना गर्दै रहेछन्।

उनलाई पनि सपनामा “भोलि तिमीलाई भेट्न फलानो आउँछ, दीक्षासहित तिमीले उसलाई वाला र त्रिपुरा नामका यन्त्र दिनू। यिनको आयु सय-सय वर्ष हुन्छ। पहिलो सय वर्ष एउटा यन्त्र र त्यसको आयु सकिएपछि अर्को यन्त्र पुज्न भन्नू। उसलाई यन्त्र पुज्ने तरिका पनि सिकाइदिनू।” भनिएको रहेछ।

ती ब्राह्मणलाई देखेपछि रामकृष्णले दण्डवत गरे। अनि सामुन्नेमा बसेर उनीबाट दीक्षा पनि लिए। ती अधिकारी ब्राह्मणले दुवै यन्त्र दिन लाग्दा रामकृष्णले भनेछन्, “हजुरले मलाई एउटा मात्रै यन्त्र दिनुहोस् गुरू। सय वर्षपछि मेरा सन्तानहरू मध्ये कसैले आएर अर्को यन्त्र लिएर जाने छन्।” ती ब्राह्मणले रामकृष्णको इच्छाअनुसार त्रिपुर यन्त्र दिए र वाल नामको यन्त्र आफूसँग राखे।

त्यहाँबाट फर्केपछि रामकृष्णले ती गुरूले भनेअनुसार त्रिपुर यन्त्रको नित्य पूजा गर्दै रहे। त्यही समयमा उनका छोरा बालनरसिंह कुँवर राजा रणबहादुर शाहका अङ्गरक्षक पनि भए।

पछि आर्थिक अपचलनको विषयमा विवाद हुँदा रणबहादुर शाहमाथि हतियार प्रहार गर्ने उनकै भाइ शेरबहादुर शाहीमाथि तरबार प्रहार गरी ठाउँको ठाउँ ठहरै पार्ने व्यक्ति पनि उनै बालनरसिंह कुवर थिए।

रणबहादुर शाह मारिएको काजी त्रिभुवन प्रधानको त्यो घरलाई भत्काएर पछि भीमसेन थापाले रणमुक्तेश्वर मन्दिर बनाए। वि.सं. १९०३ मा जङ्गबहादुर शासनसत्तामा आएपछि बाजे र बाबुले पुज्दै आएको त्यही त्रिपुर यन्त्रलाई चीरस्थायी बनाउन त्यो ठाउँको नाम त्रिपुरेश्वर राखे भन्ने सुनेको हुँ।

मैले सुनेअनुसार ती सिद्धका सन्तानमध्ये एकजना गणेशदत्त अधिकारीलाई जङ्गबहादुरले राजगुरूको पद दिएर पुज्दै आए। उनको पुख्यौली थलो भक्तपुरको कटुञ्जे हो। कटुञ्जेबाट थापाथली दरबार धाउन मुस्किल हुन थालेपछि जङ्गबहादुरले उनलाई वटुको गुच्चाटोलमा बसोबास गर्ने व्यवस्था मिलाइदिए। वि.सं. १९२१ पौषमा जन्मिएका उनका छोरा दुर्गानाथ अधिकारी पनि प्रकाण्ड विद्वान् एवम् तन्त्रसाधकका रुपमा चिनिएका थिए।

उनीहरूको कुलगुरू पद र जिम्मेवारी मोहन समसेरका पालासम्म निरन्तर कायम रह्यो। प्रधानमन्त्रीको कुलको गुरm भएकाले उनीहरm आर्थिक रुपमा सम्पन्न पनि भए। तर वाला यन्त्र साथमा भएका अर्का भाइका सन्तानहरm भने तिनका दाँजोमा आर्थिक रुपमा कमजोर हुने नै भए। तिनको बसोबासो भक्तपुरको कटुञ्जेमै थियो।

सय वर्ष पुगेपछि त्यो यन्त्र रामकृष्ण कुँवरका सन्तानलाई जिम्मा लगाउनु पर्छ भनेर बाजे वा बाबुले तिनलाई भनेका रहेछन्। त्यसै कारण उनले २००२ सालतिर त्यो यन्त्र जिम्मा लगाउन सम्पूर्ण व्यहोरा खुलाएर मोहन समसेरलाई पत्राचार गरे।

त्यसपछि मोहन समसेरले त्यो पत्र आफूले पुज्दै आएका तिनै खलकका आफ्ना कुलगुरूलाई देखाएर “तिम्रो दाजुभाइले यसो भनेर बिन्तीपत्र हालेको छ, खास के हो?” आफूहरूले पाइआएको अवसर र खाइआएको सुविधा खोसिने डरले तिनले भनेछन्, “होइन महाराज, त्यो सब मिथ्या हो। त्यो यन्त्रका बारेमा हजुरबुबाले मलाई र मेरा पिताजीलाई केही भन्नुभएको थाहा छैन। सरकारबाट केही पाउँछु कि भन्ने लोभले उसले त्यसो गरेको हुनुपर्छ।”

त्यसपछि त्यो वाल यन्त्र साथमा हुनेलाई मोहन समसेरका दरबारमा बोलावट भयो। उनले “महाराजहरmले बाजेका पालादेखि पुज्दै आउनुभएको त्रिपुर यन्त्रले १९०३ सालदेखि काम गर्दै आएको हो। अब त्यसको आयु सकियो” मात्रै के भनेका थिए, “लोभी बाहुन! झुट्टा कुरा गर्छौ?” भनेर मोहन समसेरले हप्काइ हाले। त्यसपछि उनी “माफ पाऊँ सरकार” भन्दै बाहिर निस्के अनि त्यो यन्त्र साथैमा लिएर कतै हिँडिदिए।

त्यो घटना भएको भोलिपल्टैदेखि पशुपतिका बाँदरले परेवाहरू मारिदिने, दर्शनका लागि जाने भक्तजनलाई झम्टिनेलगायतका उपद्रव मच्चाउन थाले। कीर्तिपुरको बाघभैरव मन्दिरमा पनि ठूलै घटना भयो। दोलखा भीमसेनमा पसिना आयो।

प्रधानमन्त्री मोहन समसेरको गद्दी हल्लिन सुरू भयो। अनेकखाले उपद्रव हुन थालेपछि मोहन समसेरका मनमा पनि चिसो पस्यो। उनले आफैँले अपमान गरेर पठाएका ती ब्राह्मणको खोजी गर्न उनको मूलथलो भक्तपुर कटुन्जेतिर मान्छे खटाए। तर उनी कतै फेला परेनन्। घर खानतलासी गर्दा यन्त्र पनि फेला परेन।

राणाकाल सकिएपछि मृगेन्द्र समसेरले पनि ती मानिसको खोजीमा अथक मिहिनेत गरे तर ती मानिस त्यो यन्त्र बोकेर सधैँका लागि बेपत्ता भए।
वेपत्ता हुनेका अरु दाजुभाइहरु चाहिँ निकै पछिसम्म पनि नक्साल भगवतीबहाल छेउछाउतिर बसोबास गर्थे। अहिले कता बस्छन् थाहा छैन।

०००

राजा महेन्द्रले २०२१ सालमा भूमिसुधार ऐन लगाउनुअघिसम्म पनि पूर्वको पहाडी इलाका ठेक्का थितिको मुलुक थियो। त्यस बेला पनि “हामीले सेन राजाहरूका पालादेखि भोगिआएको, तिम्रा बाजेहरुले पनि त्यही लिखत सदर गरिदिएका थिए, कसरी हरण गर्न पाउँछौ ?” भनेर किरातीहरूले ठूलो विद्रोह उठाएका थिए।

त्यसपछि राजा महेन्द्रले जनस्तरमा राम्रो प्रभाव भएका केही लिम्बूहरूलाई हातमा लिएर उनीहरूले कमाइआएको जग्गा उनीहरूकै शाखा सन्तानका नाममा रैकर दर्ता गरिदिएर ठेक्का थितिको प्रथालाई अन्त्य गरिदिएका थिए।

सेन राजाहरूका पालामा पूर्वका पहाडी भूभागहरू किरातीहरूका किपट थिए। ठाउँपिच्छे अलगअलग किपटवाला हुन्थे। जस्तो, धनकुटाको चौविसे नजिकै रहेको लाप्चेटारदेखि इलामको गोदक, फिक्कल, श्रीअन्तु हुँदै दार्जिलिङसम्मको इलाका लेप्चाहरूको मातहतमा थियो।

बहादुर शाहको पालामा गोर्खाली सेनाले यो इलाका विजय गर्दा लेप्चा राजालाई फिक्कल, श्रीअन्तु कतैतिरबाट खेद्दै लगेर दार्जिलिङ नजिकै रहेको कुनै भीरमा पुर्‍याएर मारेको इतिहास पाइन्छ।

राणाकालको अन्त्यतिर दशैंका बेला कोसेली बोकेर लेप्चा मुखियाहरूका घरमा टीका लगाउन जान्थ्यौँ भन्ने क्षेत्रीहरू पनि मैले भेटेको छु। यो कुरा सुनाउनेमध्येका बस्नेत थरका एकजना अहिले पनि सुरुङ्गा बजारतिर होलान्।

उनीहरूले भनेअनुसार त्यो बेला उनीहरू लेप्चा मुखियाहरूको सोह्रआनीमा बसेका थिए। लेप्चाहरूले आफ्नो इलाकमा बस्न दिएवापत् रैतीहरूबाट १६ आना लिन्थे। त्यसमध्येबाट सरकारलाई ६ आना बुझाएर १० आना आफूसँगै राख्थे। अहिलेका भोजपुर, संखुवासभा, तेह्रथुम, पान्थर, ताप्लेजुङ लगायतका जिल्लामा पनि त्यही चलन थियो।

इतिहासका कुरा सुन्दा अरूण पूर्वका पहाडी इलाकाका किरातीहरुले गरेको विद्रोह दमन गर्न बहादुर शाहका सेनाले महिनौंसम्म लडाइँ गर्नुपरेको थियो। कयौं बहादुर किराती सैनिकहरू मारिए।

कतिपय किरातीहरू भागेर सुखिमतिर गए। तर हार स्वीकार गरेनन्। गौंडा, थुम आदिको सुरक्षार्थ बसेका गोर्खाली सैनिकहरूमाथि पटकपटक आक्रमण गरिरहे। भागेर गएका किरातीहरूलाई सुखिमले सघाएकै निहुँमा गोर्खालीले दार्जिलिङतिरबाट सुखिममाथि आक्रमण पनि गरी केही इलाका कब्जा पनि गरे। मेरो अनुमानमा इलाम फिक्कलतिर भएका लेप्चा राजालाई गोर्खालीले त्यही बेला लखेटेका हुन्।

अहिलेको सिक्किममा लेप्चाहरू प्रशस्तै छन् भन्ने सुनेको छु। तिनीहरू आफ्नो राजा मारिएसँगै भागेर गएका पनि हुनसक्छन् अथवा इलाम, दार्जिलिङतिरजस्तै पहिल्यैदेखि त्यहाँ बसोबास गरिआएकाहरू पनि हुनसक्छन्।

रणबहादुर शाहका पालामा आएर गोर्खालीहरूले “सेन राजाका पालादेखि भोगचलान गर्दै आएको किपटको हक अधिकार यथावत् थामिदिएका छौँ, हामी र हाम्रा सन्तानबाट खोसिने छैन” भन्ने लिखित पत्र दिएर किरातीहरूसँग सहमति गरे। त्यसपछि मात्रै त्यहाँको विद्रोह साम्य भएको थियो।

सेनकालकै समयदेखि त्यहाँका किपटवालाहरूले एउटा परिवारसँग पाँच रूपियाँ लिन्थे र “यति जग्गा तिमीले कमाएर खानू” भनेर आफ्नो अधिकार क्षेत्रको जग्गाको सिमाना तोकिदिन्थे। किपटवालाहरू थरि, जिम्मावाल, मुखिया आदि भनिन्थ्यो। खेतवालालाई जिम्मावाल र पाखोबारीवालालाई मुखिया भन्ने चलन थियो।

आफू मातहतको जग्गा ठेक्कामा लगाएर खान पाउने भएकाले अरूण पूर्वका पहाडी भागलाई त्यो बेला ठेक्काथितिको मुलुक भनेर चिनिन्थ्यो। त्यहाँका जग्गा जमिन राजाले कसैलाई बिर्ता दिन समेत पाउँदैनथे।

जग्गा ठेक्कामा लिएवापत् जग्गा कमाउनेले जग्गाधनीलाई वार्षिक १६ आनी बुझाउनु पथ्र्यो। बाह्मण, क्षेत्रीसहितका अन्य जातजातिका मानिसहरूले पनि दशैंमा कोसेली बोकेर ती मुखिया या जिम्वालकहाँ जानु पथ्र्यो। किपटवालाले पाँच रूपियाँ फिर्ता गरेका दिन जग्गा कमाउनेले छाडेर हिँड्नु पर्दथ्यो। जति वर्षदेखि भोगचलान गर्दै आएको भए पनि उसको हकदावी लाग्दैनथ्यो।

पछिपछि उदार हृदय भएका केही किरातीहरूले आफूहरूमा रहेको त्यो अधिकार आफूले मनले खाएका ब्राह्मण, क्षत्रीहरूलाई पनि दिएको देखिन्छ। कानुनी रुपमा उनीहरूलाई त्यो अधिकार दिइएको थियो। हामी पनि आफ्नो क्षेत्रका मुखिया खलक नै हौँ।

वि.सं. १९५० मा पूर्वका पहाडी इलाकाको जग्गा नाप गर्ने गरी जाँचकी सुब्बा वेदनिधि रेग्मीको नेतृत्वमा डिट्ठा गजुरमान राई समेतको टोली खटियो। त्यसलाई त्यो बेला ‘महाजाँच’ भनिन्थ्यो। जग्गाको नापजाँच गर्ने क्रममा वेदनिधिले चलाखी गरेर किपटवाला जग्गामा बसेकाहरूको घरधुरी लिखतमा देखाइदिए।

त्यो भएपछि किपटवालाले जग्गा बन्धकमा दिएवापत् रैतीबाट लिएको पाँच रूपियाँ फिर्ता दिनसाथ ती रैतीले उठेर अन्यत्र जानुपर्ने बाध्यता हट्यो। त्यो महाजाँचको काम सकिएपछि चन्द्र समसेरले “जसले सय मुरी खेत सरकारका नाममा रैकर दर्ता गरिदिन्छ, उसलाई स्वतः सुब्बा पद दिने र ठिँगुरो मुङ्ग्रो राख्न पाउने अधिकार दिने घोषणा गरिदिए।

त्यो घोषणापछि केही किपटवालाहरूले सुब्बा पदकै लागि पनि जग्गा रैकरमा दर्ता गरे। सुब्बा पदसँगै उनीहरूलाई ठिँगुरो र मुङ्ग्रो राख्ने अधिकार पनि दिइयो। जग्गा कमाएवापत् कुत नबुझाउने, सामाजिक मर्यादा उलङ्घन गर्नेहरूलाई उनीहरूले ठिँगुरोमा खुट्टा हालेर कज्याउने, मुङ्ग्राले ठटाउने गर्थे।

त्यो महाजाँच टोलीका जाँचकी सुब्बा वेदनिधि रेग्मी भनेका चाहिँ झापा चन्द्रगढी घर भएका अहिलेका चर्चित साहित्यकार चूडामणि रेग्मीका बाजे हुन्।

(अजम्बरीले पब्लिकेशसनले हालै बजारमा ल्याएको पुस्तक रैतीको इतिहासबाट)

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो