राष्ट्रपति चयनका लागि अफगानिस्तानमा कडा सुरक्षाबीच मतदान

डिसी नेपाल
११ असोज २०७६ १२:४०

बीबीसी । कडा सुरक्षा व्यवस्थाबीच अफगानिस्तानमा नयाँ राष्ट्रपति चयन गर्न मतदान गर्ने क्रम जारी छ।

मतदान केन्द्रलाई लक्षित गरी आक्रमण गर्ने तालिबान विद्रोहीहरूले धम्की दिएका कारण हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ। दुई पटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समय देखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि आयोजना गरिएको हो।

अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ गनी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह प्रमुख दाबेदार मानिएका छन्। उनीहरू सन् २०१४ देखि सत्तामा छन्। स्वतन्त्र निर्वाचन आयोगका प्रवक्ता जाबी साडातले समाचार संस्था एएफपीलाई बताए अनुसार मतदान गर्ने क्रम देशै भरी सुरु भएको छ र मतदान केन्द्रहरूमा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको छ।

चार दशक लामो युद्धको मारमा परेको मुलुकलाई निर्वाचित हुने राष्ट्रपतिले नेतृत्व गर्ने छन्। अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गरेको दुई दशकदेखि अमेरिकाले तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ।

हाल १४ हजार अमेरिकी सेना अफगानिस्तानमा तैनाथ छन्। ब्रिटेन, जर्मनी र इटली जस्ता मुलुकबाट समेत त्यहाँ हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ। उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले अफगानिस्तानका सैन्य फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्।

सन् २००१ मा अमेरिकाले तालेबानको सत्ताच्यूत गरे पछिको यो चौथो निर्वाचन हो र निर्वाचित हुने उम्मेदवारले देशको इतिहामा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ। तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन।

अमेरिकासँग सहमति भएपछि मात्रै सरकारसँग वार्ता गर्ने तालिबान विद्रोही समूहले बताएको छ। त्यस कारण पनि सत्ताको बागडोर कसको हातमा जान्छ भन्ने विषय अमेरिकाका लागि त्यति ठुलो चासोको विषय नहुन सक्छ।

तर सेना र तालिबान विद्रोहीबीचको सङ्घर्षको चपेटामा परेका सर्वसारधारणलाई भने यो महत्वपूर्ण विषय हो। पाँच वर्ष अघि सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा मतको हेरफेर भएको आरोप लगाइएको थियो। निर्वाचनको नतिजा आउन महिनौँ लागेको थियो।

दुई प्रमुख दाबेदारबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति अमेरिकाको मध्यस्थतामा सम्पन्न भएको थियो। यसपालि पनि अवस्था फरक होला भन्ने आशा गरिएको छैन।

तीन करोड ७० लाख जनसङ्ख्या रहेको अफगानिस्तानमा एक करोड भन्दा कम मतदान गर्ने योग्य छन्। त्यसमा पनि मत खसाल्न सबै आउने अवस्था नरहेको जनाइएको छ।

ट्रान्सपेरेन्ट इलेक्सन फाउन्डेसन अफ अफगानिस्तानले गरेको सर्वेक्षणका अनुसार सहभागीमध्ये आधा मानिसहरूले मत खसाल्न नजाने बताएका थिए। त्यसको आंशिक कारण मतदान स्थलमा आक्रमण गर्ने तालेबान विद्रोही समूहको धम्की रहेको बताइएको छ।

पूर्व विद्रोही कमान्डर देखि पूर्व गुप्तचर निकाएका अधिकारीहरू समेत १८ जना निर्वाचनमा होमिएका थिए। त्यस मध्य पाँच जना उक्त दौडबाट बाहिरिएका छन्।

राष्ट्रपति पदका लागि महिलाहरू चुनावी दौडमा सामेल छैनन्। अन्य पदमा पनि तीन जना महिलाले मात्र दावेदारी प्रस्तुत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *