चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

डिसी नेपाल
११ असोज २०७६ १३:०२

संयुक्त राष्ट्रसंघ । चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।

उनले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकामा रहेका विदेशमन्त्री वाङलाई रोयटर्स् समाचार समितिले गरेको प्रश्नको जवाफमा सो धारणा राखेका हुन् ।

उनले भने– चीन यस्ता आधारहीन आलोचना स्वीकार गर्दैन । रोयटर्स्लाई दिएको अन्तर्वार्तामा गएको तीन वर्षयता सिनजियाङमा कुनै हिंसात्मक हमला नभएको पनि दाबी गरे ।

त्यहाँ आतङ्कवादका विरुद्धमा आवश्यक सुरक्षा व्यवस्था अपनाइएकोले यस्तो कुनै हिंसात्मक गतिविधि हुन पाएको छैन– उनले भने ।

उइगुर मात्र नभएर सो क्षेत्रमा रहेका विविध जातीय समूह र व्यक्तिहरुले पनि शान्तिपूर्ण रुपमा प्रतिफल लिइरहेका भन्दै विना आधार कसैलाई पनि आरोप नलगाउन सबैलाई आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *