राष्ट्रसंघको महासभामा भारत–पाकिस्तान आमने–सामने

डिसी नेपाल
११ असोज २०७६ १७:१७

न्यूयोर्क (एजेन्सी) । भारत र पाकिस्तानका प्रधानमन्त्रीहरुले शुक्रबार सँयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई सम्बोधन गरे । यी दुई मुलुकका प्रधानमन्त्रीले राष्ट्रसंघमा के बोल्छन् भन्ने विषयमा भारत र पाकिस्तानमा मात्र चासो थिएन, विश्वभरका चासो थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानभन्दा पहिला बोल्ने मौका पाए । उनले करिब १७ मिनेटमात्र सम्बोधन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनका क्रममा एक पटक पनि पाकिस्तानको नाम लिएनन् । तर, संकेत भने गरे । उता मोदीपछि सम्बोधन गरेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले करिब ५० मिनेट लामो मनतव्य राखे । उनले भने जम्मू कश्मीर मामिलामा भारतलाई घेरे ।

भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा आफ्नो मुलुकले शान्ति चाहेको भन्दै आतंकवाद विरुद्ध विश्वले लड्नुपर्ने बताए । उनले आतंकवाद नै विकासको बाधक रहेको भन्दै त्यसको समाप्ती हुनुपर्नेमा जोड दिए । साथै उनले भारतमा आफ्नो सरकारले गरेका कामको लामो सूची सुनाए । उनले जलवायु परिवर्तन र त्यसका असरले परेको समस्याबारे पनि बोले । उनले भारतले विश्वलाई ‘युद्ध होइन बुद्ध’ दिएको भन्दै शान्तीको सन्देश दिने प्रयास गरे ।

मोदीको ठिक विपरित पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने जम्मू कश्मीरको वर्तमान अवस्थाबारे भारतको आलोचना गरे । उनले जम्मू कश्मीरका ८० लाख मानिसहरु जेलमा बसिरहेको भन्दै त्यसका लागि भारत सरकार जिम्मेवार रहेको बताए । उनले भारतसँग शान्ति वार्ताको प्रयास गर्दा पनि भारतले नमानेको भन्दै भारतले कश्मीरीमाथि अत्याचार गरेको बताए । उनले विश्वभरका मुस्लिममाथि अन्याय भएको भन्दै आतंकवादी मुस्लिममात्र हुन्छन् भन्ने गलत मानिसकता त्याग्नुपर्ने बताए । उनले आतंकवादीको कुनै धर्म नहुने बताए । उनले सेप्टेम्बर ११ को आक्रमणपछि विश्वर ‘इस्लामोफोबिया’ भएको भन्दै त्यसले कसैको हित नगर्ने बताए ।

साथै भारत प्रशासित जम्मू कश्मीरको विशेषाधिकार खारेज गर्दा पनि विश्वजगतले भारतबारे केही नभनेको भन्दै असन्तुष्टि पोखे । उनले भारत ठूलो बजार भएकाले विश्वजगत चुप लागेको भन्दै व्यंग्यसमेत गरे । उनले भारत र पाकिस्तानबीच युद्ध हुनसक्ने भन्दै सो युद्धको प्रभाव विश्वर पर्ने चेतावनीसमेत दिए । उनले १९३९ मा यूरोपकै जस्तो अवस्था हाल भारत र पाकिस्तानबीच रहेको भन्दै त्यतिबेला हिटलर हाल भारतीय प्रधानमन्त्री मोदीको संगठन आरएसएसले एउटै काम गरेकोसमेत बताए । उनले पाकिस्तान सानो मुलुक भएको भन्दै युद्धको अवस्थामा पाकिस्तानले आणविक हतियार प्रयोग गर्नुको विकल्प नरहेको र यदि त्यस्तो भयो भने पूरा विश्वको नक्शा परिवर्तन हुने चेतावनीसमेत दिए ।

इमरानले राष्ट्रसंघ जस्तो ठूलो अन्तर्राष्ट्रिय मञ्चमा भारतमाथि विभिन्न आरोप लगाएपछि भारतले पनि त्यसको जवाफ दिएको छ । राष्ट्रसंघका भारतीय राजदूतले पाकिस्तानी आरोपको खण्डन गरेका हुन् । आरोपको खण्डन गर्दा भारतीय राजदूतले पाकिस्तानमा पनि मानवअधिकारको उल्लंघन भएकोसमेत आरोप लगाए । तर, कश्मीरको अवस्था ठिक रहेको भने भन्न सकेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *