राष्ट्र र जनताका अपेक्षा पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
१८ असोज २०७६ २२:२१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र र जनताको अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन्।

नेकपा कास्कीद्वारा विजया दशमीलगायत विभिन्न चाडपर्वको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भई संविधानसमेत कार्यान्वयन भइसकेको बताए।

समृद्ध नेपाल सुखी नेपाली सबैको साझा अभियान भएको बताउँदै उनले संविधानतः निर्दिष्ट गरिएका अधिकारलाई आपसी समन्वयसमेतका आधारमा उपयोग गर्नुपर्नेमा जोड दिए।

नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्जसमेत रहेका उनले सङ्घीयताको मर्मअनुसार अघि बढ्न सके संविधान कार्यान्वयनले पनि सही गति लिनुका साथै राष्ट्र र जनताका आवश्यकतालाई सम्बोधन गरी अघि बढ्नुको विकल्प नभएको बताए।

विजया दशमीलगायतका विभिन्न चाडपर्वले देशमा भ्रष्टाचार निर्मूल भई सुशासनयुक्त समृद्ध राष्ट्र निर्माण गर्न प्रेरणा दिने विश्वास लिइएको उनको भनाइ छ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए।

पार्टी कास्की जिल्ला कमिटीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले विकासका लागि जनप्रतिनिधि र कार्यकर्ता एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *