न्यूयोर्कमा नेपालीले स्थापना गरे एभरेष्ट फेडेरल क्रेडिट युनियन, आजैबाट कारोबार सुरु

डिसी नेपाल
१९ असोज २०७६ १४:३७

अमेरिका। विश्वास र धैर्यता भए सबै कुरा सम्भव हुन्छ भनेर देखाई दिएका छन् एभरेष्ट फेडरल क्रेडिट युनियन (फाइनान्सियल इन्स्टिट्युशन) का लगानी कर्ताहरूले।

पहिलो पटक फाइनान्सको काम गर्ने गरी स्थापना गरिएको एभरेष्ट फेडरल क्रेडिट युनियन अर्थात् सहकारी संस्थाको केन्द्रीय कार्यालय न्यूयोर्कमा रहेको छ।

संसारकै ठूलो र व्यस्त शहर न्यूयोर्कको ज्याक्सन हाइटमा एक भब्य समारोहको आयोजना गरी उद्घाटन गरिएको एभरेष्ट फेडरल क्रेडिट युनियन आजबाट विधिवत् रुपमा संचालनमा आएको हो।

संस्थाका अध्यक्ष डिल्ली भट्ट, समाजसेवी श्री पराजुली, समाजसेबी बनिता कतिला लगायतले रिबन काटेर उद्घाटन कार्यक्रमको संचालन तथा संस्थाको हालसम्मको गतिबिधिका बारेमा अन्जन श्रेष्ठले प्रकाश पारेका थिए।

एभरेष्ट फेडरल क्रेडिट युनियनले हालसम्म व्यहोरेका आरोह अबरोहका बारेमा उद्घाटन कार्यक्रममा उपस्थित महानुभावहरुले प्रकाश पारेका थिए। डिसी नेपालले उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो।

न्यूयोर्क कै व्यस्त शहर ज्याक्सन हाइटमा अवस्थित एभरेष्ट फेडरल क्रेडिट युनियनको कार्यालयमा आज बिहानैबाट उपभोक्ताहरु खाता खोल्न लाइन लागेका थिए।

उद्घाटन कार्यक्रममा सहभागिता जनाउन भर्जिनियाबाट न्यूयोर्क आएका संस्थाका सस्थापक सदस्यहरू परशुराम भण्डारीले तेस्रो नम्बरमा आफ्नो खाता खोल्न सफल भएका थिए भने कबिन्द्र सिटौला चार नम्बरमा रहेका थिए।

न्यूयोर्कमा बसोबास गर्ने अधिकांश महानुभावहरूले खाता खोलेको दृश्यले उपस्थित सबैलाई रोमाञ्चित बनाएको थियो। संस्थाका सि. इ. ओ. (CEO) तथा म्यानेजर सिपिए बिराज रिजालले संस्थामा खाता खोल्दा पाइने सुबिधा र यसको महत्वका बारेमा प्रकाश पारेका थिए।

डिसी नेपालसँगको संक्षिप्त कुराकानीमा सस्थाका अध्यक्ष डिल्ली भट्टले एभरेष्ट फेडरल क्रेडिट युनियनले छिट्टै नै अन्य राज्यमा समेत शाखा कार्यालय खोल्ने बताउदै भर्जिनियालाई भने पहिलो प्राथमिकतामा राखेको बताए। साथै उनले कुनै पनि सदस्यलाई ऋण आवश्यक परेमा अन्य बैंक भन्दा सस्तो दरमा दिन सकिने बताए।

के हो एभरेस्ट फेडरल क्रेडिट युनियन ?
एभरेष्ट फेडरल क्रेडिट युनियन नेपालीहरुद्धारा संचालित सहकारी संस्था हो। यो नेपालीहरुले सुरु गरेको अभियान हो जुन तीन वर्षको अथक प्रयासपछि अमेरिकाको न्यूयोर्कमा फाइनान्सियल इन्स्टिट्युसनको रुपमा स्थापना हुन सफल भएको छ।

अमेरिकामा रहेका नेपालीहरुले भोग्दै आएका आर्थिक समस्यालाई मध्यनजर गर्दै सस्तो दरमा ऋण प्रदान गर्न नेपालीहरुको पनि एउटा आफ्नै फाइनान्सियल इन्स्टिट्युशन हुनपर्छ भन्ने अनुभवलाई आत्मसाथ गर्दै यसको स्थापना गरिएको हो। अरु बैंकसँग लोन माग्दा व्यहोर्नुपर्ने झन्झट नेपाली समुदायले झेल्दै आएका छन् भने यस सहकारी संस्थाले नेपाली समुदायलाई सहजै ऋण प्रदान गर्ने प्रतिबद्धता लिएको छ।

कार्यक्रममा विभिन्न वक्ताहरूले राखेका विचार बुझ्न तल समावेश गरिएको भिडियोबाट जानकारी लिन सकिने छ। सस्थाका बारेमा विस्तृत जानकारी www.everestfcu.org मा गएर हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *