साउदी युवराजसँग पाकिस्तानी प्रधानमन्त्रीको भेटवार्ता

डिसी नेपाल
३० असोज २०७६ ६:४५

साउदी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार साउदी अरबका राजा सल्मान र युवराज मोहम्मद बिन सल्मानसँग भेटवार्ता गरेका छन् ।उनीहरुबीच अरब खाडी क्षेत्रमा उत्पन्न तनाव न्यूनीकरणका बारेमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन्।

खाडी क्षेत्रको भ्रमणका क्रममा साउदी अरब पुगेका पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशको आपसी सम्वन्ध, दुई पक्षीय हित र साझा चासोका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ। साउदी अरबका युवराज र पाकिस्तानी प्रधानमन्त्री खानबीच गहिरो आत्मीय सम्बन्ध रहेको बताउने गरिएको छ ।

साउदी अरबको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उनीहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समसामयीक विषयमा छलफल गरेका छन्। “प्रधानमन्त्री खान छोटो समयका लागि साउदी अरब आएका हुन्, यस अवसरमा उनले साउदी राजा र युवराज दुवै जनालाई भेटवार्ता गरेका छन्,” मन्त्रालयको आधिकारीक ट्वीटर हेण्डलमा लेखिएको छ ।

छलफलको विषयवस्तुका बारेमा प्रष्ट पार्दै मन्त्रालयले उनीहरुका बीचमा पछिल्लो विकसित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटना क्रमका बारेमा छलफल भएको जनाएको छ। साथै उनीहरुले विकसित घटनाक्रमहरुलाई कसरी सम्बोधन गर्ने र कसरी लिने भन्ने उपायहरुका बारेमा पनि कुराकानी गरेको अधिकारीहरुले जनाएका छन्।

प्रधानमन्त्री खान इरानको दुईदिने भ्रमण सकेर साउदी अरब आएका हुन् । खानले यस वर्ष मात्रै योसहित साउदी अरबको भ्रमण तीन पटक गरेका छन्।यसअघि उनले यही वर्षको मे र सेप्टेम्बरमा साउदी अरबको भ्रमण गरेका थिए भने साउदी अरबको तर्फबाट युवराज मोहम्मद बिन सल्मानले फेव्रुअरीमा पाकिस्तानको राजकीय भ्रमण गरेका थिए ।

यस पटक भने उनी अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला खाडी क्षेत्रको भ्रमणमा निस्कनु भएको हो। अमेरिका र साउदी अरबको आग्रहमा खाडी क्षेत्रको तनाव समाधानका लागि पहल गर्न आएका हुन् । खाडी क्षेत्रको शान्ति र सुरक्षा प्रवद्र्धनका लागि सहयोग गर्न उहाँको भ्रमण भएको प्रधानमन्त्री खानको कार्यालयले जानकारी दिएको छ ।

इरान भने उहाँ यही वर्ष दोस्रो पटक जानु भएको हो । गत महिना प्रधानमन्त्री खानले खाडी क्षेत्रको तनाव न्यूनीकरणका लागि मध्यस्थता गरिदिन साउदी अरब र अमेरिकाले आफूलाई आग्रह गरेको बताउनुभएको थियो । गत जुलाईमा बेलायतको सहयोगमा जिब्राल्टरमा ट्याङ्कर नियन्त्रणमा लिएयता अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *