ब्रेक्जिटबारे बेलायत र ईयूबीच नयाँ सहमति

डिसी नेपाल
३० असोज २०७६ २१:२०

लण्डन (एजेन्सी) । संयुक्त अधिराज्य र युरोपेली संघ (ईयू) को वार्ता टोलीबीच ब्रसल्समा हुन लागेको बैठकअघि बेलायत युरोपेली संघबाट अलग हुने बिषयमा सहमति भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले ट्विटमार्फत भनेका छन्, ‘हामीले नयाँ सम्झौता गरका छौँ जसले स्थितिलाई नियन्त्रणमा ल्याएको छ ।’

दुवै पक्षले उक्त ब्रेक्जिट सहमतिको कानूनी भाषाबारे सहमतिको प्रयास गरिरहेका थिए । अहिले भएको भनिएको सहमति बेलायती र युरोपेली दुवै संसद्ले अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसबारे बेलायतको डेमोक्र्याटिक यूनियनिस्ट पार्टी डियूपीले आशंका व्यक्त गरेको छ र त्यसलाई आफूले समर्थन गर्न नसक्ने जनाएको छ । नर्दन आयरिश पार्टीले अहिलेकै अवस्थामा आएका प्रस्तावलाई समर्थन गर्न नसक्ने भन्दै यसअघि विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्रीको घोषणापछि पनि सो दलले उक्त धारणा यथावत रहेको उल्लेख गरेको छ ।

तर युरोपेली आयोगका अध्यक्ष जँ क्लोड युंकरले पछिल्लो सहमतिलाई निष्पक्ष र सन्तुलित भनेका छन् । उनले र जोनसन दुवैले आ–आफ्ना सांसदलाई उक्त सहमतिलाई समर्थन गर्न आह्वान गरेका छन् ।

बेलायतको डेमोक्र्याटिक युनियनिस्ट पार्टी डियूपीले प्रधानमन्त्री बोरिस जोनसनले तयार पारेका नयाँ ब्रेक्जिट सम्झौताको मस्यौदा प्रस्तावलाई अहिलेको अवस्थामा समर्थन गर्न नसक्ने बताएपछि उनले ठूलो धक्का बेहोर्नुपरेको छ । नर्दन आयरल्याण्डमा आधारित उक्त पार्टीको समर्थन ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ३१ अक्टोबरअगावै उनले तयार पारेका ब्रेक्जिट सम्झौता प्रस्तावप्रति संसद्को अनुमोदन हासिल गर्न निकै महत्वपूर्ण ठानिएको छ । डियूपीले ‘युक्तिसंगत’ सम्झौता हासिल गर्न आफूले सरकारसँगको सहकार्य जारी राख्ने बताएको छ ।

बोरिस जोनसन आफ्नो प्रस्तावमा युरोपेली संघको समर्थन हासिल गर्ने महत्वपूर्ण वार्तामा भाग लिन जाँदै गर्दा यो नयाँ घटनाक्रम देखिएको छ । ईयूको तर्फबाट भने ब्रेक्जिट सम्झौताको कानुनी मस्यौदालाई ‘लगभग पूर्ण अवस्थामा रहेको’ भन्ने दृष्टिले लिने गरिने बीबीसीकी युरोप सम्पादक कात्या एडलरले बताएकी छन् । तर बकेलायत सरकारले उक्त दस्तावेजलाई अनुमोदन गर्नै बाँकी छ र नर्दन आयरल्याण्डको विषयमा प्रधानमन्त्री जोनसनले प्रस्तुत गरेका नयाँ योजनाबारेका कतिपय तत्वप्रति डियूपी पार्टी असन्तुष्ट नै छ ।

बिहीवार सार्वजनिक गरिएको एक संयुक्त वक्तव्यमा डियूपीका नेता र उपनेताले भनेका छन्, ‘सरकारसँगको छलफल जारी रहेको छ । तर अहिलेको अवस्थामा भन्सार र स्वीकृतिको प्रावधानलाई लिएर जे कुरा प्रस्ताव गरिएको छ त्यो हामी समर्थन गर्न सक्दैनौँ । साथै भिएटी करका बारेमा पनि स्पष्टता छैन ।’ डियूपी पार्टीले सन् २०१७ मा भएको आमनिर्वाचनयता कन्जरभेटिभ पार्टीको सरकारलाई समर्थन दिँदै आएको छ । विगतमा सत्ताधारी कन्जरभेटिभ पार्टी्भित्रका ब्रेक्जिट पक्षधर सांसदहरूले ब्रेक्जिट सम्झौताप्रति आफूहरूको समर्थन त्यस्तो सहमतिमा डियूपीको समर्थनमा भर पर्ने बताएका थिए ।

बीबीसीका सह–राजनीतिक सम्पादक नोर्मन स्मिथ भन्छन् – डियूपीको निर्णय प्रधानमन्त्री जोनसनको सम्झौताका लागि ठूलो धक्का हो । यसबाट बिहीवार ब्रसल्समा कुनै सहमति हासिल गर्ने प्रधानमन्त्रीको प्रयासलाई प्रभावित तुल्याउन सक्ने त छँदैछ, यसले संसद्मा हुने मतदानमा पनि उनले जितका लागि पर्याप्त मत नपाउन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *