यूएईमा विदेशी लगानीकर्तालाई फकाउँदै उपप्रधानमन्त्री पोखरेल

डिसी नेपाल
४ मंसिर २०७६ ११:४५

दुबई (डिसी नेपाल) । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल हाल सँयुक्त अरब इमिरेट्स (यूएई) मा छन्। दुबई एअर शोमा सहभागी हुन यहाँ आएका उनी विदेशी लगानी कर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका छन्। दुबईमा रहँदा उनले विभिन्न व्यवसायीसँग एउटा कुरा भन्न छुटाएका छैनन् – नेपालमा लगानीको उपयुक्त वातावरण छ।

‘दुबई एअर शो’मा भाग लिन युएई आएका मन्त्री पोखरेलले नेपाली रादूतावास अबुधाबी र नेपाली बिजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा सोमबार साँझ आयोजित ‘नेपालमा व्यावसायिक सम्भावनाहरू’ विषयक गोष्ठीमा लगानीको लागि आग्रह गरे।

विकासका लागि वर्तमान सरकारसँग स्पष्ट भिजन भएको मन्त्री पोखरेलको भनाई थियो। उनले देश विकासका लागि स्पष्ट दृष्टिकोण, कार्यसूची र दिशा भएको सरकार पनि अहिले नेपालमा बनेकाले लगानीको वातावरण बनेको भन्दै विदेशी लगानी कर्तालाई आस्वस्थ पार्ने प्रयास गरे।

उनले व्यावसाय गर्न नेपाल भर्जिन ल्यान्ड रहेको, अन्य देशहरूको तुलनामा आयकर कम्ती रहेको, नेपालको सुरक्षा व्यवस्था सुदृढ रहेकाले नेपालमा लगानी गर्न जोड दिएका  थिए। उनले लगानीको सुरक्षा र नाफाको सुनिश्चितताका लागि प्रष्ट भिजनसहितको सरकारले सबै काम गरिरहेको समेत बताए।

कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, जोर्डन, इराकलगायत विभिन्न मुलुकका व्यवसायीहरू सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *