मुख्यमन्त्री शाहीको उपस्थितिमा चौमासिक समीक्षा

डिसी नेपाल
२६ मंसिर २०७६ २०:५०

जाजरकोट । कर्णाली प्रदेश मातहतमा रहेका सरकारी कार्यालयको बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा चौमासिक समीक्षा गरिएकोे छ । प्रदेश सरकारको बजेट खर्च हुन नसकेको गुनासो जनस्तरबाट आइरहेको बेला मुख्यमन्त्री शाही जाजरकोट आएर चौमासिक समीक्षा, प्रगति विवतरणबारे जानकारी लिनुभएको हो ।

प्रदेश मातहातका कार्यालयको विकास बजेट जनताको जनआकाङ्क्षा अनुसार तीव्र गतिमा परिणाम निस्किने गरी काम गर्नसमेत मुख्यमन्त्रीले निर्देशन दिए । मुख्यमन्त्री शाहीले साना आयोजनाका काम बोलपत्र नगरीकन अगाडि बढाउन र ठूला आयोजनामा मात्र वातावरणीय प्रभाव मूल्याङ्कन गरेर काम गर्नसमेत निर्देशन दिए।

उनले जिल्लामा प्रदेशका कार्यालयमा लेखापाल अभाव टार्न सङ्घीय सरकारको मातहातमा रहेका कार्यालयका लेखापालबाट आर्थिक कारोवार गर्न निर्देशन दिए । मुख्यमन्त्री शाहीले ६ दिनभित्र जिल्लाको प्रगति विवरण पेश गर्नसमेत प्रदेश सरकारका मातहतका कार्यालयलाई आग्रह गरे । प्रदेश सरकारको मातहातमा रहेका कार्यालयमा बजेट अभाव नहुने तर काम तोकिएकै मितिमा गर्नुपर्ने आन्तरिक, मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । सबै कार्यालयमा अख्तियारी दिइसकेकाले काममा तीव्रता दिन उनले आग्रह गरे ।

मुख्यमन्त्री शाहीले आजै जाजरकोटको ५० श्ययाको स्वास्थ्य सेवा कार्यालयको भवन उद्घाटन गरे । जिल्लामा एम्बुलेन्स नभएकाले सोका लागि छिट्टै पहल गर्ने मुख्यमन्त्री शाहीले प्रतिबद्धता व्यक्त गरे।

नेपाली विद्यार्थीले जाजरकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि पठाएका उपहार अर्थात् किताब बोक्ने झोला कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले यहाँका विद्यार्थीलाई हस्तान्तरण गरे। भेरी नगरपालिकाको समन्वयमा मुख्यमन्त्री शाहीले नगरपालिकाभित्रका ४७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ कक्षासम्म अध्ययन गर्ने चार हजार ४५३ विद्यार्थीलाई उक्त उपहार अर्थात् झोला हस्तान्तरण गरेका हुन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *