प्रदेश प्रमुख कलाैनी र मुख्यमन्त्री शाहीबीच भेट, परिषद् बैठक पुस दोस्रो साता

डिसी नेपाल
२९ मंसिर २०७६ १७:३८

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आइतबार भेट भएको छ । आज मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखसँग उनकै कार्यकक्षमा भेट गरेका हुन । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको प्रथम चौमासिक प्रगति अवस्था, समसामयिक गतिविधि र भावी योजनाका विषयमा प्रदेश प्रमुखलाई जानकारी दिए ।

“प्रदेश सरकारले १० वटै जिल्लामा जिल्ला कार्यालय स्थापना गरी काम शुरु गरेको छ,” उनले भने, “नयाँ संरचना निर्माण, जनशक्ति अभाव र भौगोलिक विकटताका कारण अपेक्षित बजेट खर्च हुन सकेको छैन ।” प्रदेश सरकार एक जना कार्यालय प्रमुखले दुई–तीन जिल्ला हेर्नेगरी व्यवस्थापन गर्न र बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने मर्मका साथ अघि बढेको मुख्यमन्त्री शाहीले बताए ।

आफ्ना कामकारवाही अघि बढाउने आवश्यकताबमोजिम कानून बनाइएको बताउँदै उनले अब तिनलाई कार्यान्वयनको चरणमा लैजान सरकार दत्तचित्त भएर लागिपरेको जानकारी गराए । हाल प्रदेश सरकार बसेको संघीय सरकारका भवन गुणस्तरिय नभएका जनाउँदै उनले प्रदेशका नयाँ संरचना निर्माण गर्न जग्गाका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर संघीय सरकारमा पठाइएको तर हालसम्म कुनै जवाफ नआएको बताए।

प्रदेश प्रमुख कलौनीले स्थानीय सरकारलाई प्रदेश सरकारको बजेटबाट जोडे÷नजोडेका बारेमा मुख्यमन्त्रीसँग जानकारी लिएका थिए । जवाफमा मुख्यमन्त्री शाहीले संविधानतः सबै स्थानीय तथा संघीय सरकारसँग समन्वय गरेर अघि बढिएको बताए। उनका अनुसार प्रदेश सरकारको समृद्धि, विकास र सुशासनका विषयमा आगामी पुस १० गते प्रदेश परिषद् बैठक बसाल्ने तय गरिएको छ । त्यसमा परिषद्का सदस्यसहित सबै क्षेत्रका विज्ञ र संघीय सांसद सहभागी गराउने तयारी भइरहेको छ ।

सरकारले आउँदो पुसको अन्तिम साता वा माघको पहिलो सातातिर प्रदेशसभा बैठक आह्वान गर्नेसमेत उनले प्रदेश प्रमुखलाई बताए । सरकार उच्च गतिका साथ काम गर्न थाले पनि विभिन्न कानूनी अल्झन, संरचनागत तथा प्राविधिक समस्याले अपेक्षित बजेट खर्च हुन नसकेर दोस्रो चौमासिकसम्म खर्च ४५ प्रतिशत पु¥याउने उनको दाबी थियो।

कर्णालीमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाँज सञ्चालनदेखि एकल अधिकार बाहेकका कानून निर्माण, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन संघीय सरकारसँग अनुरोध गर्नुपर्ने तर सुनुवाइ नहुने समस्याले प्रदेश सरकारको प्रगति नदेखिएको उनको भनाइ थियो । कर्णालीसहित सुदूरपश्चिमका नागरिकको आकस्मिक उद्धारका लागि सुर्खेतलाई आधार बनाएर नेपाली सेनाका दुई हेलिकप्टर चौबिसै घण्टा तयारी अवस्थामा राख्न पहल गरिएको उनको भनाइ थियो । प्रदेश प्रमुख कलौनीले संघीय सरकारका प्रतिनिधिका हिसाबले कर्णालीको विकास र समृद्धिका लागि आवश्यक पहल गर्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *