स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत

डिसी नेपाल
१७ पुष २०७६ १०:२९

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ।

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित छ जना पुरस्कृत भएका हुन्।

स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु तीन लाखसहित प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्डबलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ।

सोही प्रतियोगितामा पुरुष खो–खो खेलमा कास्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कास्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो।

‘यसपालि, घुमौँ कर्णाली’ नारा भएको लोगोका डिजाइनर सुर्खेत निवासी गणेशप्रसाद आचार्यलाई सरकारले रु ४० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ।

पर्यटनसँग सम्बन्धित छुट्टै लोगो निर्माणका लागि भएको खुला प्रतियोगितामा १३ जनाले भाग लिएका थिए।

‘यसपालि, घुमौँ कर्णाली’सहितको उक्त लोगो कर्णाली सरकारका मुख्यमन्त्री शाहीले भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सार्वजनिक गरे ।

नेपाल पाराओलम्पिक कमिटी सुर्खेतलाई रु २० हजार नगद प्रदान गर्नुका साथै नियमितरुपमा कर्णाली प्रदेशलाई सेवा प्रदान गरेबापत बुद्ध एयरलायन्स सुर्खेतका स्टेशन प्रबन्धक नरबहादुर बस्नेतलाई पनि सम्मान गरेको छ।

‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा सुर्खेतको गढीदेखि कार्यक्रमस्थल बुलबुलेसम्म प्याराग्लाइडिङमा सहयोग गर्ने ‘द बाबु एडभेन्चर्स इन्टरनेश्नल स्कूल प्रालि’का सञ्चालक सानोबाबु सुनुवारको टोली र भ्रमण वर्षमा कर्णालीमा आउने युरोपेली मुलुकसहित छिमेकी देश भारतबाट कर्णाली पुगेका पर्यटकलाई प्रदेश सरकारले सम्मान गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *