सन्त नेताको स्मृतिमा : जव किशुनजीले चुनाव हार्नुभयो…

डिसी नेपाल
१९ पुष २०७६ १०:०४

सियाटल, अमेरिका । मलाई अहिले पनि याद छ, २०४८ सालको आम निर्वाचन पछिको कुरा हो । अत्यन्त विषम स्थितिमा किशुनजीले आफ्नै नेतृत्वमा देशको नयाँ संबिधान जारी गरिसकेपछि नयाँ संबिधानअनुरुपको संसदीय आम निर्वाचन पनि आफ्नै नेतृत्वमा सम्पन्न गर्नुभयो । तर, आश्चर्यको बिषय त के भयो भने त्यति सरल र सफल नेता, देशको प्रधानमन्त्री अनि पार्टीको अध्यक्ष उहाँ आफै नेपाली काँग्रेसको सबभन्दा बलियो ठानिएको काठमाडाैँको क्षेत्र नम्बर एकबाट चुनाव हार्नुभयो ।

त्यसले पार्टीभित्र र बाहिर सबैतिर अचम्मको कोलाहल मच्चायो । काँग्रेसकै एउटा पक्ष उहाँलाई हराउन मज्जाले लागेको कुरा छरप्रष्टै थियो । त्यसपछि स्वयम् गणेशमानजीले किशुनजीलाई हराउन लाग्ने पार्टीका जो कोहीलाई पनि अनुशासनको कारवाही गर्नुपर्छ भनेर पार्टीको बैठकमा आवाज उठाउनुभयो । तर, किशुनजीको उत्तरले सबैलाई आश्चर्यचकित पारेको थियो ।

उहाँले भन्नभएको थियो, ‘चुनाव हार्नु मेरो कमजोरी हो, हाम्रै पार्टीका साथीहरुले मलाई हराउन लाग्नुभएको थियो भने पनि त्यसको दोष पनि मेरै हो, उनीहरुलाई आवश्यक प्रशिक्षण र अनुशासन सिकाउन नसक्नु पनि मेरै कमजोरी हो । समग्र पार्टीलाई एकढिक्का बनाएर लान नसक्नुको जिम्मेवारी पनि पार्टी अध्यक्षको नाताले मैले नै लिनुपर्छ । त्यसैले नेपाली का“ग्रेसका नेता कार्यकर्तालाई कारवाई गरेर म मेरो पदीय जिम्मेवारीबाट उम्कन मिल्दैन, त्यसैले मेरो हारको सम्पूर्ण जिम्मेवारी पनि म आफैले नै लिन्छु ।’

किशुनजीसँगको मेरो संगत निरन्तर रुपमा लामो समयसम्म त भएन तर पनि २०४२ देखि २०६१ सम्म भेटघाट गर्ने अवसरहरु भने बाराम्बार जुटिरहे, उहाँ प्रधानमन्त्री भएको बेलाबाहेक । किनकि मन्त्री, प्रधानमन्त्रीलाई भेट्न गएर राष्ट्रनिर्वाण गर्ने उनीहरुको महत्वपूर्ण काममा डिस्टर्ब गर्नुहुँदैन भन्ने मेरो स्पष्ट मान्यता थियो । त्यसैले राजनीतिमा लागेर जति नै जेल, धरपकड, थुना पर्नेदेखि लिएर टाउको फुटाउने र ढाड खुस्कनेसम्मका शारीरिक यातना सहनु परे पनि कुनै पनि सरकारी पदमा आसीन नेताहरुको मन्त्रालय र निवासमा म कहिल्यै पनि गइन ।

तर   जति समय किशुनजीस“ग सत्संग गर्ने मौका मिल्यो र जे जति कुराहरु सुन्ने मौका पाए ति कुराहरु अहिले सम्झिँदा मात्रै पनि म आफुलाई गौरवशाली महशुस गर्दछु । वहा“भित्र निहित अटल राष्ट्रिय भावनाका प्रति पार्टीका अग्रणी नेताहरु सान्दाजु(वीपी कोइराला), गणेशमानजी र सुवर्ण समशेरले पनि किशुनजीलाई सम्मान गर्थे ।

देशभित्रै बसेर संघर्ष गर्नुपर्छ र आफ्नो आदर्शका प्रति कहिल्यै पनि आत्मसमर्पण गर्नुहुँदैन भन्ने दह्रो विश्वासका कारण अरु नेताहरुभन्दा झन्डै दुई बर्ष बढी जेल जीवन बिताएको कुरा उहाँले सुनाउदा मलाई अचम्म लागेको थियो । कति नेताहरु पंचायती शासकहरुका अघिल्तिर बिन्तीपत्र हालेर  जेलबाट छुटकारा लिदा पनि उहाँले त्यसो गर्न मान्नुभएनछ ।

उहाँले नै सुनाउनु भएअनुसार, बिन्तीपत्र नहाले पनि छाडिदिन्छौ तर बाहिर निस्केर केही नबोल्नुहोला भन्दा पनि उहाँ मान्नुभएन । ‘दश बर्ष त बसिसके अब मलाई के को हतार आत्मसम्मान बेची बेची जेलबाट छुट्नलाई ? जुनदिन मेरो नैतिकताको विजय हुनेछ त्यसदिन निस्कौला भनेर बसाैँ, त्यसकारण मैंले २० महिना ज्यादा जेल बस्नुप-यो ।’ यो कुरा हामीलाई सुनाइरहंदा वहा“को अनुहारमा कति ठूलो निष्ठा र आत्मसम्मानको इन्द्रेणी देखिएको थियो त्यसको एक प्रतिशत पनि चमक आजका राजा महाराजाहरुको अनुहारमा देख्न सकिंदैन ।

लेखक : टि.पी. खनाल

किशुनजी झन्डै १६ बर्ष पार्टी अध्यक्ष र दुई—दुई पटकसम्म देशको प्रधानमन्त्री भएको मान्छे । राजनैतिक तिकडम गर्न चाहेको भए बाँचुन्जेल देशको शक्तिशाली पदमा रहन सक्ने मान्छे भएर पनि शक्तिको लालसा कहिल्यै देखाउनुभएन । देशका लागी आफ्नो पुरै जीवन उत्सर्ग गरेको मान्छेले आफ्नो स्वार्थका लागि देशको सम्पतिको दुरुपयोग कहिल्यै पनि गर्नुभएन । प्रधानमन्त्रीबाट गलहत्याइ“दा पनि हाँसी-हाँसी प्रधानमन्त्री निबासबाट आफ्नो व्यक्तिगत सम्पतिको एउटा छाता, पानी खाने एउटा माटोको भाडा (सुराही) र एउटा टिनको बाकसमा आफ्ना लत्ताकपडा बोकेर निस्केको हामीहरु सबैले देखेकै हो ।

देख्नेहरुले भन्थे, किशुनजीले आफ्नो जुत्तामा पालिस पनि आफै लगाउने र आफ्ना कपडा पनि आफै धुनुहुन्थ्यो । सधैँ हाँसीमजाक गरिरहने अचम्मको रसिक मान्छे हुनुहुन्थ्यो उहाँ । सानो ठुलो केही भेद नगरी सबैसँग ठट्टा गर्ने अचम्मको सरल बानी थियो वहाँको । कहिल्यै उठ्न नसक्नेगरी अस्पतालको बेडमा परेको बेलामा पनि ऐया आत्थु नभनी डाक्टर नर्सहरुसँग रमाइलो र ठट्टा गर्नुहुन्थ्यो रे । “मेरो स्वास्थ्यको चिन्ता नगर्नुस, ढुक्कले आफ्नो कर्तब्य गर्नुहोला“ भन्ने कुरा सुन्दा डाक्टर नर्सहरुमा पनि कुनै भीआईपीलाई उपचार गर्ने बेलाको प्रेसर हुँदैनथ्यो । लोभ लालच र छलकपट नभएकै कारणले होला वहाँमा त्यसप्रकारको सरलपन आएको ।

आफ्नो बिरुद्धमा लेख्ने र बोल्नेलाई पनि वहा“ले सधै सम्मान गर्नुहुन्थ्यो । ‘प्रजातन्त्रप्रतिको मेरो लडाइँ नै यही बोल्न र लेख्न पाउने अधिकारका लागि हो । मेरो बिरोध गर्नेहरुको मुख नै थुन्न लगाए“ भने मेरो जीवनभरको लडाईं अरु कसैका लागि नभएर केवल मेरा लागि मात्रै रहेछ भन्ने बुझ्नुपर्छ । त्यसैले सबैले बोल्न पाउने अधिकारको रक्षा गर्नु मेरो नैतिक कर्तब्य हो ।

मैले लडेको र खोजेको प्रजातन्त्रको मूल सार नै यही हो’ भन्ने उहाँकाे दृढ भनाइ हुन्थ्यो । विरोध गर्ने र विरोधमा लेख्नेहरुलाई वर्षौं जेल हाल्ने कानून ल्याउने हालको नेपाल सरकारको नेतृत्वका लागि यस्ता नैतिकता र आदर्शका कुरा भालुलाई पुराणमात्र  हुन सक्छन् ।  नैतिकताको खडेरी परेको आजको बिश्वब्यापी राजनीतिमा किशुनजीजस्ता निष्ठावान राजनेताको गुणलाई केहीमात्र भए पनि इमान्दारीपुर्वक लागु गर्न खोजे राजनैतिक अनुशासनहीनतामा देख्न सकिनेगरी सकारात्मक परिवर्तन आउने थियो कि ? निमुखा जनताको छातीमा सत्ता र शक्तिको बुट बजार्दै धन सम्पति र शक्ति आर्जनमा मरिमेटेर लाग्नेहरु माटोमा मिलिसक्दा पनि किशुनजीको त्याग, तपस्या, निष्ठा र सरलपन भने युगौ युग सम्म जीवित रहिरहनेछ । किशुनजी जस्तो नेताका गुणहरुलाई त्यसपछिका राजनैतिक नेतृत्वहरुले लागु गर्न नसक्नु नेपालको लागि ठूलो दुर्भाग्य हो ।

(लेखक खनाल २०४६ सालको परिवर्तनपछि ट्रेड युनियन काँग्रेसको बिभिन्न तहको केन्दीय जिम्मेवारीमा रहेर श्रमिक अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, नेतृत्व विकास जस्ता विषयहरुमा १८ बर्ष काम गरी सयौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय मन्चहरुमा श्रोत व्यक्तिको रुपमा गरिसकेका छन् । खनाल हाल अमेरिकाको सियाटलमा स्थायी बसोबास गर्छन्।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *