अब सुर्खेतबाटै पाइन्छ स्मार्ट लाईसेन्स

डिसी नेपाल
२१ पुष २०७६ २१:३९

सुर्खेत । यही माघ ५ गतेदेखि वीरेन्द्रनगरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने तयारी थालिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइन सफ्टवेयर, ट्रायल (परीक्षण) सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापनलगायतका कार्य अन्तिमचरणमा पुगेको जानकारी दिए ।

सुर्खेत प्रदेश राजधानी हुँदासमेत सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन अन्य प्रदेश जानुपर्ने बाध्यता रहेकामा सर्वसाधारणको व्यापक गुनासो थियो । प्रजिअ अधिकारीले लाइसेन्स वितरणका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको बताए ।

साथै, उनले लाइसेन्सबिनै अटोरिक्सा चलाउने र चर्को भाडा लिने गरेको गुनासो व्यापक सुनिएकाले व्यवस्थित गर्न लागिएको बताए । वीरेन्द्रनगरमा १ हजार ९ सय अटोरिक्सा रहेकामध्ये करीब ३ सय सँग मात्र लाइसेन्स रहेको बताइएको छ । “लाइसेन्स नभएका अटोचालकलाई पक्राउ गर्ने र लाइसेन्सबिनै अटोरिक्सा बेच्ने धनीलाईसमेत कारवाहीको दायरामा ल्याइनेछ”, आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रजिअ अधिकारीले भने ।

गृह मन्त्रालयले छाउगोठ भत्काउन कडा निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले ३०१ छाउगोठ भत्काएको जनाएको छ । जिल्ला प्रशासनका अनुसार पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा प्रशासनको अगुवाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी वकिल कार्यालय, स्थानीय जनप्रतिनिधि र महिला अधिकारकर्मीको टोली छाउगोठ भत्काउने अभियानमा सक्रिय रहेको छ ।

छाउगोठ बस्ने र बस्न बाध्य पार्नेलाई मुलुकी अपराधसंहिता, २०७४ अनुसार कानूनी कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार त्यस्ता व्यक्तिको सामाजिक सुरक्षा भत्तालगायतका राज्यबाट प्रदान गरिने सेवा–सुविधा रोक्ने तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *