मैले पढेका र देखेका राजपरिवारका नारीहरु: नेपाल एकीकरणदेखि समाजसेवासम्म

मेरो आजको सन्दर्भ भने राष्ट्र एकीकरणमा पृथ्वीनारायणसँगै तत्कालीन राजपरिवारका अन्य महिलाहरुको योगदान के थियो ? उनीहरु एकीकरण महाभियानमा उत्रिए कि उत्रिएनन् ? भन्ने कुरासँग सम्बन्धित छ ।

हामी बाँचेको इतिहासका पानाबाट खोतल्दा श्री ५ त्रिभुवनका रानीद्वय कान्ति र इश्वरी त्रिभुवन विश्वविद्यालयका प्रथम कुलपति भएकाले उहांहरु शिक्षाप्रेमी भन्ने संकेत मिल्छ। श्री ५ महेन्द्रकी कान्छी रानी रत्नले समान्य प्रकृयाबाट हुनै नसकिने काम पचहत्तरै जिल्लामा सरकारी जग्गा अधिग्रहण गराई बाल मन्दिरहरु खडा गराएबाट बुझ्नुपर्छ कि उहांका आफ्नै कोखबाट बच्चाहरु नजन्मे पनि विपन्न बाल बालिकालाई अभिभावकत्व उहाँले दिनुभएको थियो ।

प्रजातान्त्रिक राजा बीरेन्द्रकी रानी ऐश्वर्यले सामाजिक सेवालाई सस्थागत गरी आफ्नो समाजसेवामा प्रतिबद्धता जनाउनु भएको थियो । पछि गएर राजालाई नै वाध्य पार्ने गरी राजपाठमा समेत हस्तक्षेप हुन थालेपछि देवर धीरेन्द्र नेपाल छोडेर हिंडेका समाचार मैंले नै पनि लेखेकी थिए“ । राजा ज्ञानेन्द्रकी रानी कोमल सोझी, सौम्य राजाकी सहयोगी हुन् भन्ने धारणा छ । राजकुमारी हिमानी आज पनि समाजिक सेवामा लागेकी देखिन्छिन् ।

धेरै अघिको इतिहासको पानामा लेखिएको छ—राजकुमारी भृकुटीले भोटे राजासँग विवाह गरी नेपाल देश जोगाउन सहयोग गरिन् रे । आज राजतन्त्रलाई पाखा लगाएर सत्तमा पुगी मात्तिएका पुरुषका श्रीमति,आमा, छोरी, सासु,साली भाञ्जी र मायालुहरु सबै हामी सबैका आँखा अगाडि हाकाहाकी सत्ताको चरम उछितो जगाइरहेका छन्। सत्तामा पुगी केही योगदान पुर्याएका भए पनि जनताले सहन्थे होला तर उनीहरुको भ्रष्टाचारी र नकारात्मक भूमिकाबारे छापामा छताछुल्ल हुँदै आएका पनि छन्।

भ्रष्टाचारमा मतियारको रुपमा संलग्न हुने नेता वा हाकिमका महिला नातेदारको मुलुकप्रतिको यो घात आजको दुई तीनसय बर्षपछि पनि इतिहास पढ्ने नेपालीका सन्ततीले थुक्ने विषय बनाउने छन्, धिक्कार्नेछन्। किनकि,आजको आधुनिक प्रविधिले सबैका सत्कर्म दुश्कर्महरु नमेटिनेहरु संचय गरेर राखिसकेको छ।

भ्रष्टाचारमा मतियारको रुपमा संलग्न हुने नेता वा हाकिमका महिला नातेदारको मुलुकप्रतिको यो घात आजको दुई तीनसय बर्षपछि पनि इतिहास पढ्ने नेपालीका सन्ततीले थुक्ने विषय बनाउने छन्, धिक्कार्नेछन्। किनकि,आजको आधुनिक प्रविधिले सबैका सत्कर्म र दुश्कर्महरु नमेटिनेहरु संचय गरेर राखिसकेको छ।

नेपाल एकीकरणका नायक तथा सूत्रधार श्री ५ पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्ती मनाइरहंँदा तत्कालीन समयतिर पुग्नु पर्ने हुन्छ। त्यतिबेला बहुविवाहको प्रचलन हुनाले गोरखाका राजा नरभूपाल शाहले चारवटी रानी विवाह गरेकोमा माहिली कौशल्यावतीबाट पृथ्वीको जन्म हुन्छ। जेठी चन्द्रप्रभावती पहिले गर्भवती भएपनि पृथ्वी सात महिनामा नै जन्मेकाले यिनी नै जेठो सन्तान ठहरिएका थिए।

त्यसमा पनि जेठीका छोरा बृन्दकेशर अल्पायुमै मरेकाले पृथ्वी नै एकलौटी पैत्रिक उत्तराधिकारी बन्न पुगेका हुन्। उनलाई हुर्काउन असल कुलकी उनकी सौतेनी आमा चन्द्रप्रभावतीको योगदानबारे इतिहासमा वर्णन गरिएको छ। राजा पृथ्वीको जीवनमा गुरु गोरखनाथको बरदानको जति महत्व छ त्यत्ति नै महत्व नारी शक्तिको छ। उनलाई देवीको पनि बरदान थियो भनेर भन्नेहरु पनि छन्।

१२ वर्षको उमेरमा राजगद्दिमा बसेका पृथ्वीलाई व्यवहारिक शिक्षा, राजधर्म, राजनीति, कुटनीतिजस्ता विषय चन्द्रावतीले नै सिकाएकी हुन्। विद्धानहरु राखी नीति शास्त्र सिकाइन् भने अन्य कलाजस्तै घोडचढी, पहाड चढ्ने कलाका लागि पनि उनले मान्छे खटाएकी थिइन्। गोरखाको नेतृत्वमा अरु कमजोर राज्य एकीकरण हुनुपर्ने र फिरङ्गीको गिद्धेदृष्टिलाई प्रतिकार गर्नुपर्ने ज्ञान पनि सौतेनी आमाबाटै पृथ्वीले पाएका हुन्।

लेखिका : दुर्गा पाेख्रेल

राजा नरभूपालले पनि गोरखा राज्यलाई ठूलो बनाउने सोच राखी वरपर विस्तारको अभियान चलाउँदा सहयात्री भएकी र अनुभव खेपेकी चन्द्रप्रभावती पृथ्वीको औपचारिक नायव पनि बनेकी थिइन्। उनकै दूरदर्शितामा पृथ्वीले भादगाउँ गई त्यहाँका राजाका छोरासँग मित लगाई तीन वर्षजति बसेर उपत्यकाका राज्यहरुको राजनीतिक माहौल अध्ययन गर्ने काम गरेका थिए। दक्षिणी भाग सुरक्षित पार्न चन्द्रप्रभावतीकै रणनीतिमा मकवानपुरे राजाकी छोरी इन्द्रकुमारी मगनी गरिएको र १८—१९ बर्षे पृथ्वी र १५—१६ वर्षे इन्द्रकुमारीको विवाहपछि मकवानपुर तराई र गोरखा पहाडको फरक रीतका कारण दुलही नअन्माइएको घटना पनि राज्य एकीकरणसंग जोडिएको छ।

पृथ्वी उपत्यका अवलोकन गर्ने विचार गरी थानकोट पारिबाट चन्द्रगिरी पहाड चढ्नु, त्यसपछि गोर्खा पुगी चन्द्रावतीलाई सुनाउनु र दुबै मिली शुभचिन्तकहरुसँग छलफल गरेर एकीकरणका लागि खाका तयार गर्नुले त्यसबेलाको राजनीतिमा चन्द्रप्रभावतीको भूमिका अद्वितीय देखिन्छ। हतियार रणनीतिका लागि पृथ्वी बनारस पुग्नु र त्यहाँ नरेन्द्रलक्ष्मीसँग विवाह गरी हतियारसहित फर्किनु तथा यता मइतै बसेर पनि पृथ्वीका गतिविधिबारे जानकार हुने गरेकी इन्द्रकुमारीले विवाह घर जाने प्रस्ताव राखेको प्रसंगले पनि एकीकरणका लागि काम गरेको छ।

उनको प्रस्ताव मानेर मकवानपुरे राजाले पुन पृथ्वीलाई निम्त्याएका हुन्छन् र पृथ्वी पनि त्यहाँ पुग्छन् तर सत्कार नभएको कुरामा उनी फेरि दुलही नलिई त्यहाँबाट हिँड्छन्। यसपछि स्वयं इन्द्रकुमारी आफ्ना पितासँग रिसाएर आफैं पृथ्वीसँग गोरखा जान्छिन् र उनको एकीकरण अभियानमा सामेल हुन्छिन्। यसरी पृथ्बीनारायण शाहको एकीकरण अभियानमा नारीशक्तिको महत्वपूर्ण भूमिकाको इतिहास कोरिएिको छ। उपत्यकासमेत विजय गरेर काठमाडौंलाई राजधानी बनाई नुवाकोट दरबार बस्न पुगेका उनको मृत्यु त्यही भएपछि उनका नाममा सती जाने काममा पनि जेठी रानी इन्द्रकुमारीले नै अघि सरेकी थिइन्।

उनका छोरा प्रतापसिंह शाहको शासन छोटो भयो—तीनबर्षभन्दा पनि कम । तापनि उनकी रानी राजेन्द्रलक्ष्मी कुनै पुरुष शासकभन्दा कम थिइनन् । पृथ्वीको जस्तो दूरदर्शिता र कुटनैतिक गुण भएकी राजेन्द्रलक्ष्मीले नेपालको नक्सालाई फराकिलो बनाउने कार्यको अठोट लिएकी थिइन्। नियमले विवाहिता रानी सती जानुपर्ने भएपनि उनले नाबालक युवराज रणबहादुरलाई गद्दीमा राखी आफू राजपाठ चलाउने निर्णय गरी अविवाहित भित्रिनी नेवार्नी सौता मैजुरानीलाई साती जान लगाएकी थिइन् ।

नाबालक गद्दिसिन राजा रणबहादुरको छ बर्षे नायवीकालमा राजेन्द्रलक्ष्मीले नेपाल एकीकरण तथा राज्य विस्तार पृथ्वीनारायण जत्तिकै भन्दा पनि अझ प्रभावकारी ढंगबाट गर्न सफल भइन् । पश्चिमी सीमानामा पर्ने चौबिसी राज्यहरुमध्ये लमजुङ, कास्की, तनहुँ र पर्वतलाई एकीकृत नगरी भर्खर एकीकरण भएको नेपालमाथि अझै खतरा रहेको विश्लेषणसहित ती ठाउंहरुलाई पनि एकीकरण गर्ने योजना उनले बनाइन्।

उनका देवर बहादुर शाहले एउटी महिलाले गर्न खोजेको राम्रो काम भए पनि सहन गर्न सकिराखेका थिएनन् । उनी पुरुष भएको हैसियतमा नायवी आफू लिन चाहान्थे र उनका मतियारहरु पनि थिए।

एकातिर राजेन्द्रलक्ष्मीलाई राज्यविस्तारको महत्वपूर्ण योजनामा समर्पित जीवन अर्कातिर देवर र मतियारहरुको बाधा । आखिर देवरलाई जेल हाली मतियारहरुको नाइकेलाई मार्न लगाइन्। ती पश्चिमी सीमा राज्यहरुसँगै चितवन पनि राजेन्द्रलक्ष्मीकै नेतृत्वमा एकीकरण भएको भनी इतिहासकारहरुले उल्लेख गरेका छन्। देवर भाउजुको जति नै आन्तरिक झगडा भएपनि एकीकरणको महाअभियानमा दुबैले आंच आउन दिएनन्।

देवर सत्तमा पुग्दा भाउजुलाई थुनेर पनि एकीकरण अभियान जारी राखे । उनले आफ्नी भाउजुलाई एक सहयोगी मगरसंग बात पनि लगाए । तर, सबै व्यक्तिगत वाधा पार गर्दै राजेन्द्रलक्ष्मीले नेपाल एकीकरणमा सफलता पाइन् ।

आफू घोडचढीमा पोख्त राजेन्द्रलक्ष्मी अरु महिलालाई पनि तालिम दिएर हतियार बोकाउँदै गाउँ गाउँ हिड्डुल गर्दथिन् । नेपाल एकीकरणको इतिहारमा साहसिक महिलाको योगदानबारे बिस्तृत छलफल नगर्नु कुनै आईमाईको कुरा रहेनछ।

अहिले नै पनि महिलाले गरेका राम्रा कामबारे केही पुरुष मानसिकता र केही तिनका हुन्छ मायालु वर्गको रोकावटले उजागर हुन सकेका छैनन् । उदार पुरुष लेखक र महिला मिली कुनै दिन सही इतिहासका पाना थपिएला भन्ने मलाई विश्वास छ । इतिहासका सबै चरणमा नेपाली महिलाको योगदान रहेको छ- ऐतिहासिकरुपमा नालापानीको युद्धसम्म । कथित जनयुद्धका नाममा त धेरै सर्वसाधारण महिलाहरुलाई बलीका बाख्राी बनाइएको थियो।

(लेखिका डा.पोख्रेल नेपालको पूर्वमन्त्री हुन्, हाल उनी अमेरिका बस्छिन्।)

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position