सिंहदरवार पुराना गाडीको ग्यारेज ! [भिडियाे]

डिसी नेपाल
८ माघ २०७६ १७:०७

काठमाडौं । २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अहिले पुनर्निर्माण भइरहेको छ ।

कार्यालयका भित्ता रंग रोगन गरि सजाइएका छन् । कार्यालयलाई रिट्रोफिटिङ (प्रवलीकरण) गरेर मजवुत बनाइएको छ । तर त्यस बाहिरको दृष्यले भने सिंहदरबारलाई नै गिज्याइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको पुरानो कार्यालय छेउ पुग्ने बित्तिकै त्यहाँ यस्तो दृष्य देखिन्छ जसले जो कसैको मन खिन्न हुन्छ । कार्यालय छेउ विभिन्न मन्त्रालयले प्रयोग गरेका पुराना गाडी थुपारिएका छन् । हेर्दा लाग्छ ती गाडी शताब्दी पहिलेका हुन् । तर, ती गाडी दशक पहिलेका मात्रै हुन् । ती गाडी घाम र पानीले गर्दा काम नलाग्ने भएका छन् ।

मन्त्रालयहरुले प्रयोग गरेका पुराना गाडी सम्बन्धित मन्त्रालयले नै लिलामी गर्ने ब्यवस्था रहेको छ । तर, सम्बन्धित मन्त्रालयले त्यसतर्फ ध्यान नदिँदा ति गाडी सयौं वर्ष पुराना जस्ता भएका छन् । कतिपय गाडीमा घाँस उम्रिएको छ, गाडीका सीसा छैनन्, छत कुच्चिएका छन्, टायर पन्चर छन्, केही गाडी डष्टबिनले छोपिएका छन्, पुरानो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुनर्निर्माणका सामाग्रीले गाडी पुरिएका छन् ।

सिंहदरवार भित्र पुराना गाडी, फर्निचर खालि ठाउँमा थन्काएर सडाइदिने र नयाँ लिने प्रवृत्ति रहेको छ । नयाँ किन्नको लागि तत्कालै टेण्डर आह्वान गर्ने र कहिलेकाहीँ बिना कोटेशन नै गाडी किनिदिने उच्च अधिकारीहरु पुराना गाडी व्यवस्थापन गर्न भने पटक्कै जाँगर गर्दैनन् ।

नयाँ गाडी किन्दा त्यसको सुविधा आफूले पाइने भएकोले यसको प्रक्रिया अघि बढाउन अरु काम नै छोड्न समेत पछि नपर्ने अधिकारीहरु पुराना गाडी व्यवस्थापनमा निकै उदासिन देखिन्छन् । यसको पछाडि पुराना गाडी बिक्री भएपछि आउने रकम सरकारी कोषमा जाने भएकोले आफूलाई केही फाइदा नहुने काम भन्दै पन्छाइन्छन् ।

पुराना गाडी त्यसै बिक्री गर्न पाइँदैन । यी गाडी बिक्री गर्न निश्चित म्याद राखेर लिलामीको सूचना निकालेर त्यसपछि लिलामी गर्नुपर्छ । यसरी लिलामी गर्न लामै समय दिनुपर्ने, आफ्नो परिश्रम पर्ने तर आफूले लाभ नपाउने भएपछि कर्मचारीहरु जाँगर गर्दैनन् । यसअघि संसदीय समितिले सिंहदरबारमा रहेका पुराना गाडीहरु लिलाम गर्न निर्देशन दिएको थियो । तर सम्बन्धित मन्त्रालयहरुले मर्मत गर्न मिल्ने केही गाडी मर्मत गरेर स्थानीय तहमा पठाए भने, थोत्रा गाडीहरुको वास्तै गरेनन् ।

सम्बन्धित निकायले वास्ता नगर्दा लाखौँ मुल्य पर्ने ती गाडी अब कौडीको भरमा जाने भएका छन् । अहिले ति गाडिहरुले गर्दा सिंहदरबार पुराना गाडीहरुको ग्यारेजजस्तो भएको छ ।

भिडियाे :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *