को को हुन् अहिलेका साम्राज्यवादीहरु ?

डिसी नेपाल
२ फागुन २०७६ १०:४९

नेपालमा साम्राज्यवादबारे खुब चर्चा हुने गर्छ । खासगरी कम्युनिस्ट पार्टीहरु केही पश्चिमी र छिमेकी भारतमाथि साम्राज्यवादी भएको आरोप लगाउँछन् ।को को हुन् त आधुनिक साम्राज्यवादीहरु ?

साम्राज्यवाद बुझ्न सर्वप्रथम साम्राज्य बुझौं। साम्राज्य भनेको सामान्यतया (निरङ्कुश) सम्राटको महत्वाकांक्षाबाट संचालित साशन-प्रणाली हो भने साम्राज्यवाद भन्नाले शक्ति र प्रभुत्वको विस्तार गर्ने राज्य नीति वा अभ्यास, हो। साम्राज्यवाद अहिलेको आधुनिक सभ्य समाजले पचाउने कुरा भने होइन। तसर्थ खोज्दै जॉंदा अलोकतन्त्रिक संरचना भएका देशहरुमा साम्राज्यवादका जरा भेटिन्छन्।

प्राचीनकालमा साम्राज्यवादको उदय चीन र पश्चिमी एशियाबाट शुरु भयो। भूमध्यसागर क्षेत्रमा अशुरको अत्याचारी साम्राज्यलाई फारसीहरूले प्रतिस्थापन गरेपछि  मानिसहरुलाई मानवीय व्यवहार गर्ने उदार खालको साम्राज्यवाद पनि आयो।

उदार साम्राज्यको नमुनाको रुपमा ग्रीसको साम्राज्यवादको जन्म भयो। ग्रीक साम्राज्यवाद अलेक्ज्याण्डर द ग्रेट (३५६-३२३ ईसापूर्व) को अधीनमा पूर्वी भूमध्यसागर-क्षेत्रमा पश्चिमी एशिया समेतलाई एकत्रित गरी चरम उत्कर्षमा पुग्यो। अलेक्ज्याण्डरले विश्वका सबै नागरिकहरू समानताका साथ मिलेर बस्ने एकल राज्यको परिकल्पना गरे। त्यस्तो एकल राज्य स्थापना गर्ने अलेक्ज्याण्डरको सपना  पुरा त भएन तर पनि रोमनहरूले बेलायतबाट इजिप्टसम्म आफ्नो साम्राज्य निर्माण चाहिं गरे ।

मानवीय चेतनाको बिकाससंगै मानव-सभ्यता अधि बढ्दै जाँदा अहिलेको दुनियामा खुल्लारुपमै म सम्राट हुं भन्ने कोही पनि छैन। किनकि सबै शासकहरुले जनताको अभिमत आफुसंग रहेको देखाउन रुचाउंछन। हात्तीको देखाउने दांत भनेजस्तो भित्रभित्रै जनतालाई झुट, दमन, र त्रासमा शासन गर्ने शासकहरुले पनि प्रजातन्त्रको देखाउने दांत लगाएका हुन्छन्। उदाहरणका लागि यो संसारकै सबैभन्दा अलोकतन्त्रिक देश उत्तर कोरियाले पनि आफ्नो देशको आधिकारिक नाम नै “डेमोक्राटिक पीपल्स रिपव्लिक अफ कोरिया (DPRK)” राखेको छ।

साम्राज्यवादी शासकहरुले आफ्ना प्रतिद्वन्द्वीहरुलाई सफाया गर्ने र आफु संधै शक्तिकेन्द्रमा रहिरहने मेसो मिलाएका हुन्छन्। हालसालैका उदाहरणहरु हेर्ने हो भने रुसमा पुटिनले, चीनमा सी जिन्पिङ्ले, भेनेजुएलामा मादुरोले, उत्तर कोरियामा किम जुन उङ्ले, सिरियामा बसर-अल-असद्ले, र साउदी अरेबियामा बिन सलमानले यस्तो व्यवस्था मिलाएका छन। यीमध्ये केहीले देखावटीरुपमा चुनाब पनि गराएर आफैले अत्यधिक मत ल्याएको घोषणा गर्ने गरेका छन् ।

साम्राज्यवादको अभ्यास दुई किसिमले हुने गरेको छ। विशेष गरी प्रत्यक्ष क्षेत्रीय अधिग्रहणमार्फत वा राजनीतिक र आर्थिक नियन्त्रण प्राप्त गरेर ।चाहे सैन्य वा आर्थिक वा केही अरु सूक्ष्मरूप, जुनसुकै रुपमा पनि साम्राज्यवादलाई अक्सर नैतिकरूपमा निन्दनीय मानिएको छ। अमेरिकी जनताहरुले सम्राज्यवादका विरुद्ध लडेर आफ्नो देश स्वतन्त्र बनाएका हुनाले साम्राज्यवादको समर्थन गर्दैनन्। तर यो शब्द प्रायः अन्तर्राष्ट्रिय प्रचारमा विपक्षीको विदेश नीतिलाई निन्दा गर्ने र बदनाम गर्नमा प्रयोग गरिएको छ।

हालका दिनहरुमा तानाशाहहरुले प्रजातान्त्रिक शक्तिहरुलाई कमजोर बनाउनको लागि सोसल मीडियाको प्रयोग गरी मानिसहरुलाई दिग्भ्रमित गराउने निन्दनीय काम गरेका छन। यसबाट हामीहरु चनाखो हुन जरुरी छ।  जसरी सन १८१४ मा बलभद्र कुंवरको नेतृत्वमा नेपालीहरुले बेलायका जनरल जीलेस्पीलाई हराएका थिए, त्यसरी नै जर्ज वाशिंगटनको सैन्य कमाण्डमा साम्राज्यवादी शक्तिलाई १७८३ मा परास्त गरेपछि अमेरिकीहरुले स्वतन्त्रताको अनुभूति गरेका थिए।

जर्ज वाशिंगटनसंगै साम्राज्यवादीहरुसंग लडेका सहकर्मी साथीहरुले उनलाई यसरी सम्मान गरेका थिए: “First in war—first in peace—and first in the hearts of his countrymen”. यसरी सर्वत्र उनको चर्चा भएपछि जर्ज वाशिंगटन अमेरिकाका राजा घोषित हुने निश्चित भयो। तर अचम्म! जर्ज वाशिंगटनले श्रीपेच बहिष्कार गरे। उनले भने राजा, सम्राटजस्ता थोत्रा परम्पराबाट हामी अघि बढ्नुपर्छ। हामीले गणतन्त्रको स्थापना गरौं। त्यसपछि अमेरिकामा जनताद्वारा चुनिएका व्यक्ति राष्ट्रपति हुने र उनकै अधीनमा सेना रहने संवैधानिक व्यवस्थासहितको गणतन्त्र स्थापना भयो।

जर्ज वाशिंगटनले सारा अमेरिकाको शक्ति आफ्नो हातमा आएको बेला राजीनामा दिंदै भने: नेतृत्व लिने मान्छेले सत्ता प्राप्त गर्न वा सत्तामा टिकीरहन काम गर्ने होइन, जनताको मन जित्न काम गर्नुपर्छ। जीवनमा उनले हारेको भनेकै अमेरिकी जनतासंग थियो। आफ्नो पदबाट राजीनामा दिएर किसानको जीवन बिताईरहेका जर्ज वाशिंगटन लाई अमेरिकी जनताले त्यत्तिकै बस्न दिएनन्।

उनलाई रास्ट्रपतिमा उठ्न आग्रह गरियो। नभन्दै उनी १७८९ को चुनावबाट अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचित भए। उनले आफ्नो नाम जहॉंपनि टॉंस्नेजस्ता प्रचारवाजी मन पराउंदैनथे। तर पनि पछि उनकै नाममा देशको राजधानीको नामाकरण भयो। यसै क्रममा एक सिंङगो राज्यले र कैयौं शैक्षिक संस्थाहरु समेतले उनको नाम राखे। अमेरिकी नेतृत्वको यही आदर्शका कारण लोकतन्त्र, मानव अधिकार, र स्वतन्त्रताप्रति अमेरिकीहरुको अकंटक विश्वास रहीआएको छ।

पुनश्च, जन-अकांक्षाबाट विधिको शासनको मुतविक संचालित राष्ट्रहरुमा सम्राट हुँदैनन! आवधिक निर्वाचनबाट जन-अकांक्षाको प्रतिनिधित्व गर्दै चलेका हुन्छन, यदि उनीहरुमा सम्राट बन्ने स्व-अकांक्षा पलायो भने जन-प्रतिनिधिहरुबाट महा-अभियोग लगाएर हटाइन सकिने डर हुनेभएकोले विधिको शासन रहुन्जेल यस्ता  अकांक्षीहरु सम्राट बनिहाल्न चाहिं सक्दैनन।  साम्राज्यवादका केहि पछिल्लो समयका आक्रामक उदाहरणहरु यस्ता रहेका छन।

१९९१ मा इराकका सद्दाम हुसेनले कुवेतमाथि हमला गरे (तर कुवेतले अमेरिकाको गुहार मागेपछि भएको गल्फ-वारमा इराक पराजित भएको थियो)। रुसले ५ बर्ष अघिमात्रै क्रिमियालाई आफ्नो भुभागमा मिलायो। युक्रेनलाई पनि रुसले निल्ने योजना बनाउंदै छ, तर युक्रेनले अमेरिकाको सहारा लिन खोज्दैछ। अमेरिकी जनताहरु प्रजातन्त्रका पक्षपाति छन, तर प्रजातन्त्रकै लाग् पनि अन्य देशमा हस्तक्षेप गर्ने काम न्युन गर्दै जाने नीति लिएका छन्।

राष्ट्रपति ट्रम्पको परराष्ट्र नीतिको अमेरिकाभित्रै विरोध भैरहेको छ। हालसालै अमेरिकी तल्लो सदनले यस विषयमा संकल्प-प्रस्ताव पारित गरेको छ र माथिल्लो सदनमा छलफल भैरहेको छ। तर चीनले हालसालै दक्षिण चीन सागर (साउथ-चाइना सी) का व्यापरिक मार्गहरुमा अवरोध सिर्जना गरेकोमा अमेरिका असन्तुष्ट छ।

वाशिंगटनले दक्षिण चीन सागरमा दाबी गरेको छैन, तर बेइजिङ्ले जलमार्गलाई सैन्यीकरण गरेको र अवैधानिक क्षेत्रीय दावी गरेको आरोप लगाएको छ। अन्तर्राष्ट्रिय कानून बमोजिम जलमार्गलाई “स्वतन्त्र र खुला” रहन जरुरी छ, र अमेरिकाको इण्डो-प्यासिफिक नीतिले पनि उक्त व्यापरिक मार्गलाई एकलौटि रुपमा चीनले मात्रै उपभोग गर्ने होइन, बरु, जपान, फिलिपिन्स, भियतनाम, इन्डोनेशिया, लगाएतका सबै राष्ट्रहरुले खुल्ला रुपमा व्यापार गर्न पाउने गरी व्यवस्था मिलाउनु पर्छ भन्दै आएको छ।

अन्तर्राष्ट्रिय संस्थाहरू अन्तर्गत शान्तिपूर्ण तरिकाले राष्ट्रहरूको वैधानिक आकांक्षालाई पूरा गर्ने र उनीहरूको अवैधानिक दावीहरुलाई निरुत्साहित गर्ने प्रयास गरिएको छ। त्यसैकारण सो समुद्री मार्गलाई पनि चीनले मात्रै एकलौटि उपभोग गर्ने होइन, बरु जपान, फिलिपिन्स, भियतनाम, इन्डोनेशिया, लगाएतका सबै राष्ट्रहरुले खुल्लारुपमा व्यापार गर्न पाउने गरी व्यवस्था मिलाउनु पर्छ भनिदै आएको हो। अब खुला अर्थव्यवस्था मा रहने वा चीनको एकलौटी बजारमा समाहित हुने भन्ने कुरा यी बिभिन्न देशहरुको सामुहिक नीतिगत सहमतिमा निर्भर गर्नेछ।

चीनमा निर्भर रहेको उत्तर कोरियामा आर्थिक विकासको कुनै लक्षण नदेखिएकोले यो क्षेत्रका सवै जसो देशहरुले स्वतन्त्र र खुल्ला प्रशान्त-क्षेत्रको पक्षमा उभिने संकेत देखाएका छन। तर आफ्नो एक्लौटि गर्ने आकांक्षा पूरा गर्ने प्रयास स्वरुप चीनका शासकले अमेरिकालाई साम्राज्यवादी भनेर आरोप लगाउने विकल्प भने खुल्ला नै छ। स्मरण रहोस, जनताप्रतिको जवाबदेही र पारदर्शिता नभएका देशका शासकहरुले बेइमानीपूर्वक सोसल मीडियाबाट भ्रम फैलाइरहेका छन् ।

(लेखक अमेरिकाको मोर्गन युनिभर्सिटीमा उच्चशिक्षा नीति प्राध्यापन् गर्छन् ।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *