मेरी कुसुमको अमूल्य मायाका नाममा

मेरो जीवन यात्राकी सहयात्री कुसुम

मुटुभरिको माया ।

तिमीलाई सम्बोधन गर्नका लागि मसँग अनेक उपमाहरु छन तर पनि तिम्रो मायाको दायरालाई साँघुरो नबनाइकन भन्दै छु ‘मेरो जीवन यात्राकी सहयात्री ।’

हो, मेरो लागि तिमी खास सहयात्री हौ । म ढल्नै लाग्दा हात दिएर सँगै हिँडाउने, म डराएको बेला ढाडस दिने र बाटो बिराउनै लाग्दा पथ प्रदर्शक बन्ने तिमी त हौ । तिमीले यस्तो अमूल्य माया दिएकी छौ नि, जुन हीरा, मोती, जवाहरातसँग तुलना गर्नै मिल्दैन । यही कारण तिमी मेरो संसार हौ । तिमी फूलको सुगन्धमा छौ । जुनको शितलतामा छौ । पहाडको खोलामा बगेको कलकल पानी हौ तिमी । अनि बिहानीको शीतमा टल्किएको घामको किरण पनि ।

प्रिय कुशुम, तिमीसँग बिताएका १४ बर्षका अनुभव र अनुभुतिहरु हृदयको पानपाते पानामा कहिल्यै नमेटिने गरी टाँसेको छु । यी १४ बर्षहरु बितेको पत्तै भएन । हामीलाई १४ बर्षे ‘पूराना जोडी’ बन्नु परेको छैन किनकि हामी ’प्रेमी प्रेमिका’ । हाम्रो मायाको भब्य सिंहासनमा तिमी बिराजमान छौ । त्यहीँबाट मायाको शासन ब्यबस्था संचालन गरिरहेकी छ्यौ ।

कहिल्यै पुरानो नहुने हाम्रो काहानीलाई किन–किन सम्झन मन लाग्यो । हाम्रो प्रेम बीज अंकुराएको समयको कुरा गरेर तिमीलाई चिमोट्न मन लाग्यो । यस्का लागि अधिकार दिन्छौ नि ?

अनगिन्ती सपना बोकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं छिरेको गाउँले म । घरहरु बाक्लिँदै र सम्बन्धहरु पातलिँदै गैरहेको काठमाडौंलाई चिन्न सजिलो थिएन । तर पनि जीविकोपार्जन गर्न आवाजको खेती गर्न थालें । कुशुम, तिमीलाई थाहा छ असारको ५ गते बिहान जव तिमी मलाई नै भेट्न भनी रेडियो स्टेशनको कार्यालयमा आयौ नि त्यस दिनलाई म कहिल्यै भुल्न सक्दिन । तिमी मलाई प्रेम प्रस्ताव राख्ने उद्देश्यले आएकै थिएनौ । न म प्रेम प्रस्तावको विज्ञापन गरेरै बसेको थिएँ । तर परिस्थितीले नयाँ मोड लियो ।

तिमीले लगाएको नीलो रंगको कुर्ता सुरुवाल, अग्लो र सलक्क परेको ज्यान, गाजलु आँखा, हँसिलो अनुहार, मधुर मुस्कान… किन किन तिम्रो बारे केही सोच्न पो थालेछु । दिनहरु बित्ने क्रम रोकिएन । त्यस पछि त हाम्रो नियमित कुरा हुन थाल्यो । मेरो मुटुलाई छिया–छिया बनाउने तिमीप्रति थप अनुसन्धान गर्नु पर्ने देखियो । अनुसन्धानबाट थाहा भयो तिमी त मेरा हरेक कार्यक्रमहरु नछुटाइकन सुन्ने शुभचिन्तक पो रहेछौ । अब थप केरकार गर्नै परेन । यसरी पहिलो भेटबाटै तिमीले मेरो मुटु चोर्यौ । हामीलाई थाहा छैन कस्ले राख्यो पहिलो प्रस्ताव अनि कस्ले दियो त्यस्को जवाफ ।

तिमी गीत गजल गुन्जाइदिन अनुरोध गर्थ्यौ । म सुनाउँथे डा. कृष्णहरि बरालको गजल

तिमी मसँग भैदिए जे सुकै आँट्न सक्छु म

हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु म

यसरी थाहा नपाई एक अर्का बिना बाँच्न असम्भव ठान्न थालेछौ । हो कुशुम, आकाशबाट तारा खसेको बेला तिम्रो नाम लिन थालेछु । तिम्रै मात्र कुरा गरिरहौं लाग्ने पो भैसकेछु । तिम्रो र मेरो सम्बन्ध हात र आँखाको जस्तो भएछ । आँखा रसाउँदा हातले पुछिदिने, हातमा चोट लाग्दा आँखा रोइदिने ।

दिन प्रतिदिन यति प्रिय बन्दै गयौ नि

तिमीलाई हेरेर न आँखा नै थाके,

तिमीलाई सोचेर न दिमाग थाक्यो,

तिमीलाई सम्झेर न मन नै थाक्यो ।

जति हाम्रो माया प्रगाढ बन्दै गयो त्यति नै हाम्रा अगाडि समस्या र अबरोधका पहाडहरु चुलिदै गए । म कञ्चनजंघाको फेदीको क्षेत्रीको छोरो तिमी काठमाडौं नजिकैको सुन्दर गाउँकी ब्राह्मणकी छोरी । हामी भन्थ्यौ ‘प्रेममा जात हेरिँदैन, भौगोलिक परिस्थितिले कुनै अर्थ राख्दैन, धनी गरिबको पर्वाह राखिदैन ।’ तर समाज त्यसको विपरित तर्क गर्छ । तिमीसँगको प्रेम सम्बन्ध एक कान, दुई कान हुँदै मैदान हुनै लागेको थियो । हाम्रो प्रेमलाई छुटाउने चर्चा पनि सुन्न थालियो । हामी एक भएर जीवन जिउन लगभग असम्भव जस्तै बनेको थियो । त्यो अशुभ खबर लिएर नयाँ बानेश्वर आएको दिन हामी कति रोयौं है । आमा बुवा र सिंगो परिवार छोरीको निर्णय नै सर्वोपरी ठान्ने तर समाज चाँही …।

इटलीका पादरी सेन्ट भ्यालेन्टाइनले भने जस्तै अनुशासनको दायरा भित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुँदा रहेछन् । अनवरत रुपमा बगेको पानीले विशाल चट्टान पनि खियाउन सक्छ भनेझै हाम्रो निश्छल प्रेमको अगाडि कसैको केही लागेन । ‘जीवन हो सामान्य आँधी हुरी त चलिरहन्छ तर डराउनु हुन्न’ तिमी भन्ने गर्थ्यौ ‘एक अर्काको दरिलो साथ भएमा काँडा बीच पनि फूल फूलाउन सकिन्छ ।’ हो कुशुम, तिम्रो दरिलो साथले असम्भव कुरा पनि सम्भव बनाएरै छाड्यौ ।

भेट भएको करिव नौ महिना पनि नबित्दै फेब्रुअरी १४ अर्थात प्रणय दिवसकै दिन हामी युगल जीवनमा प्रवेश गर्यौ । शालिनदीमा किनेको पवित्र सिन्दूर, हाम्रो पहिलो र नियमित डेटिङ स्पट सिद्धपोखरीमा पुगेर तिम्रो सिउँदोमा पहिर्याउदा यस्तो लागेको थियो नि, हामीले विश्वयुद्ध जितेका छौ । त्यो बेला पोखरी नजिकै रुखमा रहेका चराचुरुङ्गीहरु अती खुशी भएका थिए । सिद्धपोखरीमा रहेका माछाहरु पनि हाम्रो मिलनमा औधी रमाएका थिए । त्यसो त हाम्रा लागि मान्छे भन्दा नजिक तिनै माछाहरु र चराचुरुङ्गीहरु थिए । उनीहरुले हामी रुदा सँगै रोएका थिए र हाँस्दा र चल्दा लजाएका थिए ।

प्रिय कुशुम, युगल जीवनको मुख्य मेरुदण्ड नै विश्वास रहेछ । १४ बर्षमा धेरै कपडाहरु फेरिए । १४ पटक नै रुखले पालुवा फेरे । तर हामीमा कुनै परिवर्तन भएन र हुने छैन । एक रथका दुई पाङग्रा बनेर परिवारलाई पहिलो प्रथमिकतामा राखेर यात्रा गर्दा कम्ता आनन्द आउछ नि त्यो बर्णन गर्नै सकिन्न । तिमी भन्छौ नि हौसला हुनु पर्छ जीवन कुनै पनि बेला फूल्न सक्छ । यस्तै उर्जाशील कुरा गरेर मेरो काममा सहयोग गर्ने तिमीलाई हृदयदेखि नै सम्मान छ । कुशुम तिम्रो जति प्रशंशा गरे पनि म कहिल्यै थाक्दिन । किनकि तिमी पूर्ण महिला हौ । त्यसो त हामी दुईमध्ये अलि केयरलेस मै छु । यस्तो बेला मायालु तवरले तिमीले सम्झाउदा साँच्ची खुशी लाग्छ । शायद कमैले पाउलान तिमी जस्तो मायालु जीवन संगीनी ।

कुशुम, जीवनका लागि अति आवश्यक तत्व भनेकै प्रेम रहेछ । जुन कुरा हाम्रो जीवन भोगाइबाट सिकेका छौ । निश्छल र निष्कपट प्रेम गराइले सफलता त प्राप्त गर्यो । तर जीवनमा समस्याहरुले छोड्दै छोडेनन् । कहिलेकाहीँ सोच्छु हाम्रो जीवन कथालाई आधार मानेर चलचित्र बनाउने हो भने कति चर्चित हुन्थ्यो होला है । ‘युगल जीवनको हनिमुन पिरियड पनि बित्न नपाउदै देशको शासन व्यवस्था परिवर्तनका लागि ठूलै आन्दोलन भयो । जुन १९ दिने आन्दोलनका नामले परिचित छ ।

जागिरे संस्थामा समाचार बन्द भयो । जागिरबाट पनि झण्डैले हात धुनु परेको थियो । सञ्चित रकम सकिनै लागेको थियो । काठमाडौं भरी खाद्यान्नको हाहाकार चलिरहेको थियो । यति नै बेला खाना पकाउने ग्याँस सकियो । कुशुम, त्यो साँझ खुत्रुके फोरेर ग्याँसको सिलिन्डर किन्नका लागि चानचुने पैसा गन्दै गर्दा हामी दुईका आँखाबाट खसेका आँसु सम्झँदा पनि भक्कानो छुटेर आउँछ ।

कुशुम, यस्ता अनगिन्ती पीडा र समस्याहरुले जीवन जिउन सिकाएको छ । दुःख र अभावका पहाडहरु हुँदैन थिए भने हामी सन्तुष्टिका टाकुरामा कसरी पुग्थ्यौ होला र ? शिशिरलाई भोगेकै कारण हामी बसन्तमा रमाइरहेका छौ ।

कुशुम, तिमीले मेरा लागि धेरै कुरा त्याग गरेकी छौ । आफ्ना आफन्तहरु त्यागेर आएकी छौ । सँग–सँगै हाँसे खेलेका साथीहरु खुल्ला आकाशमा चरीझैं स्वतन्त्र रुपमा उडिरहेको बेला १७ बर्षको उमेरमा युगल जीवनमा बाँधियौ । आफ्ना सारा परिचयहरु विलिन गराएर मेरा नामका सारा चिजहरु अंगीकार गरेकी छौ । आँसुहरु लुकाएर खुशी मात्र हुन जानेकी छौ । हरेक दिन झुल्कने घामको किरण भन्दा उज्याली मेरो मनको दरबारकी रानी हौ तिमी ।

हामी वर्तमानमा जति रमाएका छौ त्यति नै भविष्यका लागि योजना बनाउनु छ । हाम्रो उत्कृष्ट प्रेमका निशानीहरु स्वदेश र सूचनाका लागि फराकिला बाटाहरु बनाउनु छ । तिमी मेरो ओठको मुस्कान हौ । मलाई भोक, निद्रा, थकान भन्दा पनि तिम्रो चिन्ताले सताउँछ । म चाहन्छु मलाई खुशी दिने मेरी माया सधैं खुशी हुनुपर्दछ । हाम्रो माया पारिजात जस्तै बनोस हेर्दा सामान्य तर महत्व असीमित ।

उही तिमीलाई सयौ जुनीसम्म माया गरिरहने

सन्देश

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position