वित्तीय क्षेत्रको न्यूनतम सेवा संचालन हुने, चैत मसान्तसम्म कर्जा र व्याज असुली स्थगन

डिसी नेपाल
१३ चैत २०७६ ७:४३

काठमाडौं। उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले लकडाउन अवधिमा वित्तीय क्षेत्रको न्यूनतम सेवा संचालन गर्न निर्देशन दिएको छ। कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएपनि सर्वसाधारणलाई वित्तीय संस्थाबाट सेवा पुर्याउनका लागि यस्तो व्यवस्था गरेको हो।

अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय समितिको बुधबार बसेको बैठकले बैंकिङ, बीमा, धितोपत्र बजार, कम्पनी दर्ता र बचत तथा ऋण सहकारीले न्यूनतम सेवा संचालन गर्न निर्देशन दिएको हो।

सर्वसाधारणलाई सकेसम्म विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न र काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई संक्रमणरहित बनाएर मात्र वितरण गर्न पनि निर्देशन गरिएको छ।

यसैगरी समितिले बैंकिङ तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज चैत मसान्तसम्म तिर्नु नपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जाको वर्गिकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ।

यसैगरी कोरोना भाइरस उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री आयातमा विदेशी मुद्राको सिमा हटाउन, आयात कर्जा खुकुल बनाउन समेत निर्देशन दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *