लकडाउनका क्रममा सडकमा देखिएका चाखलाग्दा दृश्य (फोटोफिचर)

डिसी नेपाल
१७ चैत २०७६ १५:१२

काठमाडौं। लकडाउनको छैठौं दिन म र सहकर्मी मित्र रमण मानन्धर आज बाहिरको स्थिति के रहेछ भनेर बुझ्न मध्यान्ह १२ बजेको आसपासमा अफिसबाट बाहिर निस्किएका थियौ । बाहिर स्थिति पहिलेजस्तै सामान्य थियो । त्यही सुनसान अनि उराठ लाग्दो बाटो, सबैतिरका पसल बन्द, मानिसको शून्यजस्तै उपस्थिति र सवारी साधनविहीन रित्ता लमतन्न परेका सडकहरु । सबैभन्दा पहिले हामी काठमाडौंको अति ब्यस्त मानिने बानेश्वर चोक तिर लाग्यौं ।

बानेश्वर पुग्दा त्यहाँ केही ब्यक्तिहरुलाई नेपाल प्रहरीले डोरीको घेरा बनाएर त्यही घेराभित्र रोकेर राखेको रहेछ । के रहेछ भनेर नजिक गएर बुझ्दा थाहा भयो लक डाउनको समयमा लकडाउन अवज्ञा गर्दै हिँडेका केही सर्बसाधारणलाई प्रहरीले सोधपुछ गर्दा अति आवश्यक काम बाहेक हिँडेको पाइएकाहरुलाई त्यहाँ राखिएको थियो । प्रहरीका अनुसार उनहिरुलाई २ घण्टा यसैगरी सडकमा राखेर छाड्ने गरिएको थियो ।

हुन त ती सर्वसाधारण के कारणले हिँडेका हुन् मलाई थाहा थिएन तर मनमा सोध्न इच्छा लाग्यो । केही सर्बसाधारण भने सोध्न खोज्दा पनि बोल्न चाहेनन् । एक मनमा अचम्म पनि लागेर आयो किन यो टन्टलापुर घाममा बरालिएर हिँडेका होलान् ? अर्को मनले भन्यो शायद उनीहरुको बाध्यता पनि हुन सक्छ । प्रहरीलाई सोधें ‘अब के गर्नुहुन्छ यिनीहरुलाई ?’ एक इन्सपेक्टरले जवाफ दिए ‘२–३ घन्टा घाममा राखेर छोडिदिन्छौं ।’

बिहानदेखी कतिजति सर्बसाधारण यसरी परे त ? भन्ने प्रश्नको जवाफमा करिब २०–२५ जना बिहानबाट कारबाहीमा परेको देखियो । हुनत प्रहरीले सबैलाई सजाय दिनु भन्दा बढी सम्झाएको देखियो । प्रहरीको कुरा सुन्दा पनि सर्बसाधारणलाई सजाय भन्दा पनि सम्झाएर फर्काउने गरेको बुझियो तर पनि कतिपय सर्बसाधारणले अटेर गर्ने गरेको गुनासो प्रहरीबाट आयो ।

त्यहाँबाट हामी प्रायः पर्यटकहरुको घुइँचो लाग्ने ठाउँ ठमेल तिर लाग्यौं । बिदेशी पर्यटकहरुको घुइँचो लाग्ने ठमेलको गल्लीहरु सुनसान देखिन्थ्यो । फाटफुट केही पर्यटकहरु १–२ जना टन्टलापुर घाममा हिँडेको दैख्यौं । अलि अगाडि बढदै जादा नोर्थ फिल होटल अगाडि केही बिदेशी नागरिकहरुको भिड दैख्यौ । के को भिड रहेछ ? मनमा उत्सुकता जाग्यो र जोखिम मोल्दै भिड नजिक गयौं । त्यहाँ त होटलले भोकै रहेका विदेशी नागरिकहरुलाई खाना दिने व्यवस्था गरेको रहेछ । पैसा तिर्नेले तिर्ने नत्र सितैमा खाना लिएर जाने व्यवस्था रहेछ । नेपाल पर्यटन बोर्डको आग्रहमा नोर्थ फिल होटलले उक्त ब्यबस्था गरेको रहेछ ।

भनिन्छ नि, पाहुना भनेका देउता हुन र नेपाली संस्कृतीमा पाहुनलाई आदर सत्कार गर्ने परम्परा पहिले देखि नै रहेको छ । यहाँ नेपाल पर्यटन बोर्ड र नोर्थ फिल होटलको सह्रानीय कामको नमूना देखियो । त्यहाँ खाना लिएर पर्यटकहरु खुसी हुदै धन्यबाद दिदै आ–आफ्नो बाटो लागे । त्यपछि नजिकै रहेका केही रिक्सा चालकहरु तिर मेरो आखा पुग्यो । बिचरा ग्राहक नभएर न्यास्रो अनुहार लगाउँदै बसेका थिए ।

दिनभरी रिक्सा चलाएर परिवार पाल्ने उनीहरुको यो लक डाउनमा रोजीरोटी नै गुमेको रहेछ । नजिकै पुगेर बोलाएँ । रिक्सा चालकदाई न्यास्रो अनुहार बनाउदै मतर्फ हेरे । मेरो मनमा धेरै प्रश्नहरु खेलिरहेको थियो । ती दाईको मलिलो अनुहार देखें र उनको बारेमा सोधें । उनको परिवार त गाउमा रहेछन अनि त्यो दाइ एक्लै काठमाडौंमा रिक्सा चलाउने अनि गाउमा परिवार पाल्ने गरेका रहेछन् । अहिलेको लकडाउनले उनलाई गाह्रो नै परेको रैछ ।

त्यसपछि हामी बालुवाटारतिर लाग्यौ बाटोमा लैनचौरको बस स्टपमा एकजाना बृद्ध बुवा पोको बोकेर बस्नुभएको रहेछ । ती बुबालाई एक्लै बसेको देखेर सोध्यौ बुबा कता हिँड्नुभएको यो लकडाउन भएको बेलामा ? बुबाले भन्नुभयो ‘नारायणथान जान लागेको ।’

‘ए अनि कहाँबाट आउनुभएको ?’

‘थानकोटबाट आएको । बिहानै हिँडेको अहिले यहा आइपुगें अब बिस्तारै पुग्छु होला ।’

‘ल राम्रो संग जानुहोला’ भन्दै हामी बालुवाटार तिर लाग्यौ । खाली बाटोको सदुपयोग गर्दै सरकारले एउटा राम्रो काम गरिरहेको रहेछ । बालुवाटारको बाटोमा ट्राफिक संकेतहरु बनाइँदै रहेछ । हुनत काठमाडौमा खाल्टाखुल्टी परेका सडकहरु यही बेला मर्मत हुन पाए । सडकहरुमा यही बेला लेनहरु बनाउन पाइयो । यसो गरेपछि अरु बेला जाम नहुने र सर्बसाधारणले दुख नपाउने अवस्था बन्ने आशा पनि जाग्यो । जे भए पनि राम्रो काम भन्दै भक्तजनहरुको घुइँचो लाग्ने पशुपतिनाथको मन्दिरतिर लाग्यौं ।

त्यहाँ पुग्दा मन्दिरका सबै ढोकाहरुमा ताल्चा लगाइएको रहेछ त्यसपछि आर्यघाट पट्टि गयौं त्यहाँ त सुनसान माहोलमा लास जलाउन तयार गरिँदै रहेछ । यो सुनसान अबस्थामा यो मनले त्यो दृश्य हेर्न मानेन र हामी र्फक्यौं । बाटोमा फर्कदा मन्दिर परिसर भित्रै सामाजिक संस्थाले त्यहा रहेका केही ब्यक्तिहरुलाई खाना बाँड्दै गरेको दृश्य पनि देखियो

गौशाला पुरानो बानेश्वरको बाटो हुँदै कार्यालयतर्फ फर्किंदै गर्दा गौशाला बत्तिसपुतली सडक खण्डमा काठमाडौं महानगरपालिकाको सहकार्यमा बाटोमा कोरोनाको जोखिमलाई न्यूनिकरण गर्न औषधी छर्दै गरेको देखियो । सरकार राम्रो काम भन्दै सरकारलाई धन्यबाद दिदै अफिस तिर लाग्यौं ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *