४८ घण्टामै कोरोनाभाइरस निको पार्ने औषधीको खोज गरेको अस्ट्रेलियाकी वैज्ञानिकको दावी

डिसी नेपाल
२४ चैत २०७६ १४:५७

काठमाडौं। अहिले कोरोनाभाइरस विश्वभरी महामारीको रुपमा फैलिइरहेको छ । पूरै विश्वका वैज्ञानिकहरु यसको औषधीको खोजीमा जुटिरहेका छन् । अहिलेसम्म यो भाइरसको औषधी बनिसकेको छैन । तर, अस्ट्रेलियाकी एक वैज्ञानिकले यो भाइरसको संक्रमण निको पार्नको लागि आफूले अत्यन्तै प्रभावकारी औषधीको आविष्कार गरेको दावी गरेकी छिन् ।

यी वैज्ञानिकले आफ्नो एक अनुसन्धानपछि टाउकोमा पर्ने जुम्रा मार्न प्रयोग गरिने औषधीमा प्रयोग हुने रसायनबाट कोरोनाभाइरस मार्न सकिने बताएकी छिन् । अस्ट्रेलियाको मोनाश विश्वविद्यालयको बायोमेडिसिन डिस्कभरी इन्स्टिच्युटकी वैज्ञानिक डा. काइली वागस्टफले जुम्रा मार्न प्रयोग हुने औषधीको रसायनबाट बन्ने औषधीले केवल ४८ घण्टामै कोरोनाभाइरस मार्न सकिने बताएकी हुन् । उनको यो खोजलाई विश्वविद्यालयले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।

डा. वागस्टफका अनुसार जुम्रा मार्न प्रयोग हुने यो औषधीमा इभरमेक्टिन नामको रसायन प्रयोग हुन्छ । अनुसन्धानपछि प्राप्त नतिजाको आधारमा उनले यो औषधीको एक डोजले नै कोरोनाभाइरसलाई मार्न सकिने दावी गरेकी छिन् । यतिमात्र होइन उनका अनुसार यो औषधी दिएको २४ घण्टाभित्रै बिरामीको शरीरमा भाइरस मर्ने क्रम सुरु हुन्छ ।

यो अनुसन्धानलाई त्यहाँको एन्टिभाइरल पत्रिकामा पनि प्रकाशित गरिएको छ । डा. वागस्टफले अहिलेसम्म यो महामारीको कुनै ठोस उपचार नभएकोले जबसम्म कोरोनाभाइरस रोक्ने भ्याक्सिन बन्दैन तबसम्म यो औषधीलाई प्रयोग गर्न सकिने बताएकी छिन् । उनका अनुसार एन्टि प्यारासाइटिक औषधी परजीविबाट हुने रोगलाई समाप्त गर्न सक्छन् । उनले यो परजीवि प्रतिरोधी औषधीको प्रयोग यसअघि एचआइभी, डेंगु, इन्फ्लुएन्जा र जीका भाइरसको उपचारमा पनि प्रभावकारी रुपमा गरिएको दावी गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *