कोरोना संक्रमणमुक्त भइसकेका बिरामीको पुनः परीक्षणको नतिजाले विश्वको चिन्ता बढायो

डिसी नेपाल
२५ चैत २०७६ १३:२८

काठमाडौं। कोरोनाभाइरसको संक्रमण भएका बिरामी उपचारपछि निको भइसकेको रिपोर्ट आए पनि उनीहरुको शरीरमा भाइरस लुकेर बसेको हुन सक्ने र त्यसले पछि पुनः संक्रमण बढाउन सक्ने सम्भावना देखिएको छ । दक्षिण कोरियामा पहिले कोरोनाभाइरस संक्रमित भएर उपचार गराएपछि निको भइसकेका भनिएका ५१ जनामा पुनः कोरोनाभाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएको छ । यो तथ्यले एक पटक संक्रमित भएर भाइरसलाई जितेका व्यक्तिहरुमा रोग प्रतिरोधी क्षमताको विकास भइसक्ने र उनीहरु पुनः संक्रमित नहुने सम्भावनालाई पनि शंकाको घेरामा पारिदिएको छ ।

यी ५१ जना दक्षिण कोरियाका हुन् । दक्षिण कोरियाले देशमा संक्रमण सुरु भएसँगै ठूलो मात्रामा परीक्षण गरेको थियो । यसका कारण यहाँ धेरै हदसम्म भाइरस नियन्त्रण भएको थियो । तर, ५१ जना निको भइसकेका बिरामीहरु पुनः पोजेटिभ देखिएपछि यसले दक्षिण कोरियाको मात्र नभइ पूरै विश्वको चिन्ता बढाएको छ । डेलीमेलको रिपोर्ट अनुसार संक्रमणमुक्त भइसकेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएका यी सबै ५१ जनालाई दक्षिण अफ्रिकाको डेगुमा क्वारेन्टाइनमा राखिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई छोडिएको थियो । तर, केही दिनपछि नै उनीहरु पुनः पोजेटिभ पाइए ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले मानिसको शरीरमा भाइरस कुनै यस्तो ठाउँमा लुक्ने जसको पत्ता लगाउन कठिन हुने मानेका छन् । दक्षिण कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि यी संक्रमितहरु बाहिरबाट फेरि संक्रमित भएको नभइ उनीहरुभित्रै भएको भाइरस पुनः सक्रिय भएको जस्तो देखिएको बताएको छ । यद्यपि बेलायती विज्ञले भने अहिलेसम्म बिरामीको शरीरभित्रै भाइरस दोस्रो पटक सक्रिय हुन सक्ने कुनै प्रमाण नभेटिएको बताएका छन् ।

बेलायतको इष्ट एंगलिया युनिभर्सिटीका प्राध्यापक पल हंटरले भने ‘म मान्छु कि यी बिरामी दोस्रो पटक संक्रमित भएका थिएनन् होला । तर, म यो पनि सोचिरहेको छैन कि भाइरस दोस्रो पटक सक्रिय भयो । मलाई लाग्छ पहिले उनीहरुको रिपोर्टमा गल्तीवश नेगेटिभ रिजल्ट आएको थियो होला ।’ प्रोफेसर हंटरका अनुसार परम्परागत रुपमा कोरोनाभाइरसका जो टेस्ट गरिन्छन् त्यसमा २० देखि ३० प्रतिशत गलत परिणाम आउने सम्भावना हुन्छ । हंटरले क्वारेन्टाइनबाट छाड्ने बेला बिरामीको रिपोर्ट गल्तीवश नेगेटिभ आएको हुन सक्ने र त्यतिबेला पनि उनीहरु संक्रमित भएको हुन सक्ने आशंका जाहेर गरे ।

कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका महानिर्देशक इउन किओंगले यी केसको जाँचको लागि एक टिम पठाइएको बताए । यसअघि जापानका विशेषज्ञले पनि बिरामी दोस्रो पटक संक्रमित हुन सक्ने विषयमा चिन्ता जनाएका थिए किनकि त्यहाँ पनि एक महिला र एक पुरुष दोस्रो पटक पोजेटिभ भेटिएका थिए । लिड्स विश्वविद्यालयमा भाइरोलोजीका प्राध्यापक मार्क ह्यारिसले बिरामीहरु दोस्रो पटक पोजेटिभ भेटिनु चिन्ताजनक भएको बताएका छन् । उनले भने ‘यसको सम्भावना कम छ कि उनीहरु दोस्रो पटक संक्रमित भएका हुन सक्छन् किनकि पहिलो पटकमा उनीहरु रोग प्रतिरोधी क्षमता विकास गरिसक्छन् । उनले पनि उनीहरुको रिपोर्ट नेगेटिभ आउँदा उनीहरु पूर्ण रुपमा संक्रमणमुक्त नभएको हुन सक्ने आशंका व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *