घरबेटीले ८० फ्ल्याटको भाडा माफ गरिदिए, २ करोड ७० लाख उठ्थ्यो महिनाको भाडा

डिसी नेपाल
२६ चैत २०७६ १६:०४

काठमाडौं। एक घरबेटीले कोरोनाभाइरसको महामारीका कारण भाडा तिर्न नसक्ने स्थिति आएपछि करिब २ सय जनाको अप्रिल महिनाको घरभाडा माफ गरिदिएका छन् । अमेरिकाको न्यूयोर्क शहरस्थित विलियम्सबर्ग नेबरहुडमा ८० वटा फ्ल्याटका मालिक मारियो सालेर्नोले आफ्नो घरमा बस्ने सबैको भाडा माफ गरिदिएका हुन् ।

यहाँको औसत २ बेडरुम फ्ल्याटको महिनाको भाडा करिब २ हजार ८ सय डलर पर्छ । मारियोले सबै फ्ल्याटको गरी करिब २ लाख २४ हजार डलर (२ करोड ७० लाख नेपाली रुपैयाँ) भाडा माफ गरिदिएका छन् । उनले कोरोनाभाइरसको जारी महामारीका बीच आफ्ना फ्ल्याट भाडामा लिएर बस्नेहरुलाई आफूले तनाव दिन नचाहेको बताउँदै घरमा एउटा सूचना टाँसेर सबैलाई अप्रिल महिनाको भाडा तिर्नु नपर्ने जानकारी दिएको न्यूयोर्क टाइम्सले लेखेको छ

अमेरिकामा न्यूयोर्क कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित शहर हो । यहाँ ठूलो संख्यामा मानिसहरुको भाइरसका कारण ज्यान जानुका साथै ठूलो संख्यामा मानिसहरु बेरोजगार समेत भएका छन् । न्यूयोर्क अमेरिकाका अन्य ठूला शहरको तुलनामा भाडामा बस्नेको संख्या धेरै भएको शहर पनि हो । यहाँ लाखौंको संख्यामा मानिसहरु भाडामा बस्छन् ।

मारियोले भाडा माफ गर्नुको साथै सबैलाइ सुरक्षित रहन पनि सुझाव दिएका छन् । उनले आफ्नो अपार्टमेन्टमा भाडामा बस्नेहरुलाई छिमेकीको समेत ख्याल राख्न आग्रह गरेका छन् । मारियोले अप्रिलको भाडा नलिँदा आफूलाई कति घाटा लाग्छ भन्ने कुराको पर्वाह नभएको बताउँदै आफूले केवल आफ्नो अपार्टमेन्टमा भाडामा बस्नेहरुलाई तनाव नहोस् भन्ने चाहेको बताएका छन् । ५९ वर्षका मारियोले भाडामा बस्नेहरुलाई भनेका छन् ‘आफू सुरक्षित रहनुस्, छिमेकीको ख्याल गर्नुस् र यो सुनिश्चित गर्नुस् कि सबैको टेबलमा खाना होस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *