कोरोनाभाइरसको नियन्त्रणमा कोसेढुंगा, दक्षिण कोरियाली वैज्ञानिकले ‘जीनोम म्याप’ बनाए

डिसी नेपाल
२९ चैत २०७६ ११:३२

काठमाडौं। दक्षिण कोरियाली वैज्ञानिकहरुले कोरोनाभाइरसको राइबोन्यूक्लिक एसिड (आरएनए) जीनोमको नक्सा तयार पारेका छन् । आरएनए जीनोममा भाइरको आनुवंशिक सूचनाहरु राखिएका हुन्छन् जसबाट यो भाइरसको प्रकृतिबारे राम्रोसँग बुझ्न, यसको थप प्रभावकारी अध्ययन गर्न र यसको भ्याक्सिन विकसित गर्न ठूलो सहयोग पुग्नेछ । यसले यो भाइरसको प्रकृति, संरचना, चरित्र र जीवनचक्रबारे धेरै जानकारीहरु दिन सक्छ जसबाट यसको भ्याक्सिन र औषधी विकास गर्नको लागि पनि ठूलो सहयोग पुग्नेछ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार राजधानी सिओलमा रहेको इन्ष्टिच्युट फर बेसिक साइन्स अन्तर्गतको सेन्टर फर आरएनए रिसर्चका वैज्ञानिकहरुले ‘हाइ रिज्योलुसन आरएनए म्याप’ विकसित गरेका हुन् । वैज्ञानिकहरु भी नेरी किम र चाङ ह्येशीको नेतृत्वको यो टिमले कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (केसीडीसी)सँगको सहकार्यमा यो म्याप विकसित गरेका हुन् । केसीडीसीले अहिले कोरियामा ठूलो संख्यामा भइरहेको परीक्षणको नेतृत्व गरिरहेको छ ।

‘हाम्रो कामले सार्स सिओभी–२ को हाइ रिज्योलुशन म्याप उपलब्ध गराउनेछ’ किमले इन्ष्टिच्युटले जारी गरेको वक्तव्यमा भनेकी छिन् ‘यो म्यापले भाइरले मानव शरीरमा कसरी प्रतिक्रिया दिन्छ र कसरी मानिसको रोग प्रतिरोधी क्षमताबाट कसरी बच्छ भन्ने बुझ्न सघाउनेछ ।’ किम दक्षिण कोरियाका सबैभन्दा प्रमुख शोधकर्तामध्येकी एक हुन् । नेचर म्यागजिनका अनुसार ३९ वर्षको उमेरमा सन् २००९ मा उनी चिकित्साशास्त्रमा हो–आम पुरस्कार जित्ने सबैभन्दा कान्छी वैज्ञानिक बनेकी थिइन् । यो पुरस्कारलाई दक्षिण कोरियामा नोबेल पुरस्कार सरह मानिन्छ ।

उनी युवा वैज्ञानिकहरुका लागि रोल मोडल पनि हुन् । खासगरी महिलाका लागि, किनकि दक्षिण कोरियाको वैज्ञानिक क्षेत्रमा केवल १९ प्रतिशत मात्र महिलाको प्रतिनिधित्व छ । सिओल नेशनल युनिभर्सिटी चिल्ड्रेन्स हस्पिटलका प्रोफेसर ली होआनजोङले यो अनुसन्धानले भाइरसले कस्ता किसिमका प्रोटिनहरु बनाउँछ भन्ने पूर्वानुमान गर्न सहयोग मिल्ने र यसले भ्याक्सिन बनाउन सहज हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *