कोरोनाभाइरसः अक्सफोर्ड विश्वविद्यालयले गर्‍यो विश्वमै सबैभन्दा आशालाग्दो प्रक्षेपण

डिसी नेपाल
२९ चैत २०७६ १२:२२

काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिन आगामी सेप्टेम्बरसम्म उपलब्ध हुन सक्ने बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले बताएका छन् । बेलायतको सबैभन्दा उन्नत अनुसन्धानको नेतृत्व गरिरहेकी अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साराह गिल्बर्टले आफू यो भ्याक्सिनका विषयमा ८० प्रतिशत निश्चित रहेको बताइन् । गत महिना उनी यो भ्याक्सिन २०२० को अन्त्यसम्म तयार हुनेमा आशावादी थिइन् । तर, गएराती उनले सबैभन्दा आशालाग्दो सिनारियो पेश गरेकी हुन् । यो औषधीको मानवमा परीक्षण २ हप्तापछि सुरु हुँदैछ ।

यो भ्याक्सिन विकासको लागि बेलायत सरकारले लगानी गर्ने संकेत गरिसकेको छ । उसले यो भ्याक्सिन सुरुवातमै आशालाग्दो देखिएको भन्दै छिटोभन्दा छिटो आम जनतासम्म पुगोस् भन्नका लागि यसको उत्पादनमा अनुदान दिने बताएको थियो । यसअघि भ्याक्सिन तयार हुन १८ महिनासम्म लाग्ने बताइएको थियो तर प्रोफेसर गिल्बर्टले भने यो भ्याक्सिनको परीक्षणमा सबै कुरा अपेक्षाकृत भएमा सेप्टेम्बरसम्म भ्याक्सिन बजारमा पठाउन सकिने बताइन् ।

उनले द टाइम्ससँग भनिन् ‘हामीले यसअघि विकसित गरेका यस किसिमका भ्याक्सिनहरुको विकासमा प्राप्त सफलताका आधारमा यले सफलतापूर्वक काम गर्ने सम्भावना अत्यन्तै उच्च छ । यो कोरा कल्पना मात्र होइन र हप्ताहरु बित्दै जाँदा हामीले धेरैभन्दा धेरै जानकारीहरु पाइरहेका छौं । म यसको सफलता ८० प्रतिशत भएको दावी गर्छु । यो मेरो व्यक्तिगत धारणा हो ।’ उनको टिमले यो भाइरसको परीक्षण भाइरस फैलिने दर अत्यन्तै उच्च भएको क्षेत्रमा गर्न चाहन्छ ताकि यसको नतिजा चाँडै प्राप्त होस् ।

बेलायतको लकडाउनले यो भाइरसको परीक्षणलाई कठिन बनाउने उनले बताइन किनकि यस्तो अवस्थामा भाइरस फैलिन पाउँदैन । उनको टिमले भ्याक्सिन उत्पादनमा कुनै पनि ढिलाइ नहोस् भन्नका लागि पहिलेदेखि नै सरकारसँग कुरा गरिरहेको छ । ‘हामीले आफूसँग राम्रो भ्याक्सिन हुँदाहुँदै पनि परक्षिणमा ढिलाइ गरेर पछि पछुताउनु नपरोस् भन्ने चाहन्छौं’ उनले भनिन् । मन्त्रीहरुले पनि लकडाउनका कारण हुने ठूलो आर्थिक नोक्सानीबाट बच्न प्रभावकारी भ्याक्सिनको लागि ठूलो लगानी गर्नु उचित हुने संकेत गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *