आइसोलेसनमा बसेकी २५ वर्षकी युवती डाक्टरबाटै बलात्कृत, अत्याधिक रगत बग्दा मृत्यु

डिसी नेपाल
३० चैत २०७६ ८:४६

काठमाडौं। कोरोनाभाइरसको संक्रमण भएको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी एक आप्रवासी युवतीलाई स्वास्थ्यकर्मीले नै लगातार २ दिनसम्म बलात्कार गरेपछि ती युवतीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । ती युवतीलाइ भारतको बिहार राज्यको गयामा अस्पतालमा भर्ना गरिएको थियो । उनी पंजाबको लुधियानाबाट फर्किएकी थिइन् । घटना केही दिन पहिलेको हो र पीडितकी आमा पुलिसमा न्याय माग्न पुगेपछि मात्र घटना प्रकाशमा आएको हो ।

ती युवतीलाई गयास्थित अनुग्रह नारायण मेगध मेडिकल कलेज तथा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनका परिवारले एक स्वास्थ्यकर्मीमाथि बलात्कार र हत्याको आरोप लगाएका छन् । उनले अस्पतालबाट डिस्चार्ज भएपछि अत्याधिक रक्तश्रावका कारण घरमै ज्यान गुमाएकी थिइन् ।

‘ती २५ वर्षकी पीडित पंजाबको लुधियानाबाट बिहारको गया जिल्लामा आफ्ना श्रीमानको साथमा मार्च २५ मा फर्किएकी थिइन् । घर फर्किनुभन्दा अगाडि उनले लुधियानामै गर्भपतन गराएकी थिइन् जतिबेला उनको पेटमा केवल २ महिनाको गर्भ थियो’ डेक्कन हेराल्डको एक रिपोर्टमा उल्लेख छ ।

गया पुगेपछि उनलाई धेरै रक्तस्रावको समस्या भएको थियो । उनका श्रीमानले उनलाई २७ मार्चमा अनुग्रह नारायण मेगध मेडिकल कलेजमा मार्च २७ मा भर्ना गरेका थिए । त्यहाँ उनलाई आकस्मिक वार्डमाभर्ना गरिएको थियो । डाक्टरले उनी कोरोनाभाइरस संक्रमित भएको हुन सक्ने आशंका गरेपछि उनलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । परिवारका अनुसार उनको उपचारमा खटिएका डाक्टरले नै लगातार २ रातसम्म (अप्रिल २ र ३) उनलाई बलात्कार गरेका थिए ।

‘त्यसको भोलिपल्ट उनलाई अस्पतालबाट डिस्चार्ज गरियो । उनको कोरोनाभाइरस परीक्षण रिपोर्ट पनि नेगेटिभ आयो । उनी घर फर्किएपछि पनि डराइरहेकी थिइन् । उनलाई सोध्दा उनले डाक्टरले आफूलाई आइसोलेसन वार्डमै बलात्कार गरेको बताइन्’ उनकी सासुले डेक्कन हेराल्डसँग भनिन् । पीडित महिलाको ६ अप्रिलमा मृत्यु भयो ।

पुलिसले पीडितकी सासुलाई अस्पतालमा आएर पीडकको पहिचान गर्न भनेको छ । पीडकको अहिलेसम्म पहिचान नभइसकेकोले अज्ञात पीडकको विरुद्ध मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ । अस्पतालमा सुपेरिटेन्डेन्ट डा. भीके प्रसादले प्रथम दृष्टिमा यो जघन्य अवराध भएको बताए । उनले अस्पतालमा सीसीटिभी फुटेज जाँच गरिने र पीडकमाथि कडा कारवाही हुने बताएका छन् । राष्ट्रिय महिला आयोगले पनि घटनाबारे संज्ञान लिएको र न्यायको लागि काम सुरु गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *