सांसद ‘अपहरण’ प्रकरणः सत्ता संरक्षित राजनीतिक अपराधिकरण

डिसी नेपाल
१२ वैशाख २०७७ १४:०७

काठमाडौं । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई काठमाडौ ल्याउन पूर्व प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल, नेकपाका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठ सहभागी भएपछि त्यसबारेमा क्रिया प्रतिक्रिया उत्पन्न भएको छ।

सामाजिक सन्जालमा पूर्व आइजीपी खनालको विषयमा क्रिया प्रतिक्रिया उत्पन्न भएपनि पूर्व प्रहरी अधिकारीहरुले भने औपचारिक रुपमा यसबारे कुनै टिप्पणी गरेका छैनन्।  राजनीतिक रुपमा यसलाई अपराधिकरणको संज्ञा दिइएको छ।

सत्तारुढ दलको सांसदद्धय बस्नेत र श्रेष्ठसहित पूर्व आइजीपी खनाल सांसद यादवको घर पुगेर काठमाडौं ल्याउनु र ल्याउने आउने दुवैले स्वीकार गरेको अवस्थामा यसलाई राजनीतिभित्रको फोहोरी खेलमा मात्र भनिएको छैन राजनीतिकभित्रको अपराधिकरण पनि भनिएको छ । अझ सत्ता संरक्षित अपराधिकरणको संज्ञा दिइएको छ ।

सत्ता राजनीतिमा लागेका नेताहरुसँगै उनी पनि सांसद लिन जानुपर्ने आवश्यकता थिएन । जानकारहरुका अनुसार अरुको भन्दा सर्वेन्द्र खनालको फोन चाडे रिसिभ गर्ने सांसद यादवलाई ल्याउन सत्ताले खनाललाई प्रयोग गरेको स्पष्ट छ ।

तर उनी प्रयोग हुनुहुन्थ्यो कि थिएन वा उनी भर्खरै अवकाश प्राप्त व्यक्ति भएकाले यो तहसम्मको हर्कतमा सहभागी हुनुहुन्थ्यो थिएन भन्ने व्यापक प्रश्न उठेपनि स्वंय खनालले भने टालटुले जवाफ दिएर टारेका छन्।

सांसद यादवले काठमाडौ आउन इच्छा गरेकाले लकडाउनका बेला काठमाडौ ल्याउन सहयोग मात्रै गरेको बताएका छन्। तर उनले त्यसवापत के पाउन त्यस्तो कार्यमा संलग्न भए भन्ने कतै खुलेको छैन। जानकारहरुका अनुसार सांसद अपहरण गरेको आरोपमा एकाएक पूर्व प्रहरी आइजीपी खनाल मुछिए, उनले आफू जनकपुर गएर सांसद यादवलाई ल्याएको स्वीकार गरे ।

दुई महिनाअघि मात्रै अवकाश पाएका खनाल आफैं जनकपुर पुगेर सांसद डा. सुरेन्द्र यादवको अपरणमा नेकपाका सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठसँगै उनी मुछिएपछि उनलाई के बाध्यता आइलाग्यो भनेर प्रश्न उठेको छ।

सर्वेन्द्र खनालको डा. यादवसँग पुरानै चिनजान भएका कारण महेश बस्नेत र किसान श्रेष्ठले उनलाई प्रयोग गरेका थिए। बालुवाटरले महेश बस्नेतलाई निर्देशन दिएपछि उनले स्रोत साधन सम्पन्न मित्रको किसान श्रेष्ठलाई प्रयोग गरे र किसानले आफ्ना पूराना मित्र सर्वेन्द्रलाई प्रयोग गरे । उनी भर्खरै अवकाश पाएका व्यक्ति भएकाले कुनै न कुनै राजनीतिक र संवैधानिक नियुक्तिका लागि लालयित थिए। त्यही भएर बस्नेत र श्रेष्ठले जे भने पनि उनी मान्न तयार भए।

सर्वेन्द्रको पुरानो चिनजानले डा.यादवसम्म पुग्न र काठमाडौं ल्याउन सहज भयो । तर पूर्व आइजी जस्तो व्यक्ति पूर्वमन्त्रीलाई राजनीतिक विषयमा सरकारलाई प्रभाव पार्ने हिसावले उनी जनकपुर पुगे । रिटायर्ड भएपछि उनले कुनै उपयुक्त नियुक्तिको लागि ‘कनेक्सन’ मिलाउन खोजिरहेका थिए ।

त्यसका लागि उनका पुराना मित्र किसान नेकपा र सरकारमा चाँजो मिलाउने व्यक्तिको साथ लागे । स्रोतका अनुसार सर्वेन्द्र राजदूत वा अख्तियारमा आयुक्त हुन चाहन्थे। यही महत्वकांक्षाले उनलाई डा. यादवको घरसम्म पुर्याएको थियो। आफ्ना विरोधिहरुलाई ठिक लगाउन पनि उनले संबैधानिक नियुक्ति खाने चाहना व्यक्त गर्दै आएका थिए।

काठमाडौं ल्याउँदा बाटोबाट बस्नेतले यादवको प्रधानमन्त्री केपी ओलीसँग कुरा गराएका थिए । होटलमा समाजवादीका अन्य सांसदहरु थिए । बिहीबार विहान व्याम गर्छु भन्दै कोठाबाट अरुको आँखा छल्दै यादव बाहिरिन सफल भएका थिए। होटल मेरिटबाट बाहिरिएका उनलाई समाजवादीका नेताहरुले त्यहाँबाट लगेका थिए।

बुधबार साँझ एकाएक सामाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव ‘अपहरण’ मा परेको खबर बाहिरियो। पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले प्रधानमन्त्रीको ठाडो आदेशमा डा. यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन लागेको समाजिक सञ्जालमा लेखेका थिए। बुधबार दिउँसो खनाल आफैले सञ्चारमाध्यमसँग आफू जनकपुर गएको र यादवको घरमा खाना खाएको स्वीकार गरिसकेका छन्।

सरकारले संवैधानिक नियुक्तिका लागि बाटो खोलेपछि उनले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुन खोजिरहेका थिए। ‘म केही समयपछि अख्तियारमा जाँदैछु’, उनले आफू निकटका पूर्व प्रहरीलाई पनि भनिसकेको स्रोतले बतायो।

उनले शक्तिकेन्द्र रिझाउन गरिएको यसप्रकारको हर्कतको सर्वत्र आलोचना गरिएको छ । उनको बारेमा पूर्व प्रहरी त्यतिधेरै टिप्पणी गर्न चाहँदैनन्। उनको असली रुप यही भएको हाल आएर प्रकट भएको मात्रै भनेका छन् ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल प्रहरीमा राजनीतिककरण हुने गरेको कुरालाई यो घटनाले प्रमाणित गरेको बताउँछन्। ‘यसअघि प्रहरीमा राजनीतिकरण हुने गरेको चर्चा हुन्थ्यो, अहिलेको यो घटनाले त्यो कुरालाई प्रमाणित गरेको छ,’ पूर्व डीआइजी हेमन्त मल्लले डिसी नेपालसँग भने, ‘राजनीतिमा एउटा गुट बलियो बनाउने खेलमा पूर्व प्रहरी अधिकृतको संलग्नता हुनु विवादस्पद विषय हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *