किम जोंग उनबारे रहस्य झनै गहिरियो, अमेरिका र चीनको ठिक विपरित गतिविधि

डिसी नेपाल
१३ वैशाख २०७७ ११:२९

काठमाडौं। उत्तर कोरियाका शासक किम जों उनको स्वास्थ्यको विषयमा जारी रहस्य झनै गहिरिँदै गएको छ । पछिल्लो समय अमेरिका र चीनका ठिक विपरित गतिविधिपछि यो रहस्य झनै गहिरिएको हो । केही दिन अघि अमेरिकी संचारमाध्यम सीएनएनले अमेरिकी गुप्तचर एजेन्सीको हवाला दिँदै किमको स्वासथ्य स्थिति अत्यन्तै गम्भीर भएको रिपोर्ट सार्वजनिक गरेको थियो ।

सीएनएनको रिपोर्टपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको शीघ्र स्वासथ्यलाभको कामना गरेका थिए । तर, एक दिन अघिमात्र ट्रम्पको बोली फेरियो । उनले सीएनएनको रिपोर्ट नै झुटो भएको र किम जोंग उनको स्वास्थ्य स्थिति नाजुक भएको कुरासमेत झुटो भएको बताए । ट्रम्पले यसो भनेको भोलिपल्टै चीनले उत्तर कोरियामा आफ्नो चिकित्सक टिम पठाएपछि यो रहस्य झनै गहिरिएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार किम बिरामी भएको खबरकै बीचमा चीनले आफ्नो मेडिकल टिम उत्तरु कोरिया पठाएको छ । आफ्ना सूत्रको हवाला दिँदै रोयटर्सले प्रकाशित गरेको रिपोर्टमा चीनको कम्युनिष्ट पार्टीको इन्टरनेशनल लायजन डिपार्टमेन्टका एक बरिष्ठ नेताको नेतृत्वमा बेइजिङबाट उत्तर कोरियाको लागि टिम गइसकेको छ । यद्यपि किमको स्वास्थ्यबारे विस्तृत जानकारी अझैसम्म बाहिरिएको छैन ।

चीनको विदेश मन्त्रालयले भने यस विषयमा कुनै जानकारी दिएको छैन । यसअघि दक्षिण कोरियाको सियोलस्थित मिडिया डेलीएनकेले किम गम्भीर रुपमा अस्वस्थ भएको रिपोर्ट दिएको थियो । डेलीएनकेका अनुसार किमलाई कार्डियोभास्कुलर सम्बन्धी समस्या थियो । दक्षिण कोरियाका केही मिडियाले त किम कोमामा भएको वा उनको ब्रेन डेड भइसकेको दावीसमेत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *